समाचारमा नाम नखुलेका स्रोतको अनावश्यक उपयोग (जनवरी-मार्च २०१८)

साउथ एशिया चेक / शुक्रबार, बैशाख २१, २०७५

सन् २०१८ को जनवरी १ देखि मार्च ३१ सम्म नाम नखुलेका स्रोतलाई उद्धृत गरेर समाचार छाप्ने मामलामा नागरिक दैनिक सबैभन्दा अगाडि रह्यो । उसले २०७ ठाउँमा त्यस्ता स्रोत उद्धृत गरेको थियो ।

नागरिक पछि नाम नखुलेका स्रोतलाई बढी उद्धृत गरेर समाचार बनाउने काममा क्रमशः कान्तिपुर, रिपब्लिका र अन्नपूर्ण पोस्ट छन् । यस अवधिमा नाम नखुलेका स्रोत सबैभन्दा कम उद्धृत गर्ने समाचारपत्र द काठमाडौँ पोस्ट हो । यसले ८२ ठाउँमा नाम नखुलेका स्रोत उद्धृत गरेके छ ।

कुन पत्रिकाले समाचार बनाउँदा कति मात्रामा नाम नखुलेका स्रोत उद्धृत गर्छन् भनी साउथ एशिया चेकले कान्तिपुर, अन्नपूर्ण पोस्ट्, नागरिक, रिपब्लिका, द काठमाडौं पोस्ट् र द हिमालयन टाइम्सका पहिलो पेजमा प्रकाशित समाचारको अध्ययन गर्ने गरेको छ ।
यस अवधिमा ती पत्रिकाका प्रथम पृष्ठका समाचारमा ७८८ ठाउँमा त्यस्ता स्रोत उद्धृत गरिएका थिए।

सबै पत्रिकाले राजनीतिलाई बढी प्राथमिकता दिएर पहिलो पृष्ठमा राजनीतिसम्बन्धी समाचार बढी छापेका थिए । राजनीतिसम्बन्धी समाचारमा नाम नखुलेका स्रोतलाई सबैभन्दा बढी (२९५ ठाउँमा) उद्धृत गरिएको थियो । द हिमालयन टाइम्स र अन्नपूर्ण पोस्ट्मा प्रकाशित राजनीतिसम्बन्धी समाचारमा त्यस्ता स्रोतलाई सबैभन्दा बढी (क्रमशः ६२ र ६० ठाउँमा) उद्धृत गरिएको थियो ।

राजनीतिपछि भ्रस्टाचारसम्बन्धी समाचारमा त्यस्ता स्रोतलाई बढी (११० ठाउँमा) उद्धृत गरिएको थियो । त्यस्ता समाचारमा परिचय नखुलेका स्रोत बढी उद्धृत गर्ने मामलामा नागरिकले सबैलाई उछिनेको थियो । तर यस अवधिमा नागरिक दैनिकले नै प्रथम पृष्ठमा भ्रस्टाचारसम्बन्धी समाचार सबैभन्दा बढी प्रकाशन गरेको थियो ।

समाचारमा नाम नखुलेका स्रोतको उपयोग गर्नै हुँदैन भन्ने छैन । नेपाल प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचारसंहिता, २०७३ को बुँदा नं ८(१) मा भनिएको छ, ‘समाचारको विश्वसनीयताका लागि स्रोत उल्लेख गर्नुपर्दछ । तर, त्यसरी उल्लेख गर्दा स्रोतलाई गम्भीर क्षति हुने देखिएमा स्रोतको नाम वा पहिचान गोप्य राखी संरक्षण गर्नुपर्दछ ।’

स्रोत र रिपोर्टरको सुरक्षाका लागि स्रोतको नाम/परिचय नखुलाउने चलन पत्रकारितामा छ । तर यस अवधिमा प्रकाशित कतिपय समाचारमा आवश्यक नभएका ठाउँमा पनि स्रोतलाई गोप्य राखिएको छ ।

उदाहरणका लागि, नेपाली भाषामा प्रकाशित हुने एउटा दैनिक पत्रिकामा प्रकाशित ‘संघीय संसद्को पाँचवर्षे यात्रा सुरु’ शीर्षकको समाचारमा भनिएको छ–

“नयाँ नियमावली बनेपछि सरकारले कानुन निर्माणका लागि विधेयकहरू संसद्मा दर्ता गर्दै जाने र विधेयकलाई संसद्ले छलफल गरी पारित गर्दै जाने हो भने मुलुक छिट्टै उन्नतिमा पुग्ने संसद् सचिवालयका एक अधिकारीले भने ।”

नेपाली भाषामै प्रकाशित हुने अर्को एउटा दैनिक पत्रिकामा प्रकाशित ‘सार्कलाई सक्रिय बनाउन पहल गरिने’ शीर्षकको समाचारमा भनिएको छ–

“नेपाल मात्र होइन यस क्षेत्रका धेरै मुलुकमा लामो समयदेखि राजनीतिक स्थायित्व कायम हुन नसक्दा केही पछि परेका हुन् । सबै मुलुक राजनीतिक स्थायित्वतर्फ अग्रसर देखिएका छन्,” एक सहभागीले ओलीलाई उद्धृत गर्दै भने, ‘नेपाल पनि संक्रमणकाल सकेर राजनीतिक स्थायित्व कायम गर्दै विकासको चरणमा प्रवेश गर्न लागेको छ । यस्तो अवस्थामा रहेका हामी सार्कको संस्थापकहरू सबै मिलेर विकासको चरणलाई कार्यान्वयनमा लैजान जरुरी छ ।”

“[ओली र पाकिस्तानी प्रधानमन्त्रीबीच] सुरक्षा (एकअर्काको मुलुकका नागरिक), सीधा हवाई उडान, दुईपक्षिय व्यापार, सांस्कृतिक सहाकार्य, जनस्तरको सम्बन्धमा पनि छलफल भएको अर्का सहभागीले बताए ।”

त्यस्तै अंग्रेजी भाषामा प्रकाशित हुने अर्को एउटा दैनिक पत्रिकामा प्रकाशित ‘भाइरल ज्वरोबाट पाँच बालबालिकासहित एक सातामा नौ जनाको मृत्यु’ शीर्षकको समाचारमा भनिएको छ–

“स्रोतहरूका अनुसार भाइरल ज्वरोले जुनीचाँदे गाउँपालिकाका जुनीचाँदे, काब्रा, बड्कुले, कार्कीगाउँ, मजकोट, आली, मौगाना, डाँडाकोट र पराले गाउँलाई बढी असर गरेको छ ।”

यहाँ स्रोतको पहिचान खुल्दा उसमाथि गम्भीर क्षति हुने देखिँदैन ।

अनावश्यक ठाउँमा नाम विनाका स्रोत उपयोग गर्दा उसले दिएका जानकारीका साथै पत्रिकाप्रति पाठकको विश्वास गुम्छ ।

यस विषयमा साउथ एशिया चेकले संकलन गरेको तथ्यांक डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री