मधेस आन्दोलनमा शिक्षा

सुजित मैनाली / मंगलबार, माघ २६, २०७२

वीरगञ्जको एक विद्यालयमा विद्यार्थीहरु । तस्बीर ः सुजित मैनाली

वीरगन्जको एक विद्यालयमा परीक्षा दिदै विद्यार्थीहरु । (फाइल तस्बीर)

२०७२ सालमा मधेस आन्दोलन उत्कर्षमा पुगेका बेला पर्साका जिल्ला शिक्षा अधिकारी रामविनय कुमार सिंह केही सरकारी विद्यालयमा पढाइको अवस्था बुझ्न गएका थिए। अरूबेला उनी कक्षाकोठामा पस्दा स्कुले केटाकेटीहरू ‘गुड मर्निङ सर’ भन्दै अभिवादन गर्ने गर्थे। यसपालि कक्षाकोठामा उनले ‘जय मधेस’ अभिवादन पाए।

‘यसपालिको मधेस आन्दोलनप्रति स्कुले केटाकेटीले बढी नै उत्साह देखाएका छन्,’ उनले भने।

डिसेम्बरको मध्यताका सम्पर्क गर्दा वीरगञ्जको प्रज्ञा एकेडेमीमा कक्षा एकका अविशेक कुमार साहलाई मधेसमा आन्दोलन हुँदैछ भन्ने थाहा थियो। तर किन भइरहेको छ, थाहा थिएन। आन्दोलनकारीले भोजपुरी भाषामा बनाएको गीत भने उनलाई कण्ठ थियोः

लाठी फाटा लेके होजा तैयार

मधेस अबि बन्द बा।

अस्तव्यस्त पढाइ

वैशाखमा गएको भूकम्पले तराईमा त्यस्तो धेरै भौतिक क्षति नगराए पनि स्कूल चलाउन भने व्यवधान पुर्‍यायो। त्यसपछि चलेको मधेस आन्दोलनले पठनपाठनमा ठूलै असर गरेको छ।

‘वैशाख १२ र २९ गतेको भूकम्पका कारण २२ दिनजति यतातिरका विद्यालय बन्द भए। बीचबीचमा पराकम्प आउँदा पनि विद्यालय बन्द हुन्थे,’ पर्साका स्रोतव्यक्ति प्रमोद तिवारीले भने।

भूकम्पलगत्तै संविधान निर्माण प्रक्रिया तिब्र बन्न थालेपछि मधेसकेन्द्रित दलले संविधान निर्माण प्रक्रियाप्रति असहमति जनाउँदै आन्दोलन घोषणा गरे। ‘आन्दोलनका कारण विद्यालय बन्द भए। जाडो लाग्न थालेपछि विद्यालय पुनः खुले पनि आन्दोलन चर्किएको बेला बन्द हुने क्रम अझै जारी छ,’ वीरगञ्जको बिकन माध्यमिक विद्यालयका संस्थापक प्रकाशकुमार उपाध्यायले भने।

सबै विद्यालय बन्द भएनन्

आन्दोलनको प्रभाव बढी भएका सहरी क्षेत्रका विद्यालय बढी बन्द भए। आन्दोलनको खासै प्रभाव नपरेको पर्साको उत्तरी भेगका विद्यालय आन्दोलन चर्किएका बखत एकाध दिन मात्र बन्द भएको स्रोतव्यक्ति तिवारीले बताए।

सहरी क्षेत्रका सरकारी विद्यालयले आन्दोलनलाई कारण देखाउँदै पठनपाठन बन्द गरे। निजी विद्यालय सञ्चालकहरूको छाता संगठन प्याब्सन र एनप्याब्सनका स्थानीय इकाइले आन्दोलनप्रति ऐक्यवद्धता जनाएपछि निजी विद्यालयको पठनपाठन पनि अवरुद्ध हुन पुग्यो।

‘निर्वाध सञ्चालनका लागि आवश्यक पर्ने सुरक्षा माग गर्दै कुनै पनि विद्यालय हाम्रो सम्पर्कमा आएनन्। निजी विद्यालयहरूको संगठनले उल्टो आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै विद्यालय बन्द गरे,’ पर्साका प्रमुख जिल्ला अधिकरी केशवराज घिमिरेले भने।

