समाचारमा नाम नखुलेका स्रोतको प्रयोग (अप्रिल-जुन, २०१९)

साउथ एशिया चेक / सोमबार, आषाढ २३, २०७६

 

सन् २०१९ अप्रिल १ देखि जुन ३० सम्म काठमाडौंबाट प्रकाशित हुने ६ वटा दैनिक पत्रिकामध्ये नाम नखुलेको स्रोतलाई उद्धृत गरेर प्रथम पृष्ठमा समाचार छाप्ने मामलामा कान्तिपुर सबैभन्दा अगाडि रह्यो । उसले २४५ ठाउँमा त्यस्ता स्रोत उद्धृत गरेको थियो ।

साउथ एसिया चेकले कान्तिपुर, अन्नपूर्ण पोस्ट्, नागरिक, रिपब्लिका, द काठमाण्डौं पोस्ट् र द हिमालयन टाइम्सका पहिलो पेजमा प्रकाशित समाचारको अध्ययन गर्ने गरेको छ ।

कान्तिपुरपछि नाम नखुलेको स्रोत बढी उद्धृत गरेर समाचार बनाउनेमा क्रमशः द काठमाण्डौं पोस्ट, अन्नपूर्ण पोस्ट् र नागरिक छन् । यस अवधिमा स्रोत नखुलेको सबैभन्दा कम उद्धृत गर्ने (हामीले अध्ययन गरेकामध्ये) द हिमालयन टाइम्स हो । यसले ४६ ठाउँमा नाम नखुलेको स्रोत उद्धृत गरेको छ ।

यस अवधिमा ६ वटा पत्रिकाका प्रथम पृष्ठमा प्रकाशित समाचारमा ९५५ ठाउँमा त्यस्ता स्रोत उद्धृत गरिएका थिए ।
सबै पत्रिकाले पहिलो पृष्ठमा राजनीति सम्बन्धि समाचार बढी छापेका थिए । भ्रष्टाचार सम्बन्धि समाचारमा नाम नखुलेको स्रोतलाई सबैभन्दा बढी (३७३ ठाउँमा) उद्धृत गरिएको थियो । कान्तिपुर र अन्नपूर्ण पोस्ट्मा प्रकाशित भ्रष्टाचार सम्बन्धि समाचारमा त्यस्ता स्रोतलाई सबैभन्दा बढी (क्रमशः १५९ र ८७ ठाउँमा) उद्धृत गरिएको थियो ।

भ्रष्टाचारपछि राजनीति सम्बन्धि समाचारमा त्यस्तो स्रोत बढी (१२१ ठाउँमा) उद्धृत गरिएको थियो । यस विषयका समाचारमा परिचय नखुलेको स्रोत बढी उल्लेख गर्ने मामलामा नागरिकले सबैलाई उछिनेको थियो ।

समाचारमा नाम नखुलेको स्रोत उपयोग गर्नै हुँदैन भन्ने छैन । नेपाल प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचारसहिंता, २०७३ को बुँदा नं ८(१) मा भनिएको छ, ‘समाचारको विश्वसनीयताका लागि स्रोत उल्लेख गर्नुपर्दछ । तर, त्यसरी उल्लेख गर्दा स्रोतलाई गम्भीर क्षति हुने देखिएमा स्रोतको नाम वा पहिचान गोप्य राखी संरक्षण गर्नुपर्दछ ।’

स्रोत र रिपोर्टरको सुरक्षाका लागि स्रोतको नाम/परिचय नखुलाउने चलन पत्रकारितामा छ । तर यस अवधिमा प्रकाशित कतिपय समाचारमा आवश्यक नभएका ठाउँमा पनि स्रोतलाई गोप्य राखिएको छ ।

उदाहरणका लागि, नेपाली भाषामा प्रकाशित हुने एउटा दैनिक पत्रिकामा प्रकाशित ‘हराभरा हुँदै बाँके-बर्दिया’ शीर्षकको समाचारमा भनिएको छ–

‘तीन दशकदेखि निमार्ण सुरु भइरहेको नहरबाट पानी आउने भएपछि किसान खुसी भएका छन्’, एक स्थानीयले भने, ‘बबई सिँचाइले पनि जग्गा अधिग्रहण र भौतिक निमार्ण कार्य धमाधम गरिरहेको छ।’

अर्को एक नेपाली दैनिक पत्रिकाको ‘सालिकसँग सेल्फी’ शीर्षकको समाचारमा भनिएको छ –

शुक्रबार नेकपाका कार्यकर्ता सालिकलाई पृष्ठभूमिमा राखेर तस्बिर कैद गर्न व्यस्त थिए । एक कार्यकर्ताले भने, ‘जीवित छँदा भेट्न पाएनौँ । सालिकसँग सेल्फी लिएर नेताहरुप्रति सम्मान गर्नै परो नि !’

त्यस्तै एक अंग्रेजी दैनिक पत्रिकाको ‘यो सिजन छ सयले चढे सगरमाथा’ शीर्षकमा लेखिएको छ –

‘यसपटक मानवीय त्रुटी त्यति थिएन । दुर्घटना रोक्न हामीले सक्दो प्रयास गरेकै हौँ, तर सकेनौँ । तर यी दुर्घटना प्राकृतिक कारणले भएका हुन् ।’, एक अधिकारीले भने ।

यहाँ उल्लेख गरिएका समाचारमा स्रोतको पहिचान खुल्दा स्रोत तथा रिपोर्टरलाई कुनै किसिमको क्षति हुने देखिँदैन ।
अनावश्यक ठाउँमा परिचय विनाका स्रोत उपयोग गर्दा उसले दिएका जानकारीका साथै पत्रिकाप्रति पाठकको विश्वास गुम्छ ।

यस विषयमा साउथ एशिया चेकले संकलन गरेको तथ्यांक डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ।

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री