पानी जहाजको बाटो

साउथ एशिया चेक / मंगलबार, फाल्गुण २१, २०७५

ग्राफिक: साउथ एशिया चेक

ज्ञानेन्द्र आचार्य/साउथ एशिया चेक

नेपालका मुख्य नदीमध्ये कोशी र सप्तगण्डकी (यसलाई नेपालमा नारायणी र भारतमा गण्डक पनि भनिन्छ) बगेर भारतमा गंगा नदीमा मिसिन्छन् । भारतले सन् १९८६ मा गंगा–भागीरथी—हुगली नदी प्रणालीलाई राष्ट्रिय जलमार्ग १ घोषणा गरेको थियो । भारतको यही राष्ट्रिय जलमार्ग १ अन्तर्गत पर्ने हाजीपुरमा गण्डकी र कुर्सेलामा कोशी गंगामा मिसिन्छन् । गंगा नदीसँग हाम्रा यी दुई नदीको संगमलाई नै नेपाललाई जलमार्गबाट समुन्द्रसँग जोड्ने माध्यमका रुपमा हेरिएको छ ।

अहिले भारतीय अन्तर्देशीय जलमार्ग प्राधिकरणले जलमार्ग पूर्वाधार विकासमा जोड दिएको छ । गण्डक नदीको हाजिपुरदेखि त्रिवेणी घाटसम्मको ३०० किलोमीटर लामो जलमार्ग (राष्ट्रिय जलमार्ग ३७) निर्माण पनि भारतको प्राथमिकतामा परेकाले नेपाली भूमिसम्म पानी जहाज ल्याउन सम्भवजस्तै देखिएको हो । भारतका केन्द्रीय सडक परवाहन तथा राजमार्ग मन्त्री नितिन गड्कारीले यस मार्गको शीलान्यास पनि गरिसकेका छन् । त्यही जलमार्गमा नवलपरासीको त्रिवेणीपारिको भैँसालोटन ब्यारेजसम्म आइपुग्ने पानी जहाजलाई नेपालसम्म ल्याउनका लागि सन् २०१९ मार्च महिनाको पहिलो साता नेपाली र भारतीय पक्षबीच हुने भनिएको उच्च स्तरीय बैठकपछि मात्रै थप अध्ययन हुने बताइएको छ ।

२०६५ फागुनमा सुनसरी स्थित कोशी नदीमा डुङ्गाहरु।                                                        तस्विर:साउथ एसिया चेक

जलमार्ग र पानी जहाज सम्बन्धमा नेपालको आफ्नो प्राविधिक निर्देशिका र मानक तयार भइसकेको छैन । भारतीय जलमार्गलाई नै विस्तार गरेर नेपालसम्म पानी जहाज ल्याइने भएका कारण भारतीय अन्तर्देशीय जलमार्ग प्राधिकरणले लागू गरेको निर्देशिकालाई नै आधार मान्ने हो भने पानी जहाज चलाउनका लागि नदीमा हरबखत कम्तिमा डेढ मीटर गहिरो पानी रहिरहनुपर्छ। गहिराई नपुग्ने ठाउँमा खनेर नदीको तल्लो भागलाई मिलाउनुपर्छ । यसलाई ड्रेजिङ भनिन्छ । जल तथा उर्जा आयोगका सहसचिव माधव बेल्बासेले एपी वान टेलिभिजनको एपीसेन्टर कार्यक्रमलाई बताए अनुसार, त्रिवेणीदेखि दासढुंगासम्म सामान्य ड्र्रेजिङ गरेर पानी जहाज ल्याउन सकिन्छ ।

प्रयोजन अनुसार पानी जहाजका प्रकार छुट्याइएका हुन्छन् । जस्तै सामान ढुवानीका लागि ड्राई बल्क भेसल, तरल पदार्थ (जस्तै पेट्रोलियम) ढुवानीका लागि लिक्विड बल्क भेसल, यात्रु बोक्नेलाई प्यासेन्जर भेसल, कन्टेनर ढुवानीका लागि कन्टेनर क्यारियर भेसल आदि । पानी जहाजका प्रकार अनुसार भारवहन क्षमता पनि फरक हुन्छन् । भारतमा २.२ देखि ३ मिटरसम्म गहिराई र ४५ मिटर चौडा नदी दुई हजार टन भारवहन क्षमताका जहाज चलाउनका लागि योग्य मानिन्छ ।

