जनता उठ्न खोज्ने, सरकार थेचार्ने

मोहन मैनाली / आइतबार, जेठ ३०, २०७३

थिल्थिलिएको लाङटाङ

थिल्थिलिएको लाङटाङ

मोहन मैनाली

लाङटाङ राष्ट्रिय निकुञ्जको गुम्बा डाँडा पुगेर हामीले पूर्व हेर्‍यौं। पूर्वको डाँडा मुनि, लाङटाङबासी बस्ने पुराना घर खोज्यौं। ती घर भएका ठाउँभन्दा अलि तल्तिर होटल चलाउनका लागि बनाइएका नयाँ शैलीका घर खोज्यौं। खोल्सो छेउको, गुरु रिन्पोछेले एक रातमा बनाएको भनी विश्वास गरिएको गुम्बा खोज्यौं। अझ तल नेपाली सेनाको चेकपोस्ट खोज्यौं। विजुलीको पावरहाउस खोज्यौं। बीचबीचमा चौरी/भेडाको चरन र डालेचुकका बुट्यान खोज्यौं। यी सबैभन्दा तल पूर्वबाट पश्चिम बग्ने लाङटाङ खोलो खोज्यौं।

ती केही पनि देखेनौं। लाङटाङ गाउँ जान हिँड्यौं। जता हेरे पनि ठूल्ठूला ढुंगा र गेग्रयान, सेताम्मे बगर। पूरै लाङटाङ गाउँ बगर बनेको रहेछ। बौद्ध मन्त्र छापिएका झण्डा ठाउँ ठाउँमा गाडिएका थिए– यहाँ मारिएका आफन्तका सम्झनामा।

लाङटाङ खोला यही पहिरोमुनिबाट बगेको छ

लाङटाङ खोला यही पहिरोमुनिबाट बगेको छ

“लाङटाङ भर्खरै लडाइँ सकिएको गाउँ जस्तो भएको छ। यसलाई लडाइँले भन्दा बढी चोट पारेको छ। लडाइँमा त कम से कम आफ्ना पृयजनले आफन्तका लाश भेट्छन्। यहाँ भने लाश लगायत घर, होटल सबै गेग्रयानमुनि थिचिएका छन्,” सत्र वर्षपछि फेरि लाङटाङ पुग्दा भिडियो सम्पादक रविन्द्र पाण्डेलाई यस्तै लाग्यो।

यहाँ १३० वटा घर थिए। भीरमुनिको एउटा बाहेक कुनै पनि घर बचेको थिएन।

२०७२ साल वैशाख १२ गते नेपालका धेरै ठाउँमा भुइँचालो आयो। लाङटाङ उपत्यकामा भने भुइँचालो मात्र आएन। वैज्ञानिकहरुका अनुसार, भुइँचालो आउने बित्तिकै लाङटाङ गाउँको उत्तरमा रहेको हिमालको सात हजार मिटर अग्लो डाँडाबाट हिउँपहिरो झर्‍यो। साढे दुई किलोमिटर झरिसकेपछि यसले सोहोरेर ल्याएका हिउँ र ढुङ्गामाटोलाई हावाको शक्तिले हुर्याएर लाङटाङ गाउँलाई पुर्दै खोलासम्म पुर्‍यायो। त्यसो गर्दा यसले ७० लाख घन मिटर जति हिउँ तथा ढुङ्गा माटो लाङटाङमा थुपार्‍यो। यति ढुंगामाटो र हिउँ १० वटा फुटबल मैदानमा राखेको भए १०५ मिटर (धरहराभन्दा झण्डै दोब्बर) अग्लो पहाड बन्थ्यो।

लाङटाङ बगर

अहिलेको लाङटाङ बगर

उहिले यस्तो थियो लाङटाङ

उहिले यस्तो थियो लाङटाङ

यसरी खसेको ढुङ्गामाटो र हिउँ एकदमै शक्तिशाली थियो। एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) का अनुसार यो हिउँपहिरोको तागत जापानको हिरोसिमामा खसालिएको बमको तागतभन्दा आधा मात्र कम थियो।

बगर कटेर पुरानो गाउँ पुग्दा त्यहाँको दृश्यले हामीलाई अलि राहत दियो। त्यहाँका घर एउटै ठाडा नभए पनि घरको भग्नावशेष त थियो।

