अकालमा काल

मोहन मैनाली / बुधबार, साउन ४, २०७४

२०७४ साल असारमा काठमाडौँमा एकजना बालिका सडकमा आएको बाढीमा डुबेर मरिन् । यस बारेमा ठूलो समाचार बन्यो । बालबालिकालाई डुबाउन सक्ने खालका खाल्डाखुल्डी पुर्न प्रधानमन्त्रीले निर्देशन दिएको खबर आयो ।

२०७४ वैशाखदेखि असारसम्मका तीन महिनामा सिरहा, सप्तरी, सुनसरी र मोरङ जिल्लामा १५ जना बालबालिका डुबेर मरे । कोही बाटो बनाउन खनेको खाल्डोमा, कोही कलको पानी जमेको ठाउँमा,  कोही पोखरीमा  र कोही पानी जमेको खाल्डोमा डुबेर मरे ।

यी तीन महिनामा पूर्वाञ्चलमा मात्र ५६ जना बालबालिका अकालमा मरे- बगेर, करेन्ट लागेर, गाडी दुर्घटना भएर, किचिएर, डुबेर, आगो तथा तातो तेलमा पिल्सिएर, पहिरोमा किचिएर, आफ्नै जन्मदातासमेतबाट मारिएर ।

तिनका बारेमा हल्लीखल्ली हुने गरी समाचार आएन । बालबालिकालाई अकालमै मार्ने यस्ता समस्याबारे प्रधानमन्त्रीले थाहा पाएनन् । त्यसैले ती समस्याको समाधान गर्न प्रधानमन्त्रीको आदेश आएन ।

यसरी मर्ने केही बालबालिकाको मरणको प्रकृति सुन्दा कहाली लाग्छ । ०७४ असार ८ गते सोलुखुम्बूमा स्कूलबाट घर फर्कँदा खहरे खोलाले बगाएर दुईजना बालबालिका मरे । दुईजना घाइते भए।

भेल आएका बेला खहरे खोला तर्न खोज्नु हुँदैन भन्ने ज्ञान बालबालिकालाई थाहा नहुनु स्वभाविकै हो । तर भेल आएका बेलामा बालबालिकालाई खोलामा जान कसैले रोकेनछन् ।

अकालमा मर्नेमा बालबालिका मात्र छैनन् । ठूला पनि छन् । ती तीन महिनामा पूर्वाञ्चलमा बालबालिका र ठूला गरी २२२ जना मानिस अकालमा -त्यसमाथि धेरै हदसम्म रोक्न सकिने अकालमा- मरे । रोक्न गाह्रो हुने, कसरी रोक्ने भन्ने थाहा नभएका अकाल (जस्तै चट्याङ जसले तीन महिनामा पूर्वाञ्चलमा मात्र १३ जनाको ज्यान लिएको थियो र प्रहरीको गोली) बाट मर्नेलाई यहाँ राखिएको छैन ।

पूर्वाञ्चलका विभिन्न जिल्लामा २०७४ वैशाखदेखि असारसम्म भएका अकाल मृत्यू (जिल्लाका आधारमा)

स्रोतः नेपाल प्रहरी पूर्वाञ्चल क्षेत्रीय कार्यालयको वेबसाइटमा प्रकाशित २०७४ वैशाखदेखि असारसम्मका समाचार

सबैभन्दा ठूलो ज्यानमारा गाडी दुर्घटना रहेछ जसले ७९ जना मानिस मारेको थियो । दोस्रो ठूलो ज्यानमारा करेन्ट थियो । ती तीन महिनामा पूर्वाञ्चलमा ३६ जना मानिस करेन्ट लागेर मरेका थिए । कोही लुगा सुकाउने हुँदा करेन्ट लाग्दा, कोही कम्पयुटर प्रिन्टर चलाउँदा, कोही चार्ज गरिराखेको मोबाइल चलाउँदा र धेरै विजुलीबाट चल्ने पानी तान्ने पम्पसेटबाट चुहिएको करेन्ट लागेर ।

