उहिले निर्यात, अहिले आयात

इन्जिना पन्थी / बुधबार, बैशाख ५, २०७५

केही वर्ष यता नेपालको चामल आयात बढिरहेको समाचार प्रकाशित भइरहेका छन् । तर कुनै वेला नेपालको धान चामल निर्यात गर्थ्यो।

नेपालमा संस्थागत रुपमा धानचामल निर्यात कार्य २०३१ सालमा सुरु भएको थियो । सरकारले नेपालको धानचामल निर्यात गर्न सुरुमा सात वटा कम्पनी स्थापना गरेको थियो । ती कम्पनी यस प्रकार थिएः मेची धानचामल निर्यात कम्पनी लिमिटेड, कोशी अंचल धानचामल निर्यात कम्पनी लिमिटेड, सगरमाथा धानचामल निर्यात कम्पनी, जनकपुर अंचल धानचामल कम्पनी, नारायणी अंचल धानचामल निर्यात कम्पनी लिमिटेड, लुम्बिनी अंचल धानचामल निर्यात कम्पनी लिमिटेड, सुदूर पश्चिमाञ्चल धानचामल निर्यात कम्पनी लिमिटेड थिए । पछि २०३२ साल भाद्रमा सेती महाकाली धानचामल निर्यात कम्पनी स्थापना भएको थियो ।

धानचामल निर्यात कम्पनीमा व्यापारी तथा मिलवाला, उत्पादक र किसानको ४९ प्रतिशत सेयर र  सरकार र सहकारीको ५१ प्रतिशत सेयर रहने प्रावधान थियो ।

त्यसबेला गोरखापत्रमा प्रकाशित लेख र समाचारमा राष्ट्रिय निर्यातमा ६५ प्रतिशत कृषि क्षेत्रको योगदान रहेको उल्लेख थियो । कृषि क्षेत्रमध्ये पनि धानचामलको योगदान सबैभन्दा बढि रहेकाले धान चामल संस्थागत ढंगले निर्यात गर्न आवश्यक भएको औंल्याइएको थियो ।

नेपालको कुल निकासीमा चामलको मात्र देन ४० प्रतिशत थियो (नेपालको चामल निकासी व्यापार, रमेश मुनकर्मी, गोरखापत्र दैनिक, २०३१ मङसिर ३० गते) । सो लेखमा लेखकले, नेपालको आयत र निर्यातमा सन्तुलन ल्याउनका लागि नेपालबाट निर्यात हुने चामलको अन्तर्राष्ट्रिय बजारको खोजी गर्नुपर्ने कुरा पनि उल्लेख थियो ।

धानचामल कम्पनी स्थापना भएको एक वर्षपछि २०३२ साल भाद्र ७ गते सम्म ती कम्पनीले गरेका कामको विवरण यसप्रकार छन् । नेपालको धान चामल कम्पनीले चामल प्राय भारत निर्यात गर्थ्यो  ।

 कम्पनी चामल  किन्ने लक्ष्य(मेट्रिक टन)  खरिद भएको(मेट्रिक टन)  निर्यात गर्ने लक्ष्य(मेट्रिक टन)  निर्यातको संझौता भएको(मेट्रिक टन)  निर्यात भएको(मेट्रिक टन)
कोशी धानचामल कम्पनी १८,७५० २७२१४ १५००० २०,२७७ १७,३०० (खुद निर्यात भएको)
मेची  धानचामल कम्पनी २५,००० २९,८६५ १९,५३१ ९,०००
सगरमाथा धानचामल कम्पनी १५,००० २३,६०० १२,००० ८,५०० ५,०००
जनकपुर धानचामल कम्पनी १५,००० १०,२७१ १२,००० ४७२० ३५००
नारायणी धानचामल कम्पनी १८,७५० १३,५०० १५,००० १००,७० ८,०००
लुम्बिनी धानचामल कम्पनी १७,५०० १४,५०४ १४,००० ९१४७ ७२९६
सुदूर पश्चिमाञ्चल धानचामल कम्पनी १५,००० ६८६१ १२,००० ५१९४
यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री