मतदातामाथि महाभियोग !

मोहन मैनाली / बुधबार, जेठ १०, २०७४

हालसालै सम्पन्न स्थानीय चुनावमा काठमाडौंको वसन्तपुर मतदान केन्द्र । तस्बिरः विक्रम राई

काठमाडौँ महानगरपालिका र ललितपुर उपमहानगरपालिकाका चुनावी नतिजा आउँदै गर्दा काठमाडौँ र ललितपुर जस्ता ठाउँका मतदाता विवेकहीन हुन् भनी उनीहरूमाथि खनिने क्रम बढेको छ । यस क्रममा दुईवटा घटना उल्लेख गरिएका छन् ।

काठमाडौँका मतदाताले पहिले नानीमैया दाहाललाई जिताएका थिए  ।

काठमाडौँका मतदाताले  पहिले कृष्णप्रसाद भट्टराईलाई हराएका थिए ।

नानीमैयाको जित

नानीमैया दाहाल २०३८ सालमा भएको राष्ट्रिय पञ्यात अर्थात त्यतिबेलाको विधायिकाको निर्वाचनमा विजयी भएकी थिइन् । २०३८ साल जेठ २ गतेको गोरखापत्र दैनिकका अनुसार, उनले ६५,७७७ मत ल्याएकी थिइन् । त्यस निर्वाचनमा नानीमैयासँगै विजयी भएका जोगमेहर श्रेष्ठले २९,७४१ मत पाएका थिए । (त्यतिबेला जिल्लाभरको एउटा निर्वाचन क्षेत्र हुनेगर्थ्यो र काठमाडौँ लगायतका ठूला जिल्लाबाट सबैभन्दा बढी मत ल्याउने दुईजना उमेदवार निर्वाचित हुने गर्थे ।)

नानीमैया दाहाल विधायक हुनका लागि कुनै पनि दृष्टिले अयोग्य थिइन, पञ्चायत पक्ष वा त्यसको विरोधी पक्षको राजनीति तथा सामाजिक क्षेत्र कतै पनि उनको केही पनि योगदान थिएन भन्ने आम जनविश्वास थियो ।

अहिले केही राजनीतिक नेता तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले सामाजिक सञ्जाल तथा परम्परागत आम सञ्चारमाध्यममा भनेका छन्- काठमाडौँका मतदाताको मूल चरित्र नानीमैया जस्ता अयोग्य, कहीँ कतै कुनै योगदान नभएका मान्छेलाई भोट हाल्ने हो । हालै सकिएको काठमाडौँ तथा ललितपुरको स्थानीय निकायको निर्वाचनमा पनि उनीहरूले यस्तै चरित्र देखाए ।

काठमाडौँका मतदाताले नानीमैयालाई त्यतिबेला किन जिताए भन्ने बुझ्न त्यतिबेलाको राजनीतिक परिस्थिति बुझ्नुपर्छ ।

२०३७ साल वैशाखमा भएको जनमत संग्रहमा पञ्चायती व्यवस्थाले जितेपछि बहुदलीय व्यवस्था समर्थकहरूमा पञ्चायती व्यवस्थाप्रति चरम घृणा फैलिएको थियो । यो  घृणा व्यक्त गर्न पाउने गरी दलका राजनीतिक गतिविधि थिएनन् । जनमत संग्रह भएको एक वर्षपछि भएको राष्ट्रिय पञ्चायतको चुनावमा नानीमैया दाहाल उठेपछि उनीहरूले त्यसलाई पञ्चायत व्यवस्थाप्रति आफ्नो असन्तोष जनाउने महत्त्वपूर्ण अवसरका रूपमा लिएका थिए । यसमार्फत् उनीहरूले पञ्चायती व्यवस्था नेपाली जनतामाथि शासन गर्न लायक छैन भन्ने सन्देश दिएका थिए ।

नानीमैयालाई जिताउने यी मतदाता तिनै मतदाता हुन् जसले एक वर्ष पहिले जनमत संग्रह हुँदा बहुदललाई जिताएका थिए । २०३७ साल जेठ ३ गतेको गोरखापत्र दैनिकका अनुसार काठमाडौँका मतदाताले बहुदललाई पञ्चायतलाई भन्दा २३ प्रतिशत बढी मत दिएका थिए ।

कृष्णप्रसाद भट्टराईको हार

२०४७ सालमा बहुदलीय व्यवस्था आएपछि काठमाडौँको १ नम्बर क्षेत्रका मतदाताले कृष्णप्रसाद भट्टराईलाई दुई पटक हराएः २०४८ साल वैशाखमा भएको आमनिर्वाचनमा र २०५० साल माघमा भएको उपनिर्वाचनमा ।

२०४८ साल

२०४८ सालको निर्वाचनमा मतदाताले कृष्णप्रसाद भट्टराईलाई नेकपा एमालेका मदन भण्डारीलाई भन्दा ७४३ कम मत दिएर हराएका थिए । कृष्णप्रसाद भट्टराई २०४८ सालको चुनाव गराउने अन्तरिम सरकारका प्रधानमन्त्री थिए । कठिन परिस्थितिमा पनि उनले २०४७ सालको संविधान जारी गराउने लगायतका राम्रा काम गरेका थिए ।

उनका प्रतिद्वन्द्वी मदन भण्डारी चुनावका दृष्टिले भट्टराईभन्दा धेरै कम थिएनन् । उनी मतदातालाई आकर्षित गर्न सक्ने भाषण गर्थे । उनका पछाडि नेकपा (एमाले) को प्रभावशाली संगठन थियो । त्यतिबेलासम्म अस्थायी मतदाताले पनि भोट हाल्न पाउने व्यवस्था थियो । मदन भण्डारीले यी सबै अवस्थाको फाइदा उठाएर चुनाव जित्दा काठमाडौँका जनतालाई गाली गर्न मिल्छ र ?