त्यो रात हामी बन्दै गरेको होटलमा बस्यौं।

हामीले १७ वर्ष पहिले लाङटाङ गाउँको दृश्य खिचेका थियौं। ती दृश्य राखिएका भिडियो सामग्री हामीसँग थिए। हामीले त्यो कुरा बताएपछि भिडियो हेर्न वरपरका अरु मानिस पनि थपिए। “च्व… च्व… च्व… च्व..।” भिडियो हेर्नेका मुखबाट धेरै पटक यस्तो आवाज निस्कियो। भुइँचालोले मारेका मान्छे १७ वर्ष पहिलेको भिडियोमा देखिँदा मानिसले यस्तो आवाज निकालेका थिए।

भुइँचालो र हिउँ पहिरोले लाङटाङका एक चौथाइ मानिस मारिदयो। विदेशी र स्वदेशी पर्यटक, गाइड, भरिया र घर बनाउन लाङटाङ आएका अन्तका मान्छेसमेत गन्दा ३५० जना जति मरेको अनुमान छ।

सुब्बा तामाङ

सुब्बा तामाङ

“लाङटाङका सक्षम मान्छे मरे। घेवा, पूजा, नाचगान गर्न जान्ने मान्छे मरे। बीस वर्षमाथि र ४५ वर्षमुनिका ९३ जना मानिस मरे। युवै युवा मरे,” लाङटाङका सुब्बा तामाङले भने।

सुब्बाको कुरा सुनेपछि मैले लाङटाङ गाउँ पुग्ने बेलामा बाटोको देब्रेतिर देखेको एउटा दृश्य सम्भि्कएँ। त्यहाँ एउटा मान्छे आफ्नो टाउको पूर्वतिर निहुराएर उभिएको थियो। उसको टाउको र घाँटी धेरैवटा, बाङ्गाटिङ्गा फलामे डन्डीले छेडिएको थियो (नजिकै पुग्दा थाहा भयो– त्यो त भत्किएको घरको सिमेन्टको खम्बा पो रहेछ)।

खासमा त्यो खम्बा अरु कोही नभएर लाङटाङ गाउँ थियो। फलामे डन्डीले जताततै रोपिएको आफ्नो शिर निहुराएर बसेको।

खासमा त्यो खम्बा अरु कोही नभएर लाङटाङका पासाङ डोन्ड्रूप थिए। भुइँचालो र हिउँ पहिरोले थिल्थिल्याएको शरीर उठाउने तागत कतिबेला आउला भनेर पर्खिरहेका।

२०७२ साल वैशाख १२ गते भुइँचालो रोकिने बित्तिकै पासाङ घरबाहिर निस्केका थिए। गाउँको उत्तरमा हिमालबाट हिउँपहिरो आएको देखे। घरभित्र लुक्छु भनेर भाइको भुइँतलाको मुनि छिर्न लागेका थिए, झल्यास्स छोरी सम्भि्कए। उनकी छोरी आफ्नै घरभित्र थिइन्। भाइको घरबाट फर्केर उनी घरको ढोकाको छेउमा पुग्दा पहिरोले छोपिसकेको थियो। उनी भित्तामा टाँसिएर बसे। बाहिर एकदम कालो न कालो भयो। आँखै नदेखिने गरी। डरले उनी बेस्सरी कराए।

पहिरो रोकिएपछि मुख सुक्यो, उनलाई तिर्खा लाग्यो। बोली निस्किएन। एउटा ड्रममा पानी थियो। हिउँ पहिरोले माटो हालेर त्यसलाई धमिलो बनाएको थियो। उनले त्यही पानी खाए।

यताउता हेर्दा गाउँ कतै देखेनन्। उनकी श्रीमती गाउँको पुच्छरमा काम गर्थिन्। उनी त्यही पुरिइछन। लाश पनि भेटिएन।

भुइँचालो आएको भोलिपल्ट उनी त्रिशुली झरे। त्यहाँ चार दिन बसेर काठमाडौं गए। स्वयंभूमा यलो गुम्बामा शरण लिएर चार महिना जति बसे। त्यसपछि डेरा खोजेर काठमाडौंमै बसे।

