किन साम्प्रदायिक रूप लिएन मधेस आन्दोलनले ?

सुजित मैनाली / बिहीबार, फाल्गुण ६, २०७२

गत डिसेम्बरको मध्यतिर आन्दोलनकारी र प्रहरीबीच झडप भएपछि वीरगन्जको घण्टाघर चोक । (तस्वीरः सुजित मैनाली)

‘पहाडे र मधेसीका बीचमा साम्प्रदायिक हिंसा भड्किन सक्ने खतरा वास्तविक हो। संघर्ष राज्यका विरुद्ध भइरहेको छ कि पहाडेका विरुद्ध भन्ने कुरा मधेसी राजनीतिमा गज्याङमज्याङ भएको छ। सशस्त्र समूहहरूले पहाडे कर्मचारी र व्यापारीहरूलाई जानाजान तारो बनाएका छन्। पहाडेहरू असुरक्षित भएका छन्, केही बसाईँ सर्न लागेका छन्।’

पहिलो मधेस आन्दोलनलगत्तै इन्टसरनेसनल क्राइसिस ग्रुपले सार्वजनिक गरेको रिपोर्टमा यस्तो चिन्ता व्यक्त गरिएको थियो।

यसपटकको मधेस आन्दोलन पाँच महिनाभन्दा लामो भए पनि र आन्दोलनको प्रभाव तराईका गाउँ गाउँमा गहिरोसँग फैलिए पनि यसपालि साम्प्रदायिक हिंसा भएन। मधेसका जनतामा आएको परिपक्वता, आन्दोलनकारीलाई नेताहरूले दिएको सुझबुझपूर्ण प्रशिक्षण, आन्दोलनलाई साम्प्रदायिक रूप लिन नदिन स्थानीय प्रशासन र आन्दोलनका अगुवाबीच भएको निरन्तर संवाद, आन्दोलनको पक्षमा मधेसमा बसोबासरत पहाडी समुदायले जनाएको ऐक्यवद्धताआदिले गर्दा यसपालि अप्रिय अवस्था नआएको विश्वास गरिएको छ।

गत भदौको कैलाली घटनापछि मधेसी समुदायबहुल प्रदेश नम्बर २ मा आन्दोलन चर्कियो। आन्दोलन चर्किँदै गएपछि गाउँ गाउँका मधेसी आन्दोलन र सीमानाकामा धर्ना दिन जान थाले।

काठमाडौंका नेताले मधेसीलाई अधिकारबाट वञ्चित गरे भनी मधेसी दलका स्थानीय नेताले पटक–पटक भनेपछि उनीहरूलाई आन्दोलन जायज लाग्न थाल्यो। कैलाली घटनापछि मधेसमा आन्दोलनकारी मारिने क्रम बढ्यो। त्यसपछि आक्रोशित हुँदै उनीहरू कर्फ्यु तोड्न र सीमानाकामा धर्ना दिन जान थाले।

पर्साका किसान शिवदेवी पटेल।

पर्साका किसान शिवदेवी पटेल।

‘आन्दोलनकारीलाई पुलिसले छातीमा गोली हानेर मार्छ भन्ने थाहा पाउँदापाउँदै पनि म गएँ। मर्छु कि भन्ने डर लागेन। वास्तवमा म मर्नकै लागि गएको थिएँ,’ पर्साको चौकिया वैरिया गाउँका किसान शिवदेवी पटेलले भने।

वीरगञ्जको नागवास्थित प्रहरी कार्यालयमा तोडफोड गर्न खोज्ने आन्दोलनकारीलाई खेद्न प्रहरीले गोली चलाउँदा उनी पनि आन्दोलनकारीको हुलमा उभिएका थिए। ‘पुलिसले गोली चलाएपछि भागाभाग मच्चियो। तर म ठिङ्ग उभिरहेँ, गोली छातीमा लागोस् भनेर,’ उनले भने।

सो घटनामा प्रहरीको गोली लागेर एकजना आन्दोलनकारीको मृत्यु भयो। प्रहरीसहित २५/३० जना घाइते भए। संयोगले पटेललाई गोली लागेन। ढुंगा लागेर उनको एउटा खुट्टामा चोट मात्र लाग्यो।

नागवा घटनाअघि र पछि आन्दोलनमा मारिएका पाँचजना आन्दोलनकारीको सामूहिक दाहसंस्कारमा सरिक हुन पटेल पनि वीरगञ्जछेउको तिलावे नदी पुगेका थिए। ‘अधिकार माग्नेलाई गोली हानेको सम्झिएर म भित्रभित्रै मुमुर्रिएको थिएँ। रिसको झोंकमा कसैलाई मार्न पाए पनि हुन्थ्यो भन्ने लागेको थियो,’ उनले भने।

‘पहाडेलाई मार्न मन लागेको थियो?’ भनी सोध्दा उनले भने, ‘होइन, भोट दिएर जिताएको नेतालाई। बिचरा पहाडेले हाम्रो के बिगारेका छन् र?’

