पेट्रोलियम पाइपमा तथ्य चिप्लियो

South Asia Check / मंगलबार, बैशाख २४, २०७६

२०७६ वैशाख २४ गतेको अन्नपूर्ण पोस्ट्‍मा प्रकाशित “आत्मप्रशंसाको सरकारी पुलिन्दा” शीर्षकको लेखमा डा. रामशरण महतले सरकारको २०७६/७७ को नीति तथा कार्यक्रमका बारेमा टिप्पणी गर्ने क्रममा लेखेको छन्, “अर्को हास्यास्पद कुरा रक्सौल-अमलेखगन्ज पेट्रोलियम पाइपलाइन वर्तमान सरकारकै पालामा शुरु भएको भनिएको छ । त्यो धेरै वर्ष पहिला सुरु भएको हो ।”

सो नीति तथा कार्यक्रममा यसबारे भनिएको छ, “यो सरकार गठन भएपछि शुरु गरिएको अमलेखगञ्ज-रक्सौल-मोतिहारी खण्डको पेट्रोलियम पाइपलाइनबाट आगामी वर्षदेखि पेट्रोलियम पदार्थ आयात गर्ने ब्यवस्था मिलाइनेछ ।”

साउथ एशिया चेकले अमलेखगञ्ज-रक्सौल-मोतिहारी पेट्रोलियम पाइपलाइनको काम सम्बन्धि जानकारी खोजेको छ ।

२०७५ साउन १६ गते सेतोपाटीमा प्रकाशित समाचारमा भनिएको छ, “गत चैतको अन्तिम साता भारत भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा उहाँका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको हैदरावाद हाउसबाट संयुक्तरुपमा मोतिहारी– अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका थिए। त्यसपछि जमिनमुनि पाइप बिछ्याउने काम शुरु भएको हो ।”

बीबीसी नेपाली सेवाको समाचारमा भनिएको छ, “शनिवार मात्रै शिलान्यास गरिए पनि पाइपलाइनसँग सम्बन्धित केही काम एक महिनाअघि नै शुरू भएको हो। हालसम्म तीन किलोमिटर जति खन्ने काम सकिइएको अधिकारीहरू बताउँछन्।”

यी समाचारले सो पाइपलाइन गाड्ने काम यही सरकारका पालामा शुरु भएको पुष्टि गर्दछन् । तर सो पाइपलाइनको काम पाइपलाइन गाड्ने कामभन्दा धेरै पहिले शुरु भएको थियो ।

पराष्ट्र मन्त्रालयले प्रकाशित गरेको “रिर्पोट अन फरेन अफेयर्स २०१५–२०१६” को पेज १५ मा भनिएको छ, नेपाल र भारत बिचमा भारतको रक्सौलदेखि अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन बिछयाउने सम्झौता २०७२ भदौ ७ मा भएको थियो।

त्यतिबेला प्रकाशित समाचारहरुले पनि सो कुराको पुष्टि गरेका छन् ।

नेपाल आयल निगम लिमिटेडको वार्षिक मुखपत्र “प्रभात २०७४” (पेज ७२) का अनुसार २०७३ साल पुस ८ गते मोतिहारी-अमलेखगञ्ज पाइपलाइनको योजनालाई “राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना” को दर्जा दिइएको थियो ।

प्रभातका अनुसार (पेज १७०), यसअघि सन् २००९ मा नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेशनले रक्सौल-अमलेखगञ्जको ४१ किलोमिटर पाइपलाइन निर्माण गर्न विस्तृत अध्ययन गरी डिजाइन तयार गरेका थिए ।

तसर्थ, सो पाइपलाइनको काम पहिल्यै शुरु भएको थियो भनी डा. महतले गरेको दावी सही छ । यसको अर्थ हो, सो पाइपलाइनको काम यो सरकार आएपछि थालिएको भनि नीति तथा कार्यक्रममा गरिएको दावी गलत छ ।

साउथ एशिया चेक / बुधबार, बैशाख २५, २०७६

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री