आकर्षक विज्ञापन, अनाकर्षक काम

सुजित मैनाली / बुधबार, साउन २७, २०७२

ShadyAdvt-1024x782अफिसमै गर्ने काम पाइने, अन्तर्वार्ता दिनु नपर्ने, आउने जति सबैलाई जागिर दिइने । सेन्डअप टेस्ट, एसएलसी अथवा प्लस टु गरेका सबैले काम पाउने । मासिक तलबः पार्टटाइम काम गरे रु. १८ हजार, फुलटाइम गरे रु‍‍.३५ हजार ।

काठमाडौंबाट प्रकाशित धेरै दैनिकका ‘वर्गीकृत डिस्प्ले’ खण्डमा प्रकाशित विज्ञापन यस्तै बेहोराका हुन्छन् ।

विदेश जान नपर्ने, चर्को गर्मी खप्न नपर्ने, शैक्षिक योग्यता खासै नचाहिने । तलब चाहिँ निजामती सेवाका शाखा अधिकृतको डेढी पाइने । यस्ता विज्ञापनले धेरै बेरोजगारको ध्यान तान्नु स्वाभाविक हो ।

माथिको बेहोरा भएको विज्ञापनमा दिइएको टेलिफोन नम्बरमा सम्पर्क गर्दा थाहा हुन्छ— यो विज्ञापन काठमाडौंको पुरानो बानेश्वरस्थित पी एन्ड टी ह्यान्डिक्र्याफ्ट प्रा.लि.ले निकालेको रहेछ । त्यस कम्पनीको रिसेप्सन कक्षको भित्तामा संसारभरका कम्युनिस्टहरूले श्रमजीवीको अधिकारका क्षेत्रमा काम गरेका भनी तारिफ गरेका माओ, लेनिन र चे ग्वेभाराको छ्वालीचित्र झुण्ड्याइएको छ ।

सो कम्पनीले तीन किसिमका काम दिने दाबी गरेको छः छ्वालीचित्र बनाउने, कल सेन्टरबाट विदेशमा रहेका ग्राहकसँग कुराकानी गर्ने, दिइएका अक्षर र चित्र टाइप गर्ने ।

कम्पनीको कार्यालय पुग्नेलाई कम्पनीका काउन्सिलरले भन्छन्ः फरर्र अंग्रेजी बोल्न सक्नेलाई कल सेन्टरमा काम दिइन्छ । यस बापत शुरुमा मासिक १० हजार रुपैयाँ तलब दिइन्छ । टाइप गर्न सक्ने र घरमा इन्टरनेट सुविधा भएकाले आफ्नै घरमा बसीबसी मासिक १० हजार रुपैयाँ कमाउँछन् ।

विज्ञापनमा मासिक रु. ३५ हजार दिने भनिएको तलब कम्पनीको अफिसमा पुग्दा घटेर १० हजार हुन्छ ।

तर आत्तिनु पर्दैन । किनभने कम्पनीले विज्ञापनमा भनिए जति पैसा कमाइने कामको आशा देखाएको छ । त्यसका लागि अंग्रेजी राम्रो हुनुपर्दैन । टाइप गर्न जान्नु पनि पर्दैन । यो काम हो— छ्वाली चित्र बनाउने । यो काम गर्दा मासिक रु. ३६ हजार रुपैयाँसम्म कमाइ हुन्छ— सो कम्पनीकी काउन्सिलरले भनिन् ।

काउन्सिलरको हाउभाउ र उनका कुरा सुनिसक्दा कामको खोजीमा त्यहाँ पुगेका अधिकांश मानिस छ्वाली चित्र बनाउने काम रोज्छन् । किनभने यसमा योग्यता कम भए हुन्छ, पैसा बढी कमाइन्छ !