आन्दोलन अवधिभर सहर का विद्यालय पनि पूर्ण रुपमा ठप्प भने भएनन्। ‘बन्दका बेला पनि औपचारिक–अनौपचारिक रुपमा विद्यालय खुला भए। विद्यार्थीलाई युनिर्फमबिनै बोलाएर बिहानबेलुका कक्षा सञ्चालन गर्ने काम भयो। यो सवालमा निजी विद्यालय अगाडि रहे। कर्फ्युका बेला चाहिँ पठनपाठन पूरै ठप्प भयो,’ प्रशिअ सिंहले भने। बिकन माध्यमिक विद्यालयका संस्थापक उपाध्यायका अनुसार आन्दोलनरत पक्षसँग संवाद गरेपछि मंसीरबाट मात्रै औपचारिक रूपमै विहानी सत्रको पढाइ सुरु भयो।

कठ्याङ्ग्रिने जाडोमा बिहानै स्कुल जानुपर्दा विद्यार्थीलाई समस्या पर्न थालेपछि आन्दोलनकारीले दिउसो कक्षा सञ्चालन गर्न दिए। ‘सवेरै स्कुल आउनुपर्दा विद्यार्थीलाई रुघाखोकी, निमोनियाआदि लाग्न थाल्यो। सबै विद्यार्थीसँग चप्पल, मफलर हुँदैन। ग्रामीण भेगका कतिपय स्कुलमा पर्याप्त फर्निचर नभएकाले बोरा ओछ्याएर पढ्नुपर्छ। यी समस्याबारे आन्दोलनकारीलाई बताएपछि उनीहरूले दिउसोसमेत कक्षा सञ्चालन गर्न दिए,’ जिशिअ सिंहले भने।

क्षतिपूर्तिको तयारी

बन्दका कारण पठनपाठन अवरुद्ध भएपछि पाठ्यक्रम समयमै सिध्याउन सरकारी र निजी दुबै विद्यालयले योजनाबद्ध रुपमा काम अघि बढाए।

स्रोतव्यक्ति तिवारीका अनुसार वर्षमा २२० दिन विद्यालय खुल्नुपर्छ, जसमध्ये १९० दिन कक्षा सञ्चालन हुनुपर्छ। बाँकीमा परीक्षालगायत शैक्षिक गतिविधि हुनुपर्छ।

…भूकम्पका कारण एक महिनाजति विद्यालय बन्द भएपछि एक महिनाका लागि दिइने गर्मी बिदालाई घटाएर एक सातामा झार्ने काम भयो। आन्दोलनका कारण स्कुल बन्द हुँदा भएको क्षति पूर्ति गर्न सार्वजनिक र निजी दुबै विद्यालयले धमाधम विदा कटौती गरिरहेका छन्,’ तिवारीले भने।

आन्दोलनका कारण पर्साका स्कुल १५ दिनदेखि तीन महिनासम्म बन्द भएको जिशिअ सिंहले बताए। ‘जिल्लाभरका झण्डै आधा विद्यालय १५ दिन मात्रै बन्द भए भन्ने हाम्रो आँकलन छ,’ उनले भने।

दशैं, तिहार, छठ, तिजआदि बिदा दिइने पर्व आन्दोलनकै बीचमा परेकाले त्यसताकाको एक महिनाजति विद्यालय बन्द हुँदा खासै असर नपरेको बिकन माध्यमिक विद्यालयका संस्थापक उपाध्यायले बताए। बाँकी दुई महिनामा पनि ‘वर्किङ डे’ ४५ दिन मात्र हुने भएकाले यति दिनमा भएको क्षति ‘कभर’ गर्ने जमर्को गरिरहेको प्रशिअ सिंहले बताए।

‘बिहानी सत्रमा कक्षा सञ्चालन भएदेखि चैत मसान्तसम्म शनिबार दिइने बिदा कटौती गर्दा २० दिनजति ‘कभर’ हुन्छ। त्यस्तै होली, सरस्वती पूजा, माघे संक्रान्तिजस्ता तराईका महत्वपूर्ण पर्वको बिदाबाहेक अन्य सार्वजनिक बिदा कटौती गर्दा थप १२ दिनजति ‘कभर’ हुन्छ। शुक्रबार पनि विद्यालयले ‘फुल पिरियड’ पढाउन थालेका छन्,’ उनले भने। कक्षा १० का विद्यार्थीलाई निःशुल्क कोचिङको व्यवस्थासमेत गरिएको उनले बताए।

वीरगञ्जको मस्कट एकेडेमीमा कक्षा नौमा अध्ययनरत आस्था खनालले भनिन्, ‘हामीलाई चाहिँ कोचिङ अप्सनल गरिएको छ। सरहरूले घरमा बढी पढ्न भन्नुभएको छ। होमवर्क पनि बढी दिने गर्नुभएको छ।’

यस सामग्रीसँग सम्बन्धीत  यो लेख पनि पढ्नुहोस् 

मधेसका किसानः खर्च बढ्यो, आम्दानी घट्यो

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री