कालिमाटीमा परीक्षणः तरकारीमा विषादी घट्दो

इन्जिना पन्थी / बुधबार, आषाढ २०, २०७५

कालिमाटी तरकारी बजार ।                                            तस्विर:इन्जिना पन्थी

कृषिमा व्यवसायीकरणसँगै विषादीको प्रयोग बढ्दै गएको छ। बोटविरुवा, बालीनाली पशुपंक्षीमा लाग्ने रोग, ढुसी र किरा नियन्त्रण गर्न प्रयोग गरिने विषादीले मानव स्वास्थ्यमा असर गरेको छ । नेपालमा हाल १३९ प्रकारका वैज्ञानिक नामका र २,५७६ व्यापारिक नामका विषादी दर्ता गरिएका छन्। १६ वटा विषादी नेपालमा प्रतिबन्धित छन् । “संचारमाध्यममा आएकोजस्तो भयावह रुपमा विषादी बढेको छैन, [विषादी आयात] वार्षिक ७–८ प्रतिशतले बढेको छ,” पेस्टिसाइड्स रजिष्ट्रार वेदप्रसाद चौलागाईले साउथ एसिया चेकलाई बताए।

अन्य देशका तुलनामा नेपालमा कम विषादी प्रयोग हुने कुरा सरकारी अधिकारीहरुले बताउने गरेका छन् । “तथ्याङ्क हेर्ने हो भने नेपालमा प्रति हेक्टर ३९६ ग्राम विषादी प्रयोग भएको पाइन्छ । तर व्यवसायिक तरकारी खेती हुने क्षेत्र सर्लाही, काभ्रेपलाञ्चोक, पालुङ , टिस्टुङ, धादिङजस्ता पकेट क्षेत्रमा विषादी प्रयोग १६०० ग्राम प्रति हेक्टर छ जुन विकसित मुलुकका तुलनामा कम हो,” पेस्टिसाइड्स रजिष्ट्रार  चौलागाईले भने ।

विषादीले बालीको रोग र किरा मर्ने भए तापनि त्यसको अवशेषले भने मानव स्वास्थ्यलाई पनि असर पार्छ । विषादीले गर्दा शरीर झम्झमाउने, बान्ता हुने, पसिना आउने, चिलाउने, टाउको दुख्ने, आँखा पोल्ने हुन्छ। दीर्घकालमा भने पक्षाघात, मष्तिष्क घात, स्नायु प्रक्रियामा असर, बाँझोपन, क्यान्सरजस्ता रोग लाग्न सक्छन् ।

अन्तर्राष्ट्रिय स्तरमा गरिएका अनुसन्धानले के देखाएका छन् भने विषादीको धेरै प्रयोगले क्यान्सर तथा अन्य दीर्घकालिन रोग लगाउन सक्छन् । नेपालमा भने यस विषयमा उल्लेख्य अनुसन्धान भएको छैन् ।

विषादी घटाउन गरिएका काम

नेपाल सरकारले विषादीको प्रयोग घटाउन विभिन्न कार्यक्रम गरिराखेको छ ।

१.एकीकृत शत्रुजीव व्यवस्थापन कार्यक्रम (आईपीएम)

एकीकृत शत्रुजीव व्यवस्थापन कार्यक्रम २०५४\५५ सालदेखि विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायसँग मिलेर सञ्चालित छ । यस कार्यक्रम अन्तर्गत रासायनिक विषादीको प्रयोग घटाउने काम गरिन्छ । पर्यावरणलाई नखल्बलाईकन, आर्थिक नोक्सान नबढाई बालीलाई नोक्सान पुर्‍याउने रोग, किरा, झारपात, चरा, मुसा आदि नियन्त्रण गर्न प्रोत्साहन गरिन्छ । उचित जातको बीउ छनोट, जमीनको तयारी, जैविक विषादी र वनस्पति विषादीमा जोड दिइन्छ । रासायनिक विषादीले मानव स्वास्थ्य र पर्यावरणमा पार्ने असरबारे जनचेतना जगाई रासायनिक मल घटाउने उद्देश्य यसले लिएको छ ।

