समाचारमा नाम नखुलेका स्रोतको अनावश्यक प्रयोग (जुलाई-सेप्टेम्बर २०१८)

साउथ एशिया चेक / मंगलबार, कार्तिक २०, २०७५

सन् २०१८ को जुलाई १ देखि सेप्टेम्बर ३० सम्ममा काठमाडौँबाट प्रकाशित हुने छ वटा प्रमुख पत्रिकामध्ये नाम नखुलेका स्रोतलाई उद्धृत गरेर प्रथम पृष्ठमा समाचार छाप्ने मामलामा अन्नपूर्ण पोस्ट् दैनिक सबैभन्दा अगाडि रह्यो । उसले १०० ठाउँमा त्यस्ता स्रोत उद्धृत गरेको थियो ।

साउथ एशिया चेकले कान्तिपुर, अन्नपूर्ण पोस्ट्, नागरिक, रिपब्लिका, द काठमाडौं पोस्ट् र द हिमालयन टाइम्सका पहिलो पेजमा प्रकाशित समाचारको अध्ययन गर्ने गरेको छ ।

अन्नपूर्ण पोस्ट्पछि नाम नखुलेका स्रोत बढी उद्धृत गरेर समाचार बनाउनेमा क्रमशः नागरिक, द हिमालयन टाइम्स र रिपब्लिका छन् । यस अवधिमा नाम नखुलेका स्रोत सबैभन्दा कम उद्धृत गर्ने समाचारपत्र कान्तिपुर हो । यसले ६३ ठाउँमा नाम नखुलेका स्रोत उद्धृत गरेको छ ।

यस अवधिमा छ वटा पत्रिकाका प्रथम पृष्ठमा प्रकाशित समाचारमा ४९३ ठाउँमा त्यस्ता स्रोत उद्धृत गरिएका थिए।

सबै पत्रिकाले राजनीतिलाई बढी प्राथमिकता दिएर पहिलो पृष्ठमा राजनीतिसम्बन्धी समाचार बढी छापेका थिए । यद्धपि भ्रस्टाचारसम्बन्धी समाचारमा नाम नखुलेका स्रोतलाई सबैभन्दा बढी (१०४ ठाउँमा) उद्धृत गरिएको थियो । नागरिक र कान्तिपुरमा प्रकाशित भ्रस्टाचारसम्बन्धी समाचारमा त्यस्ता स्रोतलाई सबैभन्दा बढी (क्रमशः ४३ र २४ ठाउँमा) उद्धृत गरिएको थियो ।

भ्रस्टाचारपछि अर्थतन्त्रसम्बन्धी समाचारमा त्यस्ता स्रोतलाई बढी (७४ ठाउँमा) उद्धृत गरिएको थियो । त्यस्ता समाचारमा परिचय नखुलेका स्रोत बढी उद्धृत गर्ने मामलामा द हिमालयन टाइम्सले सबैलाई उछिनेको थियो ।

समाचारमा नाम नखुलेका स्रोतको उपयोग गर्नै हुँदैन भन्ने छैन । नेपाल प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचारसंहिता, २०७३ को बुँदा नं ८(१) मा भनिएको छ, ‘समाचारको विश्वसनीयताका लागि स्रोत उल्लेख गर्नुपर्दछ । तर, त्यसरी उल्लेख गर्दा स्रोतलाई गम्भीर क्षति हुने देखिएमा स्रोतको नाम वा पहिचान गोप्य राखी संरक्षण गर्नुपर्दछ ।’

स्रोत र रिपोर्टरको सुरक्षाका लागि स्रोतको नाम/परिचय नखुलाउने चलन पत्रकारितामा छ । तर यस अवधिमा प्रकाशित कतिपय समाचारमा आवश्यक नभएका ठाउँमा पनि स्रोतलाई गोप्य राखिएको छ ।

उदाहरणका लागि, नेपाली भाषामा प्रकाशित हुने एउटा दैनिक पत्रिकामा प्रकाशित ‘डा. केसी सिकिस्त’ शीर्षकको समाचारमा भनिएको छ–

“डा. केसीले सरकारको स्वास्थ्य उपचार चाहिँदैन भनेपछि हामी उपचारमा संलग्न हुन पाएका छैनौँ,” खटिएकामध्ये एक चिकित्सकले भने, “उपचारमा संलग्न प्रतिष्ठानका चिकित्सकसँग समन्वय गरेर उहाँको स्वास्थ्यअवस्थाबारे जानकारी लिइरहेका छौँ ।”

त्यस्तै ‘डा. केसीको स्वास्थ्य गम्भीर’ शीर्षकको अर्को समाचारमा भनिएको छ–

“बिहानको समयमा सुस्त बोल्नुहुन्छ,” उनको निगरानीमा खटिएकी एक नर्सले भनिन्, “दउँसो भयो भने बोली ठप्पै हुन्छ ।”

यहाँ स्रोतको पहिचान खुल्दा उसमाथि गम्भीर क्षति हुने देखिँदैन ।

अनावश्यक ठाउँमा नाम विनाका स्रोत उपयोग गर्दा उसले दिएका जानकारीका साथै पत्रिकाप्रति पाठकको विश्वास गुम्छ ।

यस विषयमा साउथ एशिया चेकले संकलन गरेको तथ्यांक डाउनलोड गर्न  यहाँ क्लिक गर्नुहोला ।

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री