अस्ति कात्तिक अन्तिममा उनी लाङटाङ आए। केही दिन बसेर काठमाडौं नै फर्किए।

हामीले भेट्दा उनी लाङटाङ फर्केको चार दिन भएको थियो। खानेकुरा थिएन। लाउने कुरा थिएन। भए भरको कमाइ ३५ लाख रुपैया खर्च गरेर नयाँ घर बनाएको साढे पाँच महिना मात्र बस्न पाएका थिए। घर बनाउँ भने सामान जुटाउन सकेका थिएनन्। धनसम्पत्ति सबै पुरियो। खेत सबै पुरियो। हिउँपहिरोले बिगारेको हात तीन चोटि अपरेशन गरिसके। अझै ठीक भएको थिएन।

“नसोचेको कुरा भयो। प्रकृतिले यस्तो बनाइदियो,” पासाङले भने।

त्यो हिउँपहिरो लाङटाङ उपत्यकाको मुख घोडातबेलादेखि थेङसाब, चम्की, गुम्बाडाँडा, लाङटाङ, मुन्डू, सिङदुम र क्यान्जिङ लगायतका गाउँमा आएको थियो। अरु ठाउँमा हिउँमात्र आएकाले हिउँ पग्लेपछि जमिन पहिलाको जस्तै भयो तर चम्की, गुम्बा डाँडा र लाङटाङलाई भने बगर बनाइदियो।

अरु बेला हिमालमा हिउँ कम पर्दा चिन्ता हुन्थ्यो। २०७१ सालको हिउँदमा धेरै हिउँ परेको थियो।

लाङटाङ क्षेत्रका हिउँका थुप्रा नेपालमा सबैभन्दा बढी अध्ययन गरिएका हिउँका थुप्रा हुन्। तर यी हिउँका थुप्राले यस्तो प्रलय ल्याउँछन् भनेर कसैले चेतावनी दिएको थिएन भन्छन् लाङटाङका सुब्बा तामाङ। भुइँचालो पढेकाले भुइँचालो आउँछ मात्र भन्यो, हिउँका थुप्रा पढेकाले हिउँका थुप्रा असरल्ला फैलिएका छन् भन्यो। भुइँचालो आउँदा ती यसरी खस्न सक्छन् भनेर कसैले भनेन।

त्यसैले पोहर कहिल्यै लाङटाङमा मानिसले सोच्दै नसोचेको दसा आइलाग्यो। “यस्तो त हामीले कल्पना पनि गरेका थिएनौं। तीन/चार सय वर्ष अगाडि त (हिउँपहिरो) आएको थियो जस्तो लाग्छ। त्यति बेला त यो बस्ती पनि थिएन,” सुब्बा तामाङ भन्छन्।

सुब्बा लाङटाङलाई तंग्रयाउन कोशिश गरिरहेका छन्। काठमाडौं गएर लाङटाङमा ढलेको नेपाल दूरसञ्चार कम्पनीको ढलेको टावर उठाइदिन हारगुहार गरे। अहिले क्यान्जिङसम्म जसोतसो टेलिफोन चलेको छ।

यहाँ नयाँ घर बनाउनु दुई किसिमले जरुरी छः स्थानीय मानिस बस्न र यहाँ आउने पर्यटकलाई बास दिन। पर्यटन लाङटाङबासीको मुख्य पेशा थियो। यहाँ वर्षमा १४ हजारसम्म विदेशी पर्यटक आउँथे। ती पर्यटक निकुञ्ज पसे वापत लाङटाङ राष्ट्रिय निकुञ्जले एक वर्षमा झन्डै साढे चार करोड रुपैया कमाएको थियो।

लाङटाङ पर्यटक बास बस्ने मुख्य ठाउँ थियो। यहाँ बास बस्ने व्यवस्था नहुँदा पर्यटक आउँदैनन्। त्यसैले यहाँ पर्यटक र निकुञ्जको आम्दानी पुरानै अवस्थामा फर्काउन लाङटाङमा पनि बासको व्यवस्था गर्नु जरुरी छ। तर यो काम कति अप्ठ्यारो छ भने नेपाली सेना र निकुञ्जले आफ्ना फौजी र निजामति पोस्ट फर्काउन सकेको छैन। यस्तो कठिन अवस्थामा पनि स्थानीय मानिसले घर बनाउन कोशिश गर्दा निकुञ्जले घर बनाउने काठमा रोयल्टी लगाएको छ।

