भारतमा हेडक्वार्टर राखेर पञ्चायतविरुद्ध सशस्त्र संघर्ष गर्ने योजनामा थिए माधवकुमार नेपाल

South Asia Check / शुक्रबार, मंसिर २०, २०७६

कान्तिपुर टिभीबाट चैत ३० गते प्रसार भएको कार्यक्रम ‘टफ टक‘मा अन्तर्वार्ताकार दिलभुषण पाठकले नेकपा–एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई यस्तो प्रश्न गरे–

विसं २०४६ सालको आन्दोलनताका राजाको पञ्चायती व्यवस्थाविरुद्ध लड्न भारतीय सैनिक ल्याउनुपर्ने प्रस्ताव तपाईंले गर्नुभएको थियो भनेर तपाईंकै पार्टीका कार्यकर्ता राधाकृष्ण मैनालीले आफ्नो किताब ‘नलेखिएको इतिहास’मा लेख्नुभएको छ नि !

जवाफमा नेपालले भने–

‘त्यो सेनाको कुरा त कसले उठाउनु? त्यतिखेर त हामी भूमिगत थियौं। त्यतिखेर भारतका कोसँग हाम्रो…भारतका नेतासँग परिचय थियो भने…सिपिआई–एमएलबाहेक हामीसँग सिपिएमसम्मको…सम्पर्क थियो। भारत[मा] हामीलाई कसले पत्याउने? नेपालभित्र त हामीलाई कसैले चिन्दैन थिए। त्यसैकारण यो सब हावादारी कुरा हो। उहाँ [राधाकृष्ण मैनाली]लाई केही पनि थाहा थिएन। उहाँ त त्योबेला जेलमा थुनिनुभएको थियो। सबै आन्दोलन हामीले सञ्चालन गरेका थियौं र त्यो आन्दोलनको सिलसिलामा मैले भनेको कुरा के थियो भने कि हामीले त्यतिखेर लाठीहरूसहित जुलुश निकाल्ने योजना बनाएका थियौं। वीरगञ्जको हाम्रो चाहिँ मुकामले योजना बनाएको थियो।’

नेता नेपालले यहाँ भनेका निम्न दुई कुरा सही छन्/छैनन् भनी साउथ एशिया चेकले जाँचेको छ।

क. विसं २०४६ सालको आन्दोलनताका राधाकृष्ण मैनाली जेलमा थिए।
ख. माधवकुमार नेपाललले आन्दोलनलाई उग्र बनाउन लाठी जुलुश निकाल्ने कुरा मात्रै गरेका थिए, भारतीय सैनिक ल्याएर सशस्त्र संघर्ष गर्ने कुरा गरेका थिएनन्।

क. विसं २०४६ सालको आन्दोलनताका राधाकृष्ण मैनाली जेलमा थिए।
२०४६ सालको आन्दोलनमा राधाकृष्ण मैनाली तत्कालीन नेकपा–मालेका तर्फबाट सँयुक्त वाम मोर्चामा गएका थिए (जोन ह्वेल्पटन, अ हिस्ट्री अफ नेपाल, पृ ११५, क्याम्ब्रिज युनिभर्सिटी प्रेस)। त्यसका अध्यक्ष साहना प्रधानलाई प्रहरीले पक्डाउ गरेपछि राधाकृष्ण मैनाली वाम मोर्चाका कार्यबाहक अध्यक्ष भएर आन्दोलनको एक घटक वाम मोर्चाको नेतृत्व गरेका थिए। आन्दोलन अवधिभर उनी जेल परेनन्।

तसर्थ, माधवकुमार नेपालको यो भनाई गलत छ।

ख. माधवकुमार नेपालले त्यतिखेर आन्दोलनलाई उग्र बनाउन लाठी जुलुश निकाल्ने कुरा मात्रै गरेका थिए, भारतीय सैनिक ल्याएर सशस्त्र संघर्ष गर्ने कुरा गरेका थिएनन्।
आन्दोलनताका नेता नेपालले भारतीय सेना ल्याएर पञ्चायतविरुद्ध सघंर्ष गर्नुपर्छ भने/नभनेको पुष्टि गर्ने कुनै दस्ताबेज साउथ एशिया चेकलाई उपलब्ध भएन। तसर्थ, मैले त्यस्तो कुरा गरेको थिइनँ भन्ने उनको दाबी सही हो वा गलत भनेर ठोकुवा गर्ने आधार छैन। तर आन्दोलनलाई उग्र बनाउन लाठी जुलुश निकाल्ने कुरा मात्रै गरेको थिएँ भन्ने उनको भनाई उनकै पहिलेका भनाइका आधारमा सही छैन।

मूल्यांकन मासिकको २०४८/४९ को चैत/वैशाख अंकमा उनको अन्तर्वार्ता प्रकाशित छ, जहाँ उनले भारतीय भूमिमा सैन्य हेडक्वार्टर स्थापना गरेर पञ्चायतविरुद्ध सशस्त्र संघर्ष गर्ने योजना बनाएको कुरा बताएका छन्। अन्तर्वार्तामा उनले भनेको कुरा यस्तो छ–

‘दमनले गर्दा संघर्षको चर्को रूप अपनाउन हामीलाई बाध्य पारिरहेको थियो। त्यसलाई काउन्टर दिनका लागि हामीले केही गोलाबारुद र हातहतियार प्रयोग गर्नुपर्छ भनेर योजना बनाउन थालेका थियौं…किल्लाहरूको निम्ति हामीले भारतको सीमा इलाकाहरूमा यहाँबाट गएका आन्दोलनकारीहरूको एउटा नेटवर्क नै तयार गरेका थियौं। यसमध्ये हामीले रक्सौलमा यसको हेडक्वार्टर राखेका थियौं। नारायणी अञ्चलको हाम्रो फोर्स त्यहाँ थियो। अर्को जयनगर र जोगवनीमा पनि त्यसको सम्बन्ध थियो। त्यहाँ वैचारिक र भौतिक दुबै ट्रेनिङ दिने व्यवस्था पनि गरिएको थियो। यसको लागि पारिपट्टिका माओवादी कम्युनिस्टहरूसँग हामीले एप्रोच पनि गरिसकेका थियौं।’

तसर्थ, माधवकुमार नेपालको यो भनाई पनि गलत छ।

सुजित मैनाली / मंगलबार, बैशाख ५, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री