पहाडेलाई तारो बनाउनु हुँदैन भनेर नेताले सिकाएको हो? भन्दा  पटेलले भने, ‘होइन, आफैँ सिकेको। नेताहरू त बरु बिगार्न आउँछन्, यस्तो कुरा के सिकाउँथे?’

वीरगञ्जबाट निस्कने हिन्दी अर्धसाप्ताहिक सन्डे टाइम्सले डिसेम्बर २३ को अंकमा प्रमुख समाचारमै लेखेको छ, ‘मधेसी समुदायका युवा र विद्यार्थीको मनमा शासकवर्गविरुद्ध यतिबिघ्न घृणा छ कि उनीहरू पहाडी समुदायलाई हेर्नसम्म पनि चाहँदैनन्।’ तर, पटेलको भनाई र आन्दोलन समाप्त भइसक्दासम्म पनि पहाडी र मधेसीबीच हिंसा नभड्किएको तथ्यले सन्डे टाइम्सको सो भनाइलाई असत्य सावित गरिदिएको छ।

समुदायलक्षित थिएन आन्दोलन

आन्दोलनताका भेटिएका स्थानीय आन्दोलनकारीले एउटै कुरा भने– हाम्रो आन्दोलन कुनै समुदायविरुद्ध होइन, विभेदकारी राज्यविरुद्ध हो।

आन्दोलनमा भाषण गर्ने स्थानीय नेता तथा अगुवा पनि यस्तै भनाइ दोहोर्‍याइरहन्थे। मधेसी नेता तथा अगुवाले दिएको यस्तै सुझबुझपूर्ण प्रशिक्षणका कारण पनि मधेस आन्दोलनले राजनीतिक चरित्र गुम्नेगरी साम्प्रदायिक रङ लिन नपाएको पर्सा जिल्ला शिक्षा कार्यालयका स्रोतव्यक्ति प्रमोद तिवारीले बताए।

आन्दोलन चलेका बेला डिसेम्बरको मध्यतिर आन्दोलनरत दल संघीय समाजवादी फोरम नेपालका जिल्ला (पर्सा) अध्यक्ष प्रदिप यादवले साउथ एसिया चकेसँग भनेका थिए, ‘मधेसमा जारी आन्दोलन पूरै देशका उत्पीडित समुदायको आन्दोलन हो। पहाडका उत्पीडित समुदाय पनि हाम्रो पक्षमा छन्। पहाड र मधेसका साझा समस्या समाधानका लागि भइरहेको आन्दोलनले साम्प्रदायिक रूप लिने कुरै आउँदैन।’

आफ्नो भनाई पुष्टि गर्न उनले दुई दिनअघि आफ्ना पार्टी अध्यक्ष उपेन्द्र यादवले पोखरामा तमुवान र मगरात समर्थकहरूको आमसभालाई सम्बोधन गरेको उदाहरण पेश गरेका थिए। ‘यो आन्दोलनले मधेस र पहाडलाई अलग्याउने होइन, उल्टो जोड्ने काम गरेको छ,’ उनले भनेका थिए।

आन्दोलनका बेलाको साम्प्रदायिक सम्बन्ध पूरै सुमधुर भने थिएन। पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) केशवराज घिमिरेका अनुसार आन्दोलनको पारो तातोको बेला साम्प्रदायिक सद्भाव बिथोलिने अवस्था सँघारमै आइसकेको थियो।

आन्दोलन उत्कर्षमा पुगेका बेला २०–२५ हजारभन्दा बढी मानिस घरेलु हतियार र बन्दुकसहित कर्फ्यु उल्लंघन गर्न, प्रहरी कार्यालय घेराउ गर्न भन्दै आउने गरेका थिए। ‘त्यतिबेला सशस्त्र प्रहरी र नेपाल प्रहरीको क्षमता अपुग हुनसक्ने भन्दै सेनालाई समेत तैनाथ गर्नुपरेको थियो। साम्प्रदायिक सद्भाव बिथोलिने जोखिम उच्च रहेको आँकलन हामीले गरेका थियौं। त्यतिकैमा आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै पहाडी समुदायका मानिसले र्‍याली निकालेपछि अवस्था बिग्रिन पाएन,’ प्रजिअ घिमिरेले भने।

महोत्तरी, राजविराज, सर्लाहीलगायत जिल्लाका पहाडी समुदायले पनि मधेस आन्दोलनप्रति ऐक्यबद्धता जारी गर्दै र्‍याली निकालेका थिए।