निकुञ्जले कुकाठमा प्रति क्युबिक फिट १०० रुपैयाँ र त्यसमाथि १३ प्रतिशत भ्याट थपेर लिने गरेको छ। यस मामलामा ९० सालको भुइँचालोपछि जुद्ध शमशेर जति दयालु भएका थिए सरकार त्यति दयालु छैन। ब्रह्म शमशेर जबराले लेखेको किताब नेपालको महाभूकम्प १९९० अनुसार जुद्ध शमशेरले भुइँचालो पीडितलाई घर बनाउन यस्तो व्यवस्था गरेका थिएः

  • गोदावरी, नागार्जुन समेतका वनबाट दलिन थान १२,००० सरकारका तर्फबाट कटानी भइ काठमाडौं, भादपाउँ र पाटनका दुनियाँलाई बिक्री गर्ने।
  • पहाड ढुंखर्कका वनबाट ठेकेदारर्फत काठ, दलिन थान १३,००० कटानी भई भादगाउँ ब्रिगेडमार्फत् ठेकेदाले नै दिएका दरमा बिक्री गर्ने।
  • भूकम्पका सबबले घर भत्कनेहरुलाई घर बनाउन जंगलबाट सालको लकडी पनि घर हेरी दिनू” भन्ने जिल्ला जिल्लाका हाकिमलाई उर्दी दिने।
  • भूकम्पबाट भत्केका घरहरु बनाउनेहरुलाई “सनदले बन्द भइरहेका रुखहरु पनि काट्न दिनू” भन्ने सनद उर्दी दिने।
  • पाइक पर्ने र निजकका जंगलबाट १९९१ साल ज्येष्ठसम्मलाई डाँडा, भाँटा काट्न दिने।

रसुवागढी (लाङटाङ यही गढी अन्तर्गत पर्थ्यो) लगायतका ठाउँ ठाउँमा दौडाहा जाने मानिस र त्यहाँका बडा हाकिमहरुलाई “रैतीको घर बनाउन नजिक जंगलबाट वन नबिग्रने गरी काठ काट्न पाउने बन्दोबस्त गरिदिनू” भनी उर्दी दिइएको रहेछ।

लाङटाङका मानिसले घर बनाउन रूख काट्दा वन बिग्रंदैन किनभने पोहरसाल भुइँचालो पछि आएको पहिरोले जति रूख ढालेको थियो त्यसको सानो अंश काट्यो भने लाङटाङका मानिसलाई चाहिने काठ पुग्छ । काँचो रूख एउटा पनि काट्नु पर्दैन ।

भूकम्पपीडितले घर बनाउन काठ काट्दा सरकारले वनको राजश्व र अर्थको भ्याट असुल्छ

भूकम्पपीडितले घर बनाउन काठ काट्दा सरकारले वनको राजश्व र अर्थको भ्याट असुल्छ

पोहरको भुइँचालो पीडितलाई चाहिँ सरकारले चुइँया साहुले जस्तो ब्यवहार गरेको छ। भुइँचालोमाथि हिउँपहिरो थपिएर प्रलय भएको लाङटाङमा घर बनाउन काठ काट्न खोज्नेलाई वन मन्त्रालयले रोयल्टी असुलेको छ, अर्थ मन्त्रालयले भ्याट थोपरेको छ।

“नेपालमा यो ठाउँमा मात्रै हो कि अन्त पनि सरकारले यसै गरेको छ?,” सुब्बा तामाङले सोधे।

भूकम्प पीडितलाई काठ दिन तयार गरेको निर्देशिकामा सरकारले काठबाट रोयल्टी नलिइ नछाड्ने व्यवस्था गरेको छ।

लाङटाङमा घर बनाउन अन्तजस्तो सजिलो छैन। गाडी पुगेको सबैभन्दा नजिकको ठाउँ स्याब्रु बेंसीबाट लाङटाङसम्म सामान ढुवानी गर्न प्रति केजी १०० रुपैया खर्च गर्नुपर्छ। बर्खा लागेपछि यहाँ सामान ढुवानी गर्ने बाटो बन्द हुन्छ।

यी सबै कारणले गर्दा लाङटाङको भविष्य त्यति उज्ज्वल छैन। “भुइँचालोमा बाँचेका यहाँका बच्चा यहाँ फर्कँदैनन्। यहाँका २०/२५ घरधुरी पनि गाउँ फर्कन्छन् कि फर्कँदैनन थाहा छैन। लाङटाङ डुब्यो,” सुब्बाले भने। “लाङटाङ फर्केर नआउँ भने कसरी नआउँ (आफ्नो गाउँ)? आउँ भने कसरी आउँ?”

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री