महेन्द्र राजमार्गको बारेमा मन्त्री महासेठको दाबी झुठो

Injina Panthi / शुक्रबार, पौष २०, २०७५

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले प्राइम टाइम्स टिभिमा प्रशारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमसँगको अन्र्तवार्तामा २०७५ साल पौष १५ गते भनेका थिए :

“हामीले चार साल भित्र महेन्द्र राजमार्ग बनाउन लागिरहेका छौं । आजसम्म कुन सरकारले दुई लेनबाट चार लेन बनाउने कोशिस गरेको थियो ? यही के.पी. ओलीको सरकारले आउने बित्तिकै हामीलाई निर्देशन दिनु भयो । सबैभन्दा पहिले तपाईँ यो महेन्द्र राजमार्गलाई चौडा बनाउनु होस् । दुई लेनले ट्राफिक पुग्दैन । हामी शहरी इलाकामा ६ लेन र अरु ठाउँमा ४ लेन बनाउँदै छौं।”

साउथ एसिया चेकले मन्त्री महासेठको दाबी कति सत्य छ भनी जाँच गरेको छ ।

नेपाली कांग्रेसका नेता रामशरण महत अर्थ मन्त्री भएका बेलामा उनले आ.व.२०७२–२०७३ को बजेटमा पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति गरी ४ लेनको बनाउने कार्य शुरु गर्न बजेट विनियोजन गर्ने घोषणा गरेका थिए ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७२ सालमा तयार पारेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रणनीति योजना (२०७३–२०७८)मा भनिएको छ, पूर्व–पश्चिम राजमार्गको काकरभिट्टा–बुटवल (५८८ कि.मी) खण्डको विस्तृत परियोजना प्रतिवेदन(डी.पि.आर)  २ वर्षमा सम्पन्न गरी त्यसपछिको ५ वर्षमा चार लेनको एक्सप्रेस वे निर्माण कार्य सम्पन्न गर्ने साथै बुटवल–गड्डाचौकी (४३९ कि.मि.) खण्डको  डी.पि.आर. तयार गरी लेन विस्तार कार्य ५ वर्ष भित्रमा प्रारम्भ गर्ने ।

पूर्व–पश्चिम राजमार्गलाई ४ लेन बनाउने घोषणा नेपाली कांग्रेसको सरकारले पनि गरेको थियो । त्यसैले मन्त्री महासेठको दाबी गलत छ ।

इन्जिना पन्थी / शुक्रबार, पौष २०, २०७५

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री