समाचारमा नाम नखुलेका स्रोतको अनावश्यक उपयोग (अप्रिल-जुन २०१८)

साउथ एशिया चेक / बुधबार, भाद्र २०, २०७५

सन् २०१८ को जनवरी १ देखि मार्च ३१ सम्ममा काठमाडौँबाट प्रकाशित हुने छ वटा प्रमुख पत्रिकामध्ये नाम नखुलेका स्रोतलाई उद्धृत गरेर समाचार छाप्ने मामलामा कान्तिपुर दैनिक सबैभन्दा अगाडि रह्यो । उसले १०५ ठाउँमा त्यस्ता स्रोत उद्धृत गरेको थियो ।

साउथ एशिया चेकले कान्तिपुर, अन्नपूर्ण पोस्ट्, नागरिक, रिपब्लिका, द काठमाडौं पोस्ट् र द हिमालयन टाइम्सका पहिलो पेजमा प्रकाशित समाचारको अध्ययन गर्ने गरेको छ ।

कान्तिपुरपछि नाम नखुलेका स्रोत बढी उद्धृत गरेर समाचार बनाउनेमा क्रमशः नागरिक, रिपब्लिका र द काठमाडौँ पोस्ट छन् । यस अवधिमा नाम नखुलेका स्रोत सबैभन्दा कम उद्धृत गर्ने समाचारपत्र अन्नपूर्ण पोस्ट् हो । यसले ५५ ठाउँमा नाम नखुलेका स्रोत उद्धृत गरेको छ ।

यस अवधिमा ती पत्रिकाका प्रथम पृष्ठका समाचारमा ६५३ ठाउँमा त्यस्ता स्रोत उद्धृत गरिएका थिए।

सबै पत्रिकाले राजनीतिलाई बढी प्राथमिकता दिएर पहिलो पृष्ठमा राजनीतिसम्बन्धी समाचार बढी छापेका थिए । राजनीतिसम्बन्धी समाचारमा नाम नखुलेका स्रोतलाई सबैभन्दा बढी (१५० ठाउँमा) उद्धृत गरिएको थियो । रिपब्लिका र द हिमालयन टाइम्समा प्रकाशित राजनीतिसम्बन्धी समाचारमा त्यस्ता स्रोतलाई सबैभन्दा बढी (क्रमशः ३९ र ३२ ठाउँमा) उद्धृत गरिएको थियो ।

राजनीतिपछि कुटनीतिसम्बन्धी समाचारमा त्यस्ता स्रोतलाई बढी (१४३ ठाउँमा) उद्धृत गरिएको थियो । त्यस्ता समाचारमा परिचय नखुलेका स्रोत बढी उद्धृत गर्ने मामलामा द काठमाडौँ पोस्टले सबैलाई उछिनेको थियो ।

समाचारमा नाम नखुलेका स्रोतको उपयोग गर्नै हुँदैन भन्ने छैन । नेपाल प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचारसंहिता, २०७३ को बुँदा नं ८(१) मा भनिएको छ, ‘समाचारको विश्वसनीयताका लागि स्रोत उल्लेख गर्नुपर्दछ । तर, त्यसरी उल्लेख गर्दा स्रोतलाई गम्भीर क्षति हुने देखिएमा स्रोतको नाम वा पहिचान गोप्य राखी संरक्षण गर्नुपर्दछ ।’

स्रोत र रिपोर्टरको सुरक्षाका लागि स्रोतको नाम/परिचय नखुलाउने चलन पत्रकारितामा छ । तर यस अवधिमा प्रकाशित कतिपय समाचारमा आवश्यक नभएका ठाउँमा पनि स्रोतलाई गोप्य राखिएको छ ।

उदाहरणका लागि, अंग्रेजी भाषामा प्रकाशित हुने एउटा दैनिक पत्रिकामा प्रकाशित ‘सुरक्षा कारण देखाउँदै स्विस पाइलटको लाइसेन्स रद्ध’ शीर्षकको समाचारमा भनिएको छ–

“एक स्रोतका अनुसार सिगेसनम्यान [पाइलट जुङ्ग सिगेसनम्यान]ले मनाङ एयरको सिफारिसमा गत मार्चमा नागरिक उड्डयन प्राधिकरण, नेपालबाट लाइसेन्स लिएका थिए र उनले मनाङ एयरको हेलिकोप्टर उडाउँदै आएका थिए । काठमाडौँबाट गुल्मीको रेसुङ्गातर्फ हेलिकोप्टर उडाउने क्रममा उनले सुरक्षा नियम मिचेका हुन् ।”

“वातावरण बिग्रिएको थियो । प्रशिक्षक पाइलटले जाहाजलाई बादलको निक्कै भित्रसम्म लगेको भन्दै उजुरी परेपछि अनुसन्धान अरम्भ गरिएको थियो,” नागरिक उड्डयन प्राधिकरण, नेपालमा आवद्ध एउटा स्रोतले भन्यो ।

“बादलभित्र नछिराइकन हेलिकोप्टर उडाउनुपर्ने हुन्छ । सुरक्षासम्बन्धी नियममा यसो गर्नु अनिवार्य छ,” नागरिक उड्डयन प्राधिकरण, नेपालका एक वरिठ अधिकारीले भने ।

त्यस्तै अंग्रेजी भाषामा प्रकाशित हुने अर्को एउटा दैनिक पत्रिकामा प्रकाशित ‘सरकारले विदेशीको अनुगमन गर्ने’ शीर्षकको समाचारमा भनिएको छ–

“अपराध नियन्त्रण सुचना संयन्त्रले विदेशीहरुबारे विस्तृत सुचना संकलन गर्ने अध्यगमन विभागका एक सुरक्षा अधिकारीले बताए ।”

यहाँ स्रोतको पहिचान खुल्दा उसमाथि गम्भीर क्षति हुने देखिँदैन ।

अनावश्यक ठाउँमा नाम विनाका स्रोत उपयोग गर्दा उसले दिएका जानकारीका साथै पत्रिकाप्रति पाठकको विश्वास गुम्छ ।

यस विषयमा साउथ एशिया चेकले संकलन गरेको तथ्यांक डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री