२. विषादी परीक्षण

नेपालका सातमध्ये ६ वटा प्रदेशमा विषादी परीक्षण केन्द्र छन् । प्रदेश नं. १ मा झापाको विर्तामोडमा, प्रदेश नं. २ मा  सर्लाहीको नवलपुरमा, प्रदेश नं.३ मा काठमाडौंको कालिमाटीमा, प्रदेश नं. ४ मा कास्कीको पोखरामा, प्रदेश नं. ५ मा रुपन्देहीको बुटवल र बाँकेको नेपालगञ्जमा यस्ता केन्द्र छन् । प्रदेश नं. ६ मा विषादी परिक्षण केन्द्र छैन । प्रदेश नं. ७ मा कैलालीको अतरियामा यस्तो केन्द्र छ । विषादी परीक्षण केन्द्र कालिमाटीका प्रमुख अधिकृत मनबहादुर क्षेत्रीका अनुसार परीक्षण गर्नुको मुख्य उद्देश्य जनचेतना फैलाउनु र कृषक र व्यवसायीलाई चेतावनी दिनु हो ।

सामान्यतः यस्तो परीक्षण तीन प्रकारले गरिन्छः

पहिलो, नियमित निरिक्षण हो । कालीमाटी फलफूल तथा तरकारी बजार निरीक्षण केन्द्रले कालिमाटीमा रहेका थोक पसलमध्ये कुनै एउटाबाट नमूना ल्याएर परीक्षण गर्छ ।

शुरुशुरुमा दशवटा तरकारीको नमूना लिएकोमा अहिले परीक्षण रसायनको कमी र रसायन मंहगो पर्ने हुँदा ७ प्रकारका  तरकारीको नमुना लिने गरिएको छ । २५० ग्रामदेखि आधा किलोसम्म नमूना रुपमा लिइन्छ । तरकारीमा सीमाभन्दा धेरै विषादी पाइएमा जुन पसलबाट नमूना ल्याइएको हो, त्यस व्यापारीको तरकारी नष्ट गरिन्छ्। कहिलेकाहीँ तरकारी ट्रकमा अनुगमन गरिएपनि पूरै ट्रकको तरकारी नष्ट गरिन्न । एउटा ट्रकमा ल्याएका तरकारी धेरै किसानको बारीबाट ल्याइएका हुनाले र सबै किसानको तरकारी विषादीयुक्त नहुने हुनाले यसो गरिएको हो । त्यस्तो अवस्थामा धेरै नमूना लिइन्छ ।

दोस्रो,छड्के अनुगमन हो । थानकोट, बालाजु, जगाति, दक्षिणकालीजस्ता तरकारी छिर्ने नाकामा यस्तो परीक्षण हुनेगर्छ । तेस्रो, पकेट क्षेत्रका व्यावसायिक किसानकै खेतबारीमा पुगेर गरिने परीक्षण हो। यस्ता परीक्षण सामान्यतः नियमित प्रकृयाका रुपमा हुनेगर्छन् । तर कहिलेकाहीँ विभिन्न संस्था र गैरसरकारी संस्थाको अनुरोधमा पनि परीक्षण गरिन्छ ।

प्रमुख अधिकृत क्षेत्रीका अनुसार विषादी भएको अखाद्य तरकारी धेरै कम पाइएको  छ ।

परीक्षण गरिएका नमूना र अखाद्य तरकारी
वर्ष खान नहुने कूल नमूना
असार ५ देखि ३२ २०७१ २६ (१३.९%) १८७
आ.ब.२०७१\२०७२  १५ (०.९६) १५७०
आ.ब. २०७२\२०७३ १० (०.५२%) १९३६
आ.ब.२०७३\२०७४ २१ (१.०८%) १९३०
आ.ब.२०७४\२०७५ असार १५ सम्म ३ (०.१७%) १६९७
जम्मा ७५
(१.०२%)
७३२०
स्रोत:कालिमाटी विषादी परिक्षण केन्द्र

२०७१ असार ५ गते यस्तो परीक्षण थाल्दा असार महिनाभरीलिइएका १८७ नमूना मध्ये २६ ओटा खान नहुने थिए । आ.ब. २०७१/७२ मा १,५७० नमूना लिँदा १५ वटा खान नमिल्ने पाइए । त्यस्तै आ.व. २०७२/७३ मा लिइएका १९३६ नमूनामध्ये  १० वटा मात्र खान नमिल्ने पाइएका थिए । आ.व.२०७३/०७४ मा संकलित १९३० नमुनामध्ये २१ वटामा खान नहुने भेटिएका थिए ।

यस आर्थिक वर्षको असारसम्म ७३२० नमूना जाँच्दा ७५ वटा तरकारी अखाद्य भेटिएका थिए ।

यसरी परीक्षण गर्नुको उद्देश्य व्यापारी र उत्पादकलाई सचेत गराउने भएको,  दोषीलाई सजाय दिने र समस्या निर्मूल पार्ने काम कठिन भएको स्विकार्छन् प्रमुख अधिकृत क्षेत्री ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री