‘छ्वाली चित्र बनाउन अप्ठेरो छैन । ‘चित्रअंकित कागजमा छ्वाली टाँसेर केहीबेर सुकाउनुपर्छ र चित्रको किनारैकिनार काटेर छ्वाली कला तयार गर्नुपर्छ,’ ‘वर्गीकृत डिस्प्ले’ खण्डमै त्यस्तै खालको विज्ञापन छपाएको अर्को कम्पनी एम.के. सर्भिस नेपालकी काउन्सिलरले भनिन् ।
यस्तो विज्ञापन गर्ने कम्पनीका काउन्सिलरले कामको खोजीमा रहेका युवाहरूलाई भन्ने गर्छन्— एक महिनामा दुई सयवटा चित्र बनाउन सक्नेले रु. ३५ हजार कमाउँछन् ।

तर छ्वाली चित्रमा विशेषज्ञता हासिल गरेका, काठमाडौंको कुलेश्वरका विनय राजोपाध्याय भन्छन्, एक महिनामा एक सयवटा छ्वालीचित्र बनाउन सकिँदैन ।

‘अरू खालका चित्रकलाभन्दा छ्वाली चित्रकला भिन्न छ । यसका लागि छ्वालीलाई विभिन्न आकार र टुक्रामा काट्नुपर्छ, अनि बडो मिहिनेत र लगनका साथ यी टुक्रालाई जोड्नुपर्छ । एउटा राम्रो चित्र बनाउन कहिलेकाहीँ हप्तौं अथवा महिनौं पनि लाग्न सक्छ,’ उनले भने ।

दुई–तीन वर्षअघि उनी छ्वालीकलामा बढी उत्साहका साथ लागेका थिए । त्यति बेला उनले दुई–तीन दिनमा एउटा चित्र मात्र बनाउन सकेका थिए । ‘एक महिनामा दुई सयवटा चित्र बनाउन सक्दै सकिँदैन,’ विनयले भने ।

तर, चाबेलस्थित एनडीडीपीसीकी काउन्सिलर छ्वाली चित्र बनाएर धेरै मानिसले काठमाडौंको महँगीमा पनि राम्रोसँग जीविका चलाइरहेको दाबी गर्छिन् ।

विज्ञापनमार्फत हुने यस्ता कामलाई नजिकबाट नियालिरहेका र यस विषयमा लेखिरहेका पत्रकार अम्मर जिसीका अनुसार बेरोजगार युवाहरू अरू किसिमले पनि ठगिन्छन् । उनी भन्छन्ः सबैभन्दा पहिले आवेदकहरूलाई फारम भराइन्छ । एउटा फारमको दुई सय रुपैयाँसम्म लिइन्छ ।
फारम भरिसकेपछि आवेदकलाई तालिम लेऊ भनिन्छ । त्यसको पनि पैसा तिर्नुपर्छ । छ्वालीचित्र काट्ने कला सिक्न एक हप्ते तालिमका लागि तीन हजारदेखि चार हजार रुपैयाँ तिर्नुपर्छ ।

तालिम लिनेमध्ये केहीलाई मात्र ‘काम’ दिइन्छ । काम पाउने केहीले मासिक रु. चार हजारदेखि आठ हजारसम्म तलब पाउँछन् । यति पैसा कमाउन उनीहरूले प्रतिदिन आठ घण्टा काम गर्नुपर्छ ।

जडीबुटीबाट औषधि बनाएको दाबी गर्ने संस्थाले पनि यस्तो विज्ञापन गर्ने गरेका छन् । सुमन राई पत्रिकामा छापिएको विज्ञापन पढेर उनी काठमाडौंको कोटेश्वरमा रहेको संस्थाको कार्यालय पुगेका थिए ।

त्यहाँ उनलाई दुई सय रुपैयाँ तिराएर फारम भर्न लगाइयो । त्यसपछि उनलाई विभिन्न सामान भएको ब्याग दिएर िबक्री गर्न भनी गाउँतिर पठाइयो ।

‘अफिसले मलाई एउटा कलेजको नक्कली परिचयपत्र बनाइदिएको थियो । हामी कलेजका विद्यार्थी हौं र सामान बिक्री गर्न सक्यौं भने मात्रै हामी जाँचमा पास हुन्छौं भन्न हामीलाई सिकाइएको थियो । हामीलाई बिक्री गरेका सामानको कमिसन दिने भनिएको थियो,’ उनले भने ।

