समाचारमा नाम नखुलेका स्रोतको प्रयोग (जुलाई -सेप्टेम्बर २०१९)

साउथ एशिया चेक / शुक्रबार, कार्तिक १, २०७६

सन् २०१९ को जुलाई १ देखि सेप्टेम्बर ३० सम्म काठमाडौंबाट प्रकाशित हुने ६ वटा दैनिक पत्रिकामध्ये नाम नखुलेको स्रोतलाई उद्धृत गरेर प्रथम पृष्ठमा समाचार छाप्ने मामलामा नागरिक सबैभन्दा अगाडि रह्यो । उसले २२७ ठाउँमा त्यस्ता स्रोत उद्धृत गरेको थियो ।
साउथ एसिया चेकले कान्तिपुर, अन्नपूर्ण पोस्ट्, नागरिक, रिपब्लिका, द काठमाण्डौं पोस्ट् र द हिमालयन टाइम्सका पहिलो पेजमा प्रकाशित समाचारको अध्ययन गर्ने गरेको छ ।
नागरिकपछि नाम नखुलेको स्रोत बढी उद्धृत गरेर समाचार बनाउनेमा क्रमशः द काठमाण्डौं पोस्ट्, कान्तिपुर, अन्नपूर्ण पोस्ट्, र रिपब्लिका छन् । यस अवधिमा स्रोत नखुलेको सबैभन्दा कम उद्धृत गर्ने (हामीले अध्ययन गरेकामध्ये) द हिमालयन टाइम्स हो । यसले ८२ ठाउँमा नाम नखुलेको स्रोत उद्धृत गरेको छ ।
यस अवधिमा ६ वटा पत्रिकाका प्रथम पृष्ठमा प्रकाशित समाचारमा ९७४ ठाउँमा त्यस्ता स्रोत उद्धृत गरिएका थिए ।
सबै पत्रिकाले राजनीतिलाई बढी प्राथमिकता दिएर पहिलो पृष्ठमा राजनीति सम्बन्धि समाचार बढी छापेका थिए । राजनीति सम्बन्धि समाचारमा नाम नखुलेको स्रोतलाई सबैभन्दा बढी (२६४ ठाउँमा) उद्धृत गरिएको थियो । द काठमाण्डौं पोस्ट् र नागरिकमा प्रकाशित राजनीति सम्बन्धि समाचारमा त्यस्ता स्रोतलाई सबैभन्दा बढी (क्रमशः ८० र ६१ ठाउँमा) उद्धृत गरिएको थियो ।
राजनीति पछि भ्रष्टाचारसम्बन्धि समाचारमा त्यस्ता स्रोत बढी (१६३ ठाउँमा) उद्धृत गरिएको थियो ।
समाचारमा नाम नखुलेको स्रोत उपयोग गर्नै हुँदैन भन्ने छैन । नेपाल प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचारसहिंता, २०७३ को बुँदा नं ८(१) मा भनिएको छ, ‘समाचारको विश्वसनीयताका लागि स्रोत उल्लेख गर्नुपर्दछ । तर, त्यसरी उल्लेख गर्दा स्रोतलाई गम्भीर क्षति हुने देखिएमा स्रोतको नाम वा पहिचान गोप्य राखि संरक्षण गर्नुपर्दछ ।’
स्रोत र रिपोर्टरको सुरक्षाका लागि स्रोतको नाम/परिचय नखुलाउने चलन पत्रकारितामा छ ।

यस विषयमा साउथ एशिया चेकले संकलन गरेको तथ्यांक डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री