हाजिपुरदेखि त्रिवेणी घाटसम्म ३०० किलोमिटर जलमार्ग निमार्णका लागि भारतले १२.९१ करोड भारतीय रुपियाँ खर्च गर्ने कुरा गत माघ २८को हिन्दुस्तान टाईम्सको रिपोर्टमा उल्लेख छ । गण्डक नदीमा निर्माण हुन लागेको यो जलमार्गमा वैशाली, कल्याणपुर, बेतिया र बगाहा गरी चार ठाउँमा टर्मिनल रहन्छन् । नेपाल तर्फको अनुमानित लागत भने उच्च स्तरीय प्राविधिक अध्ययनपछि मात्रै थाहा हुन्छ ।

जलमार्ग सामान ढुवानी गर्नका लागि निकै किफायति मानिन्छ । ढुवानीका लागि खर्च हुने उर्जामा पनि जलमार्ग किफायति छ । विश्व बैँकले भारतमा गरेको एक अध्ययन अनुसार एक लिटर इन्धनले स्थलमार्गमा २४ टन तान्न सकिन्छ भने उति नै इन्धनबाट जलमार्गमा १०५ टन कार्गो तान्न सकिन्छ ।स्थलमार्गको भन्दा जलमार्गको ढुवानी खर्च आधा मात्र हुन्छ । नेपालमा सामान ढुवानीका लागि प्रयोग हुने कन्टेनर लगभग २० टनका हुन्छन् । नारायणी नदीमा एक हजार टन भारवहन क्षमताको जहाज चलाउने हो एक पटकमा ५० वटा त्यस्ता कन्टेनर ढुवानी गर्न सकिन्छ ।

जलमार्ग निमार्ण गर्दा वातावरणमा पर्ने असर निकै कम हुन्छ । ड्रेजिङ गर्दा गहिराई नपुगेको ठाउँ खनेर निकालिएको बालुवा अर्को ठाउँमा लगेर नदीको तल्लो भागमा मिलाइन्छ । त्यसैले ड्रेजिङबाट निस्कने बालुवा फाल्ने ठाउँको समस्या हुँदैन । अर्कोतिर स्थलमार्गका तुलनामा जलमार्गमा कम उर्जा खपत हुने भएकाले पानी जहाजले उत्सर्जन गर्ने कार्बनडाइअक्साइडको मात्रा पनि निकै कम हुन्छ । त्यस्तै गाडीका तुलनामा पानी जहाजबाट हुने ध्वनी प्रदूषण नगन्य हुन्छ ।

तर नदीलाई जलमार्गको रुपमा प्रयोग गर्दा पानी जहाजको चालका कारण जलचरहरु जस्तै माछा, गोही आदिको बासस्थानलाई भने असर गर्छ । त्यसमाथि, अहिले चर्चा चलेको नारायणी नदीमा बाघ र गैँडा जस्ता दुर्लभ वन्यजन्तु खाइखेली गर्छन् ।

सिँचाइ वा जलविद्युतका लागि प्रयोग गरिएका नदीमा जलमार्ग निमार्ण गर्नुपूर्व विस्तृत अध्ययन गर्नु जरुरी छ । तर सिँचाई, जलविद्युत लगायतका काममा उपयोग गरिएको पानीमा पनि न्युनतम गहिराई कायम गर्न सकेका खण्डमा जलमार्ग संचालन गर्न सकिन्छ ।

नेपालमा मन्त्रिपरिषदले पानी जहाज कार्यालय खोल्ने निर्णय २०७५ पुस ३० गते गरेको थियो । प्रधानमन्त्री के. पी. शर्मा ओलीले २०७५ फागुन २ गते ललितपुरको एकान्तकुनामा पानीजहाज कार्यालयको उद्घाटन गरेका थिए ।

सरकार बनाएपछि एक ठाउँमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले २०७५ साल पुस १६ गते पानीजहाजको टिकट काटेर कलकत्तासम्म जान सार्वजनिक निम्तो दिएका थिए ।

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री