सिन्धुपाल्चोकमा सकस

Bhrikuti Rai / सोमबार, माघ ४, २०७२

_MG_8070

सिन्धुपाल्चोक पुग्ने घुमाउरो अरनिको राजमार्गमा काठमाडौंको जति उतर पूर्व लाग्यो बाटा छेउका भत्किएका घर, काठ र माटोका थुप्रा त्यति नै बढ्दै जान्छन्। वैशाख १२ गतेको भूकम्प अघि निकै चहलपहल हुने राजमार्गका केही बजारमा अस्थायी टहरा बनाएर पसल थाप्ने केही परिवार छन् । तर भूकम्पले सबैभन्दा क्षति गरेको सिन्धुपाल्चोक जिल्लाका हजारौं परिवार भूकम्प गएको ९ महिना बितिसक्दा पनि पालमुनि बस्न बाध्य छन्। यस जिल्लाका झन्डै ४,००० मानिस भुइँचालोमा मारिएका थिए।

सिन्धुपाल्चोकका प्रशासकीय अधिकृत भरतप्रसाद आचार्यका अनुसार सिन्धुपाल्चोकमा ८४,६०० परिवारले भूकम्प लगतै प्रति परिवार रु. १५,००० राहत पाए । घर गुमाएर अस्थायी टहरामा बसेका परिवारलाई न्यानो कपडा किन्न सरकारले रु. १०,००० का दरले सहयोग गर्दैछ ।

“पुनर्निर्माण आयोगको गठन भइसकेकोले अब पुनर्निर्माणको काम छिट्टै सुरू हुने आशा छ,” आचार्यले भने।

गत महिना सिन्धुपाल्चोक जिल्लामा जाडोले गर्दा भूकम्प पीडितको ज्यान गएको भन्ने बेहोराका समाचारलाई भने गलत भन्छन् उनी । “समाचार आएलगतै हामीले ती गाविसहरूमा टोली पठाउँदा मृत्यू भएका व्यक्तिहरू दीर्घरोगी रहेको पाइयो । चिसोले कठयाङ्ग्रिएर मृत्यु भएको कुरा गलत साबित भयो,” आचार्यले भने।

बसाइ सराइ

पुनर्निर्माणको महाअभियान यही माघ २ गते काठमाडौंबाट सुरु गरियो। गत महिना मात्र पुनर्निर्माण आयोगको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका सुशील ज्ञवालीले भने, “आगामी एक महिनाभित्र भूकम्पले असर पारेका सबै जिल्लामा सर्वेक्षण गरी घर बनाउने तयारी भइरहेको छ।“

सिन्धुपाल्चोकको केही गाविसका परिवार पुनर्निर्माण नभएपछि आफ्नो घर गाउँ छाडेर अन्त सर्न बाध्य भएका छन्। सदरमुकाम चौताराबाट झन्डै २ घण्टा हिँडेपछि पुगिने सेउली गाविसको डाँडा गाउँका १९ परिवार गत ७ महिना देखि  साइली भन्झायङ्ग अस्थायी टहरा बनाएर  बसिरहेका छन्। वैशाख १२ र २९ गते गएका शक्तिशाली भूकम्पले त्यहाँका घरहरूमात्रै भत्काएनन्, भीर मुनि रहेके सो गाउँमा पहिरोको जोखिम पनि बढाए।

_MG_8022

“भूकम्पले हाम्रो घर लग्यो। पछि पहिरोले खेतबारी र बाटो लग्यो । ज्यान जोगाउन हामी यहाँ आयौं,” ४० वर्षीय सरस्वती चुहानले (तस्विर माथि) भनिन्।

उनले चैतमा मात्र आफ्नो दुई तल्ले ढुड्गे घरमा बनाइसकेकी थिइन् । “झन्डै एक लाख खर्चेर बनाएको घर आँखा अगाडि नै भत्कियो, धन्न हामी चाहिँ बाच्यौं।“  उनको ६ जनाको परिवार छ। उनका लोग्ने चौतारामा ज्याला मज्दुरी गर्छन्।

चुहान परिवार बस्ने टीनको छानो भएको टहरामा दुईवटा खाट, एउटा टेबुल र ढोका छेउमै खाना पकाउने चुलो छ। भत्केको घरबाट आफ्ना केही लुगाफाटा, भाँडाकुँडा र नागरिकताको प्रमाणपत्र जस्ता केही कागजात ल्याए पनि गोठमा भएका जनावर यहाँ ल्याउन सकेनन् । तिनलाई ल्याउन बाटो थिएन । बारम्बार गइरहने पहिरोले डाँडा गाउँको पानीको स्रोत पनि भत्काइदिएको छ। छानाबाट रातभरि

चुहिने शीतले भिजेको भुँइमा टुक्रुक्क बसेर सरस्वतीले भनिन्, “सरकारबाट घर बनाउने ऋण पाइन्छ भन्ने कुरा सुनेकी छु, तर पहिरो गइराख्ने ठाउँमा घर कसरी बनाउने? अरु ठाउँमा घर बनाउन पैसा नपाइने होला। अब हामी कहाँ जाने होला?“

बिचल्लीमा स्वास्थ्य सेवा

भूकम्पले गर्दा सिन्धुपाल्चोकको जिल्ला अस्पतालको भवन बस्न लायक छैन्। नर्वेको रेड क्रसको सहयोगमा जिल्ला अस्पतालले चौताराको टुँडिखेलमा पाल टाँगेर अस्थायी स्वास्थ्य सेवा सुरु गर्‍यो। झन्डै चार महिना त्यसरी सेवा दिएपछि, अहिले जिल्ला अस्पतालको प्राङ्गणमा नै पाल हालिएका छन्।

_MG_7965

जीर्ण अस्पताल भवन छेउमै ठडाइएका पालमध्ये केहीमा बिरामी बस्ने कोठा छन् । केहीमा फिजियोथेरापी सेवाको व्यवस्था छ। भर्खरै बनाइएको एउटा प्रिफ्याब भवनबाट प्रसूति, इमरजेन्सी र बाहिरङ्ग सेवा दिइन्छ ।

बिरामीको चाप पहिले भन्दा केही कम भएपनि, एउटा मात्र ल्याब हुँदा अस्पताल घुम्ती स्वास्थ्य शिविर जस्तो भएको छ । स्रोत, साधन र कर्मचारी थोरै छन्। त्यहाँका चिकित्सकहरूका अनुसार जिल्ला अस्पतालसरहको सेवा दिन कठिन भएको छ ।

“यस्तो जाडोमा बिरामीलाई रातभरि पालमा राख्दा उनीहरूको स्वास्थ्य झन् बिग्रने खतरा हुन्छ। फोहर राम्री थान्को लगाउन नसके त्यसले अरू रोग निम्त्याउने डर पनि छ। तर नयाँ भवन नबनेसम्म अरू उपाय पनि छैन,” जिल्ला अस्पतालका रोशन भगत भन्छन्।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री