वीरगञ्जनिवासी नेपाली कांग्रेसका पूर्वमहासमिति सदस्य प्रकाशकुमार उपाध्याय (भट्टराई)का अनुसार मधेस आन्दोलनका माग राजनीतिक प्रकृतिका भएकाले अन्य समुदायले यसप्रति ऐक्यबद्धता जनाएका हुन्।

‘नेपाली समाज मिश्रितखालको भएकाले नयाँ संविधान समावेशी हुनुपर्‍यो भन्ने आन्दोलनकारीको मागमा तराईका पहाडी समुदायले समर्थन जनाए। मधेस आन्दोलनप्रति नेपाली कांग्रेसले औपचारिक रूपमै ऐक्यबद्धता जनाओस् भनेर हामीले स्थानीय तहबाट दबाब दियौं,’ उनले भने।

आन्दोलनले साम्प्रदायिक रङ लिन नपाओस भनेर स्थानीय प्रशासनले आन्दोलनरत पक्षसँग निरन्तर सम्पर्क गरेको प्रजिअ घिमिरेले बताए। ‘आन्दोलनलाई साम्प्रदायिक मोड लिन दिनु हुँदैन भन्नेमा उहाँहरू पनि सचेत हुनुहुन्थ्यो। त्यतातिर उन्मुख भयो भने आन्दोलनको मूल मर्म नै धरासायी हुन्छ भन्ने चिन्ता उहाँहरूलाई थियो,’ उनले भने।

आन्दोलनले साम्प्रदायिक रूप नलेओस् भनेर राज्य पनि पर्याप्त मात्रामा शतर्क भएको प्रजिअ घिमिरेले बताए। प्रहरी परिचालन साम्प्रदायिकजस्तो नदेखियोस् भनेर आफूले मधेसमा परिचालित मधेसी मुलका सुरक्षाकर्मीको संख्या सके बढाउन, नसके नघटाउन केन्द्रसँग निरन्तर पहल गरेको उनले उल्लेख गरे। ‘आन्दोलनकारीसँग समन्वय गर्न, कुराकानी गर्न हामीले पहाडी र मधेसी मूलका सुरक्षाकर्मीलाई सँगसँगै पठाउने गर्‍यौं। यसले गर्दा भाषाको समस्या पनि परेन। आन्दोलनकारीसँग अभद्र र नश्लिय कुरा नगर्न हामीले सुरक्षाकर्मीलाई निरन्तर सचेत गरायौं। सधैँ एकैठाउँमा परिचालित हुँदा आन्दोलनकारीसँग व्यक्तिगत रिसइबी होला, उनीहरू उत्तेजित होलान भनेर हामीले सुरक्षाकर्मीलाई विभिन्न ठाउँमा आलोपालो गराइरह्यौं,’ उनले भने।

आन्दोलनले साम्प्रदायिक रङ नलेओस् भन्नेमा राज्य र आन्दोलनरत पक्ष दुबै यथेष्ट सचेत भएकाले अप्रिय घटना नभएको प्रजिअ घिमिरेले बताए।

पर्साका स्रोतव्यक्ति प्रमोद तिवारीका अनुसार तराईमा साम्प्रदायिक हिंसा भड्किए यसले पूरै मुलुकलाई हिंसातिर उन्मुख गराउँछ र यसको मार कठमाडौंलगायत पहाडमा बस्ने मधेसी समुदायमा समेत पर्छन् भन्ने कुरा यसपालि मधेसका नेता, आन्दोलनकारी तथा सर्वसाधारण सबैले मनन गरेका थिए।

उनका अनुसार बाहिरबाट हेर्दा यसपालिको मधेस आन्दोलनले बिखण्डन अथवा साम्प्रदायिक हिंसाको सम्भावनालाई प्रबल बनाएजस्तो देखिए पनि वास्तवमा अवस्था त्यस्तो थिएन। ‘सडकमा भेटिने जो कोहीलाई सोध्नुभयो भने उसले सीमांकनको कुरा गर्छ, सेसेसन (विखण्डन)को कुरा गर्दैन। आन्दोलन कोप्रति लक्षित छ भनि सोध्नुभयो भने उसले सरकारप्रति भन्छ, पहाडेप्रति भन्दैन,’ उनले भने।

सन्दर्भ सामाग्री :

– नेपाल्स ट्रबल्ड तराइ रिजन, ९ जुलाई २००७, इन्टरनेसनल क्राइसिस ग्रुप

– रिपब्लिका दैनिक, नेपाल रिपब्लिक मिडिया

– द काठमाडौं पोष्ट, कान्तिपुर पब्लिकेसन्स

– सरोकारवालाहरूसँगको अन्तवार्ता र स्थलगत अवलोकन

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री