२०५० साल

नेकपा एमालेका महासचिव मदन भण्डारी दासढुंगामा मारिएपछि काठमाडौँ क्षेत्र नम्बर १ मा २०५० साल माघमा उपनिर्वाचन भयो । त्यस निर्वाचनमा नेपाली कांग्रेसका कृष्णप्रसाद भट्टराई र नेकपा (एमाले) का विद्या भण्डारी उठेका थिए । २०५० साल माघ २७ गतेको गोरखापत्र दैनिकका अनुसार, विद्या भण्डारीले कृष्णप्रसादले भन्दा १८२९ बढी मत ल्याएकी थिइन ।

विद्या भण्डारी स्वर्गीय मदन भण्डारीकी श्रीमती मात्र होइन एमालेमा काम गरेकी मानिस थिइन् । त्यसमाथि मदन भण्डारी दासढुंगामा रहस्यमय ढंगले मारिएको सहानुभूति उनीप्रति थियो । तर यतिका आधारमा मतदाताले कृष्णप्रसादलाई हराएका थिएनन् । खासमा यस पटक किसुनजीलाई मतदाताले होइन उनको आफ्नै पार्टी नेपाली कांग्रेसले हराएको थियो ।

कसरी ?

सो चुनावमा मतदान हुनुभन्दा एक हप्ता पहिले नेपाली कांग्रेसका प्रभावशाली नेता तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले निकै लामो वक्तव्य निकालेर भनेः “…हठात किसुनजी आफू उमेदवार हुन अनिच्छुक भएको भन्दाभन्दै पनि अरू नै कसैको आकांक्षाको उमेदवार झैँ भएर उपनिर्वाचनमा लड्ने निर्णय भयो । मैले प्रारम्भमै किशुनजीले उपनिर्वाचनमा लड्नु सामयिक भएन, यसले सरकार, पार्टी, हामी सबैलाई अत्यन्त कठिन परिस्थितिमा पुर्‍याउँछ भनेर असहमति व्यक्त गरेँ ।”

(यो वक्तव्यको पूर्ण पाठ २०५० साल माघ १८ गतेको गोरखापत्र दैनिक र आंशिक पाठ सोही दिनको कान्तिपुर दैनिकमा छापिएको छ ।)

सबैभन्दा ठूलो दलका सबैभन्दा प्रभावशाली नेता तथा प्रधानमन्त्रीका दृष्टिमा “अनिच्छुक” उमेदवारलाई भोट नदिने, जसको उमेदवारी “असमायिक” थियो तथा जसको उमेदवारीले “सरकार, पार्टी र हामीलाई अत्यन्त कठिन परिस्थितिमा पुर्‍याउँछ” उसलाई मत नदिने मतदाता त प्रवुद्ध पो हुन् ।

यो निर्वाचनपछि २०५० साल फागुन १ गतेको कान्तिपुर दैनिकमा पत्रकार किशोर नेपालले लेखेः “संसद्‍मा कृष्णप्रसाद भट्टराईको प्रवेशलाई नै आफ्नो पतनको प्रारम्भ मान्ने नेपाली कांग्रेस भित्रका विविध प्रवृत्तिहरूको सँयुक्त प्रयास नभएको भए काठमाडौँ क्षेत्र नम्बर १ को निर्वाचन परिणाम नेपाली कांग्रेसको विरुद्ध जाने थिएन भन्ने कुरा अब छर्लङ्ग भइसकेको छ ।”

२०५० माघ २९ गते कान्तिपुर दैनिकमा प्रकाशित समाचार अनुसार यो निर्वाचन परिणाम आएपछि कांग्रेसका ५६ जनाभन्दा बढी सांसदले कृष्णप्रसाद हार्नुको कारण “अन्तरघात” ठहर गर्दै त्यसप्रति “गम्भीर खेद” व्यक्त गरे ।

नेपाली कांग्रेसको काठमाडौँ जिल्ला समितिले चुनावमा अन्तरघात गरेको भनी आफ्ना केही कार्यकर्तालाई निलम्बन गर्‍यो । नेपाली कांग्रेस र नेवि संघका कार्यकर्ताले प्रधानमन्त्री विरूद्ध एक हप्ताभन्दा बढी समयसम्म विरोध प्रदर्शन गरे ।

यी सबै प्रमाणका आधारमा के भन्न सकिन्छ भने काठमाडौँका मतदातालाई यी माथिका आधारमा मतदाता हुन अयोग्य भनी भन्नु उचित होइन । यसो भन्नेहरूका लागि गालिबले यस्तो लेखिदिएका थिएः

उमर भर ग़ालिब यही भूल करता रहा

धूल चहेरे पे थी और आइना साफ करता रहा

अर्थात,

जीवनभर गालिब एउटा भूल गरि बसे

धुलो अनुहारमा थियो, ऐना सफा गरि बसे

 

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री