यस वर्ष ६०० मेगावट विजुली थपिँदैन

South Asia Check / शुक्रबार, मंसिर २०, २०७६

चिलिमे जलविद्युत आयोजनाको विजुली आउने बाटो ।

अर्थमन्त्री रामशरण महतले प्रस्तुत गरेको आर्थिक वर्ष २०७२/७३ को वार्षिक बजेट पुस्तिकाको अनुसूची १८ मा भनिएको छ- यस आर्थिक वर्षभित्र नेपालको विद्युत उत्पादन क्षमता ६०० मेगावाट थपिनेछ । यसले गर्दा विद्युतको जडित क्षमता १४१८ मेगावाट हुनेछ ।

यो असम्भव कुरा हो ।

यसो हुनका लागि सबैभन्दा छिटो बनिसक्ने भनी आशा गरिएका आयोजना यस आर्थिक वर्षभित्र बनिसक्नुपर्छ । ती आयोजना यस प्रकार छनः

आयोजना क्षमता सम्पन्न हुने आशा गरिएको मिति हालको अवस्था
चमेलिया ३० मेगावाट २०७१/७२ न्यून क्षति । यहि आ.व मा सम्पन्न हुने आशा
कुलेखानी ३ १४ मेगावाट २०७१/७२ न्यून क्षति । यहि आ.व मा सम्पन्न हुने आशा
माथिल्लो त्रिशुली ३ ‘ए’ ६० मेगावाट २०७२/७३ भूकम्प पछि काम सुचारू हुन नसकेको
माथिल्लो मोदी ए ४२ मेगावाट २०७२/७३ न्यून क्षति । २०७२/७३मा सम्पन्न हुने आशा
माथिल्लो तामाकोशी ४५६ मेगावाट २०७३/७४ भूकम्प पछि काम सुचारू हुन नसकेको

स्रोतः उर्जा मन्त्रालयको वार्षिक प्रगति २०७१ को पेज ४३ र ४५ । हालको अवस्था सम्बन्धी जानकारी नेपाल विद्युत प्राधीकरण ।

२०७१/७२ मा बन्ने भनिएका चमेलिया र कुलेखानी ३ आशा गरिएको समयमा नबने पनि यस आर्थिक वर्षमा बनिसक्ने आशा गरिएको थियो । माथिल्लो तामाकोशी पछि बन्ने भनिए पनि यही आर्थिक वर्षभित्र बनिसक्ने ठानिएको थियो । यही आधारमा बजेटमा यस आर्थिक वर्ष भित्र ६०० मेगावाट विजुली थपिने कुरा लेखिएको हो ।

तर यीमध्ये धेरै आयोजनालाई वैशाख १२ गते र त्यसपछि गएका भूकम्पले क्षति पुर्‍याएको छ । भूकम्पपछिको अवस्था बुझ्न हामीले उर्जा मन्त्रालयका अधिकारी र निर्माणाधीन केही आयोजनाका प्रमुखसँग कुराकानी गर्‍यौं ।

माथिल्लो तामाकोशीका आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठ भन्छन्, “पहिरोले आयोजना जोड्ने सडकमा ठूला ठूला ढुंगा झारेको छ, यसले आयोजना करिब एक वर्ष ढिलो हुने अनुमान गरेका छौं ।”

विद्युत विकास विभागका गोकर्ण पन्थका अनुसार भूकम्पले क्षति पुर्‍याएपछि केही निर्माणाधीन आयोजना २०७२/७३ मा सम्पन्न हुन कठिन हुनेछ। “बजेटमा भनिएको ६०० मेगावाट थपिने कुरा भूकम्प नगएको भए सही नै हो, तर अहिलेको अवस्थामा यो व्यावहारिक नहोला,” पन्थ भन्छन् ।

गत महिना नेपाल सरकारले तयार पारेको पोष्ट डिसास्टर् नीड एसेस्मेन्ट् अनुसार नेपालको विद्युत क्षेत्रलाई भूकम्पले झन्डै १८५ मिलियन अमेरिकी डलरको क्षति पुर्‍याएको छ । स्वतन्त्र उर्जा उत्पादक र नेपाल विद्युत प्राधीकरणका झन्डै १००० मेगावाट क्षमताका निर्माणाधीन आयोजनामा आंशिक क्षति भएको रिपोर्टमा उल्लेख छ।

गलत आंकडा कसरी पर्‍यो ?

यस विषयमा हामीले विद्युत विकास विभागका पन्थसँग कुरा गर्दा के थाहा भयो भने अर्थ मन्त्रालयले यो आंकडा भुइँचालो जानुअघिको विभागको तथ्यांकका आधारमा राखेको रहेछ ।

नेपाल विद्युतीय प्राधिकरणका उप कार्यकारी निर्देशक शेर सिंह भाटका अनुसार भुइँचालो पछि त्रिशुली ३ ‘ए’ को काम सुचारू हुन सकेको छैन् । “बारम्बार गइरहेको पहिरो र त्यसले भत्केको बाटाहरुका कारण कन्टर्याक्टरहरुले काम थाल्न सकेका छन्, त्यहाँ भएको क्षतिको पूर्ण हिसाब बर्षा सकेपछिमात्र गर्न सकिन्छ,” भाट भन्छन्, “यी कारणहरूले गर्दा यो आयोजना सकिन थप अर्को वर्ष लाग्न सक्छ।” भाटका अनुसार कुलेखानी ३ र चमेलियामा धेरैं क्षति नभएकोले गर्दा यी दुई आयोजनाहरू यहि वर्ष सक्ने सम्भावना छ।

त्यसैले, भुइँचालो गएको अढाइ महिना पछि प्रस्तुत बजेटमा भुइँचालो जानुअघिको परिस्थितिका आधारमा आंकडा राखिएकाले यो आंशिक रूपमा गलत हुनपुग्यो ।

 

 

भृकुटी राई / मंगलबार, साउन २६, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री