गाउँमा गएर सामान बेच्दा खानबस्नका लागि दिनको तीन सयदेखि पाँच सय रुपैयाँसम्म खर्च हुन्थ्यो । तर सामान बेचे बापत यति कमिसन आउँदैनथ्यो । यो घाटा पूरा गर्न उनले घरबाट पैसा ल्याउनुपर्यो ।

झापा स्थायी घर भएका अनिल यादव पनि यस्ता विज्ञापनबाट आकर्षित भएका थिए । करिब दुई वर्षअघि आकर्षक तलब पाइने टाइपिस्टको जागिर खुलेको विज्ञापन पत्रिकामा पढेपछि उनी विज्ञापनकर्ताको अफिस पुगे । त्यहाँ दुई सय रुपैयाँ तिरेर फारम भर्न लगाइयो । त्यसपछि तीन हजार रुपैयाँ तिर्न लगाएर उनलाई पुराना पाण्डुलिपिको स्क्यान भएका सामग्रीले भरिएका दुईवटा सिडी दिइयो ।

टाइप गर्दाका नियम उनलाई बताइयोः ती पाण्डुलिपिमा रहेका कुरा जस्ताको तस्तै टाइप गर्नुपर्छ, पाँचवटा भन्दा बढी गल्ती गर्न पाइँदैन ।
यी शर्त पूरा गरेर तोकिएका दिनभित्र पाण्डुलिपि टाइप गरेर बुझाउँदा उनलाई नौ हजार रुपैयाँ दिने भनियो ।

घर पुगेर टाइप गर्न थालेपछि मात्रै उनलाई आफूले कति गाह्रो काम जिम्मा लिएछु भन्ने लाग्यो । ती पाण्डुलिपिमा यस्ता यस्ता चिन्ह थिए टाइप गरेर यसलाई उतार्न ज्यादै अप्ठेरो थियो । शुरुमा उनलाई देखाइएको टाइप गर्नुपर्ने सामाग्रीको नमुना यस्तो अप्ठेरो थिएन ।

आफूले नसकेपछि यो काम गर्न यादवले टाइपमा सिपालु साथीको सहयोग मागे । ‘तर ती साथीले घण्टौं मेहनत गर्दा पनि एक पेजभन्दा बढी टाइप गर्न सकेनन् । ‘सजिलै गर्न सकिने कामको लोभ देखाएर उनीहरूले मेरो तीन हजार दुई सय रूपैयाँ ठगे,’ यादवले भने ।

उपभोक्ता संरक्षण ऐनले ‘गलत अथवा भ्रामक दाबी गरी कुनै पनि उपभोग्य सामाग्री अथवा सेवाको विक्री अथवा वितरण गर्नु’लाई गैरकानुनी काम भनेको छ । ऐनले यस्तो काममा संलग्नलाई पाँच वर्षसम्म जेलसजाय अथवा एक लाख रुपैयाँसम्म जरिवाना अथवा दुबै गराउन सकिने व्यवस्था गरेको छ ।

उपभोक्ता अधिकार संरक्षण मञ्चका महासचिव ज्योति बानियाँका अनुसार कानुन लागू गर्ने निकायहरूको निष्क्रियता र जेसुकै हुँदा पनि चुप लागेर बस्ने पीडितहरूको बानीले गर्दा झूटो विज्ञापन गरेर ठगी गर्नेहरूले हौसला पाएका छन् । आधिकारिक निकायमा गएर पीडितहरूले निवेदन हाले ठगी गर्नेलाई कारबाही गर्न सरकार बाध्य हुन्छ । तर यस धन्दाबाट अहिलेसम्म धेरै ठगिए पनि कसैले यस्तो उजुरी गरेको छैन् । त्यसैले यस्तो काम निर्वाध रूपमा भइरहेको छ ।

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री