पूर्वाञ्चलका विभिन्न जिल्लामा २०७४ वैशाखदेखि असारसम्म भएका अकाल मृत्यू (कारणका आधारमा)

स्रोतः नेपाल प्रहरी पूर्वाञ्चल क्षेत्रीय कार्यालयको वेबसाइटमा प्रकाशित २०७४ वैशाखदेखि असारसम्मका समाचार

अकालमा मर्ने समस्या कति गम्भीर रहेछ भने धेरै मानिस मरेको फेला पर्दाका बखत के कारणले मरे भन्ने पनि कसैलाई थाहा नहुने रहेछ । सत्ताइस जना मानिस यसरी मरेछन् ।

सामान्य उपाय अपनाउँदा लेक लागेर मानिस मर्दैन तर लेक लागेर पनि मानिस मरेछन् । धान गहुँ कुटाउन मिलमा जाँदा मानिस नमर्नु पर्ने हो तर मिलको फितामा बेरिएर पनि मानिस पनि मरेछन् । मानिसले मानिसलाई नमार्नु पर्ने हो । तर १२ जना मानिसलाई आफू जस्तै मानिसले मारेका रहेछन् ।

सबैभन्दा बढी मानिस अकालमा मर्ने जिल्ला मोरङ रहेछ जहाँ ४१ जना मानिस मारिएका थिए । त्यसपछि सिरहा (३६ जना) र सप्तरी (३० जना) आउँदा रहेछन् ।

अकालमा मानिस मर्ने चलनलाई हाम्रो समाजले त्यति गम्भीर मान्दैन जस्तो देखिन्छ । यससम्बन्धी सूचना सबैले सजिलै हेर्न मिल्ने गरी प्रकाशित गर्न पनि अल्छी मानिँदो रहेछ । यो समाचार तयार गर्ने क्रममा नेपाल प्रहरीका पाँचवटै विकास क्षेत्रका वेबसाइटमा राखिएका जानकारी हेरिएको थियो तर पूर्वाञ्चलबाहेक अन्य क्षेत्रका प्रहरी कार्यालयका वेबसाइटमा हेर्न मिल्ने गरी यस्ता जानकारी राखेको थिएन ।

कहिले काहिँ भने यस्ता जानकारी र तिनका आधारमा नेपालमा पल्किएको अकालबारे विश्लेषण हुने गर्छन् । यहाँ मैले यही विषयमा केही वर्ष पहिले मैले खोज पत्रकारिताः के किन र कसरी नामक किताबको भूमिकामा लेखेका केही अनुचेछ्द उद्धृत गरेको छु ।

