समाचारमा नाम नखुलेका स्रोतको अनावश्यक उपयोग

साउथ एशिया चेक / सोमबार, चैत्र १९, २०७४


सन् २०१७ को नोभेम्बर र डिसेम्बर महिनामा नाम नखुलेका स्रोतलाई उद्धृत गरेर समाचार छाप्ने मामलामा नागरिक दैनिक सबैभन्दा अगाडि थियो । उसले १४० ठाउँमा त्यस्ता स्रोतलाई उद्धृत गरेको थियो ।

नागरिक पछि नाम नखुलेका स्रोतलाई बढी उद्धृत गरेर समाचार बनाउने काममा क्रमशः कान्तिपुर, रिपब्लिका र अन्नपूर्ण पोस्ट छन् । गोरखापत्र समाचारमा नाम नखुलेका स्रोत सबैभन्दा कम (तीन ठाउँमा) उद्धृत गर्ने समाचारपत्र थियो । सो पत्रिकाको प्रथम पृष्ठमा औपचारिक कार्यक्रमसम्बन्धी समाचार बढी छापिने भएकाले त्यस्ता स्रोत कम उद्धृत भएका हुन् ।

कुन पत्रिकाले समाचार बनाउँदा कति मात्रामा नाम नखुलेका स्रोत उद्धृत गर्छन् भनी साउथ एशिया चेकले कान्तिपुर, अन्नपूर्ण पोस्ट्, नागरिक, गोरखापत्र, रिपब्लिका, द काठमाडौं पोस्ट् र द हिमालयन टाइम्सका पहिलो पेजमा प्रकाशित समाचारको अध्ययन गरेको थियो ।
यस अवधिमा ती पत्रिकाका प्रथम पृष्ठका समाचारमा ४३६ ठाउँमा त्यस्ता स्रोतलाई उद्धृत गरिएको थियो ।

सबै पत्रिकाले राजनीतिलाई बढी प्राथमिकता दिएर पहिलो पृष्ठमा राजनीतिसम्बन्धी समाचार बढी छापेका थिए । राजनीतिसम्बन्धी समाचारमा नाम नखुलेका स्रोतलाई सबैभन्दा बढी (१६८ ठाउँमा) उद्धृत गरिएको थियो । नागरिक र कान्तिपुरमा प्रकाशित राजनीतिसम्बन्धी समाचारमा त्यस्ता स्रोतलाई सबैभन्दा बढी (क्रमशः ४२ र ३६ ठाउँमा) उद्धृत गरिएको थियो ।

राजनीतिपछि भ्रस्टाचारसम्बन्धी समाचारमा त्यस्ता स्रोतलाई बढी (११७ ठाउँमा) उद्धृत गरिएको थियो । यस अवधिमा नागरिक दैनिकले प्रथम पृष्ठमा भ्रस्टाचारसम्बन्धी समाचार सबैभन्दा बढी प्रकाशन गरेको थियो । त्यस्ता समाचारमा परिचय नखुलेका स्रोत बढी उद्धृत गर्ने मामलामा पनि उसले नै उछिनेको थियो ।

समाचारमा नाम नखुलेका स्रोतको उपयोग गर्नै हुँदैन भन्ने छैन । नेपाल प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचारसंहिता, २०७३ को बुँदा नं ८(१) मा भनिएको छ, ‘समाचारको विश्वसनीयताका लागि स्रोत उल्लेख गर्नुपर्दछ । तर, त्यसरी उल्लेख गर्दा स्रोतलाई गम्भीर क्षति हुने देखिएमा स्रोतको नाम वा पहिचान गोप्य राखी संरक्षण गर्नुपर्दछ ।’

स्रोतको संरक्षण गर्नु पर्ने अवस्थामा मात्र नाम नखुलाउने चलन पत्रकारितामा छ । तर यस अवधिमा प्रकाशित कतिपय समाचारमा आवश्यक नभएको ठाउँमा पनि स्रोतलाई गोप्य राखिएको छ ।

उदाहरणका लागि, २२ नोभेम्बरमा एउटा दैनिक पत्रिकामा प्रकाशित ‘प्रदेश–५ बाँकेः अस्थिर मतदाता, अस्थिर परिणाम’ शीर्षकको समाचारमा भनिएको छ–

‘यसअघिका निर्वाचन परिणामलाई हेरेर जितहारको अनुमान गर्नु उचित हुँदैन,’ कोहलपुरका एक एमाले कार्यकर्ता भन्छन्, ‘जनताले पार्टीभन्दा पनि उम्मेदवारको अनुहार हेरेर फैसला गर्ने हुँदा हामी अहिलेसम्म सम्भावित परिणामबारे अन्योलमै छौं ।’

त्यसैले यो क्षेत्रमा यी चारै उम्मेदवार उत्तिकै सशक्त हुन्, अहिल्यै कसैलाई अरुभन्दा बलियो भन्न सकिँदैन,’ नेपालगन्जका एक कांग्रेस समर्थक भन्छन्, ‘जित्नलाई त राजनीतिक भावनालाई बढी प्रभावकारी बनाउनुपर्छ ।’

‘यहाँका मतदातामात्र होइन, नेताकार्यकर्ता पनि दलको पूर्ण नियन्त्रणमा रहँदैनन्,’ वाम गठबन्धनका एक नेता भन्छन्, ‘जता हावा चल्यो उतै बहन्छन्, त्यसैले अहिल्यै परिणामबारे के बहस गर्नु ?’

यहाँ स्रोतको पहिचान खुल्दा उसमाथि गम्भीर क्षति हुने देखिँदैन ।

अनावश्यक ठाउँमा नाम विनाका स्रोत उपयोग गर्दा उसले दिएका जानकारीका साथै पत्रिकाप्रति पाठकको विश्वास गुम्छ ।

यस विषयमा साउथ एशिया चेकले संकलन गरेको तथ्यांक डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ।


 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री