समाचारमा नाम नखुलेका स्रोतको प्रयोग (जनवरी – मार्च २०१९)

साउथ एशिया चेक / बिहीबार, बैशाख १२, २०७६

सन् २०१९ जनवरी १ देखि मार्च ३१ सम्म काठमाडौंबाट प्रकाशित हुने ६ वटा दैनिक पत्रिकामध्ये नाम नखुलेको स्रोतलाई उद्धृत गरेर प्रथम पृष्ठमा समाचार छाप्ने मामलामा द काठमाण्डौं पोस्ट् सबैभन्दा अगाडि रह्यो । उसले ३१८ ठाउँमा त्यस्ता स्रोत उद्धृत गरेको थियो ।

साउथ एसिया चेकले कान्तिपुर, अन्नपूर्ण पोस्ट्, नागरिक, रिपब्लिका, द काठमाण्डौं पोस्ट् र द हिमालयन टाइम्सका पहिलो पेजमा प्रकाशित समाचारको अध्ययन गर्ने गरेको छ ।

द काठमाण्डौं पोस्ट्पछि नाम नखुलेको स्रोत बढी उद्धृत गरेर समाचार बनाउनेमा क्रमशः कान्तिपुर, अन्नपूर्ण पोस्ट् र नागरिक छन् । यस अवधिमा स्रोत नखुलेको सबैभन्दा कम उद्धृत गर्ने (हामीले अध्ययन गरेकामध्ये) द हिमालयन टाइम्स हो । यसले ९० ठाउँमा नाम नखुलेको स्रोत उद्धृत गरेको छ ।

यस अवधिमा ६ वटा पत्रिकाका प्रथम पृष्ठमा प्रकाशित समाचारमा १,१४२ ठाउँमा त्यस्ता स्रोत उद्धृत गरिएका थिए ।

सबै पत्रिकाले पहिलो पृष्ठमा राजनीति सम्बन्धि समाचार बढी छापेका थिए । भ्रष्टाचार सम्बन्धि समाचारमा नाम नखुलेको स्रोतलाई सबैभन्दा बढी (४६२ ठाउँमा) उद्धृत गरिएको थियो । कान्तिपुर र अन्नपूर्ण पोस्ट्मा प्रकाशित भ्रष्टाचार सम्बन्धि समाचारमा त्यस्ता स्रोतलाई सबैभन्दा बढी (क्रमशः १६५ र ११३ ठाउँमा) उद्धृत गरिएको थियो ।

भ्रष्टाचारपछि सुरक्षा सम्बन्धि समाचारमा त्यस्तो स्रोत बढी (१३९ ठाउँमा) उद्धृत गरिएको थियो । यस विषयका समाचारमा परिचय नखुलेको स्रोत बढी उल्लेख गर्ने मामलामा नागरिकले सबैलाई उछिनेको थियो ।

समाचारमा नाम नखुलेको स्रोत उपयोग गर्नै हुँदैन भन्ने छैन । नेपाल प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचारसहिंता, २०७३ को बुँदा नं ८(१) मा भनिएको छ, ‘समाचारको विश्वसनीयताका लागि स्रोत उल्लेख गर्नुपर्दछ । तर, त्यसरी उल्लेख गर्दा स्रोतलाई गम्भीर क्षति हुने देखिएमा स्रोतको नाम वा पहिचान गोप्य राखी संरक्षण गर्नुपर्दछ ।’

स्रोत र रिपोर्टरको सुरक्षाका लागि स्रोतको नाम/परिचय नखुलाउने चलन पत्रकारितामा छ । तर यस अवधिमा प्रकाशित कतिपय समाचारमा आवश्यक नभएका ठाउँमा पनि स्रोतलाई गोप्य राखिएको छ ।

उदाहरणका लागि, नेपाली भाषामा प्रकाशित हुने एउटा दैनिक पत्रिकामा प्रकाशित ‘हिउँमै खुले स्कुल’ शीर्षकको समाचारमा भनिएको छ –

‘अहिले नै विद्यालय खोलेर माथिल्लो क्षेत्रमा सकिँदैन । दिनदिनै हिमपात भइरहेको छ । विद्यार्थी हिँड्ने बाटा छैनन् । स्कुलैभरि हिँउ छ । छानाभरि हिँउ छ,’ एक शिक्षकले भने ।

त्यस्तै ‘बाह्र वर्षमै आमा !’ शीर्षकको समाचारमा लेखिएको छ –

‘यति सानो उमेरमा बच्चा जन्माएको देखेर हामीलाई आश्चर्य लाग्यो । अहिले आगन्तुकहरु आउन थालेपछि क्याबिनमा लैजान अप्ठ्यारो भएको छ,’ एक नर्सले भनिन् ।

अर्को एक नेपाली दैनिक पत्रिकाको ‘सरकार अडानमै शीर्षकको समाचारमा भनिएको छ –

आईसीयूमा बस्दा सर्वसाधारण उपचार पाउनबाट बञ्चित हुने अवस्था आउने भन्दै उनले वार्डमा सार्न आग्रह गरेका थिए । उनको स्वास्थ्य अवस्था चिन्ताजनक भने नरहेको उपचारमा संलग्न एक चिकित्सकले बताए ।

त्यही दैनिक पत्रिकाको ‘जन्तीबसमा करेन्ट’ शीर्षकको समाचारमा भनिएको छ –

एकजना प्रत्यक्षदर्शीले भने,’अघिल्लो बस निस्केपछि पछिल्लोमा अचानक करेन्ट लागेपछि बसबाट जन्तीहरु हाम्फालेको देखियो ।’

‘अब छैन सास्ती’ शीर्षकको अर्को समाचारमा लेखिएको छ –

कार्यालयभित्र ३ जना प्रहरी खटिएका थिए । एक प्रहरीले भने , ‘करिब ४ सय जनाले दैनिक सेवा लिइरहेका छन् ।’

‘अधिकारीसहित ६ को अन्त्येष्टि’ शीर्षकको समाचारमा पनि स्रोत खुलाउँदा हुने ठाउँमा पनि स्रोत खुलाइएको छैन । यसमा भनिएको छ – अधिकारीको काजक्रिया सात दिनमा सम्पन्न गरिने पारिवारिक स्रोतले बताएको छ ।

यहाँ उल्लेख गरिएका समाचारमा स्रोतको पहिचान खुल्दा स्रोत तथा रिपोर्टरलाई कुनै किसिमको क्षति हुने देखिँदैन ।

अनावश्यक ठाउँमा नाम विनाका स्रोत उपयोग गर्दा उसले दिएका जानकारीका साथै पत्रिकाप्रति पाठकको विश्वास गुम्छ ।

यस विषयमा साउथ एशिया चेकले संकलन गरेको तथ्यांक डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री