  • “केही वर्ष पहिले नेपाली डाक्टरहरूले धेरै नेपाली अकालमा मरिरहेको देखेछन् । यस्तो अवस्था देखेर उनीहरू झस्किएछन् । उनीहरूले यसलाई कति गम्भीर समस्या ठानेका रहेछन् भने उनीहरूको संस्था नेपाल मेडिकल एसोसिएसनले निकाल्ने पत्रिका ‘जर्नल अफ नेपाल मेडिकल एसोसिएसन’ को २००८ अप्रिल–जुनको सम्पादकीय यसै विषयमा केन्द्रित थियो ।
  • “उनीहरूलाई यस्तो लाग्नुको आधार त्रिभूवन विश्वविद्यालय, शिक्षण अस्पतालको फरेन्सिक विभागको तथ्यांक रहेछ । २०६५ सालको वैशाखदेखि असारसम्मका तीन महिनामा प्रहरीले लाशजाँचका लागि ३०० वटा लाश त्यहाँ पुर्‍याएको रहेछ । तीमध्ये ५७ जना मानिस मृत फेला परेका थिए, ४७ जना गाडी दुर्घटना भएर मरेका थिए भने ८८ जनाले आफैँले आफूलाई मारेका थिए । डढेर र पानीमा डुबेर ३८ जना मानिसको ज्यान गएको थियो । कोही अचानक मरेका थिए, कोही अग्लो ठाउँबाट खसेर मरेका थिए । कोही उपचारका क्रममा मरेका थिए । कोही कुटपिटबाट मरेका थिए । कोही विजुलीको करेन्ट लागेर मरेका थिए । कोही धेरै अघि कुनै कारणले मरेर उनीहरुको कंकाल फेला परेको थियो ।
  • “सामान्यतया, काल आएर मरेका मानिसहरुका लाश त्यहाँ लगिँदैन । यसका आधारमा हेर्ने हो भने काठमाडौँमा एक महिनामा एक सयजना अर्थात एक वर्षमा बाह सय मानिसह अकालमा मर्ने गर्छन् ।
  • “जर्नल अफ नेपाल मेडिकल एसोसिएसनको सम्पादकीयमा लेखिएको छ, गाडी दुर्घटनाबाट हुने अधिकांश मृत्यूको कारण ट्राफिक नियमको अवज्ञा हो । अर्थात् नियमको पालना गरेका खण्डमा यसबाट यति धेरै मानिस मर्नु पर्दैन । आत्महत्या गर्न खोज्ने सम्भावना भएका विरामीहरूले बेलैमा उपचार पाउने हो भने पनि आत्महत्या गर्नेको मात्रा घट्छ । ठूला अस्पतालहरूमा विष खाएर आएका मानिसको राम्रो उपचारको व्यवस्था गर्ने हो भने निकै मानिसलाई बचाउन सकिन्छ ।
  • “समाज शिक्षित भएमा, स्वास्थ्यप्रति सचेत भएमा र काम गर्दा आइपर्ने खतराप्रति सचेत भएका खण्डमा डढेर, पानीमा डुबेर, अग्लो ठाउँबाट खसेर र करेन्ट लागेर मर्ने धेरै मानिसको ज्यान जोगिन्छ भनी सो सम्पादकीयले भनेको छ ।
  • “डाक्टरहरूलाई के पनि लागेछ भने यस विषयमा मानिसमा चेतना फैलाएका खण्डमा यसरी मर्नेमध्ये धेरै जनाको ज्यान बचाउन सकिन्छ । त्यसैले सो सम्पादकीयमा यस विषयमा कसरी काम गर्न सक्छौँ भनी सोचविचार गर्न डाक्टरहरूलाई अनुरोध गरिएको थियो ।”

तर यस्तो गम्भीर कुरालाई उठाउनेले पनि बारम्बार उठाउँदो रहेनछ । यस्तो कुरा थाहा पाएपछि अरूले यस्ता कुरा उठाउँदा रहेनछन् । उठाउन खोज्नेलाई पनि असहयोग गरिँदो रहेछ ।

एउटा उदाहरण,  नेपाल मेडिकल एशोसिएशनको जर्नलमा उल्लेख गरिएको अवस्था कति फेरिएछ भनी साउथ एशिया चेकले दुई वर्षपहिले प्रयास गरेको थियो । यसका लागि त्यस जर्नलमा देखाइएको चित्र कति फेरिएछ भनी तुलना गर्ने जानकारी लिन खोजिएको थियो ।तर त्रिभुवन विश्विद्यालय, शिक्षण अस्पतालको फरेन्सिक विभागले हामीलाई त्यो जानकारी दिएनन् । ती जानकारी हामीले लिन खोज्नुलाई त्यहाँका डाक्टरहरूले अपराध झैँ ठाने ।

त्यसैले अकालको काल पल्केर धेरै नेपालीलाई अकालमा मारिरहेछ । तर हाम्रा प्रधानमन्त्रीले अकालमा नेपालीलाई मार्ने (काठमाडौँका खाल्डा जस्तै) कारण १५ दिनभित्रमा पुर्नु भन्ने आदेश दिने दिन भने अझै आइसकेको रहेनछ ।

(यसमा उपयोग भएका २०७४ साल वैशाखदेखि असारसम्मका अकाल मृत्यूसम्बन्धी तथ्यांक नेपाल प्रहरीको पूर्वाञ्चल क्षेत्रीय कार्यालयको वेबसाइटमा राखिएका यी तीन महिनाका समाचारबाट निकालिएका हुन् ।)       

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री