नेपालको इन्टरनेट शुल्क दक्षिण एसियाकै महँगो भन्ने चौधरीको दाबी गलत

Sanjog Shiwakoti / बिहीबार, फाल्गुण ८, २०७६

तस्बिर स्रोत: चौधरीले  एपिवान एच.डी. टेलिभिजनलाई दिएको अन्तर्वार्ताको स्क्रिनसट

नेपालको एक प्रमुख ब्यापारी समूह चौधरी ग्रुप (सि.जी)का अध्यक्ष विनोद चौधरीले गएको २०७६ साल माघ २० गते एपिवान एच.डी. टेलिभिजनबाट प्रशारण भएको ‘तमसोमा ज्योतिर्गमय:’ कार्यक्रमलाई दिएको एक अन्तर्वार्तामा नेपालको दूरसञ्चार क्षेत्रको बारेमा टिप्पणी गरेका थिए । कार्यक्रम प्रस्तोता टिकाराम यात्रीले सि.जीको लगानी रहेको दुरसञ्चार कम्पनीले नेपालमा सेवा बिस्तार नगरेको बारेमा सोधेको प्रश्नको जवाफमा चौधरीले यस्तो तथ्य उल्लेख गरेका थिए:

“नेपालको इन्टरनेटको मूल्य भनेको अहिले साउथ एसियाकै सबभन्दा महङ्गो छ । नेपालको इन्टरनेटको पेनेट्रेशन (पहुँच) भन्या केवल ३५% छ किनकि ईट् इज् सो एक्सपेन्सिभ (यो एकदमै महङ्गो छ) ।”

उनको यो भनाइमा उनले दुईवटा दाबी गरेका छन्:

पहिलो दाबी: नेपालको इन्टरनेटको शुल्क अहिले दक्षिण एसियामा सबैभन्दा महङ्गो छ ।

दोस्रो दाबी: नेपालको इन्टरनेटको पहुँच केवल ३५% छ । अर्थात नेपालको कुल जनसंख्याको ३५% को मात्र इन्टरनेटमा पहुँच छ ।

साउथ एसिया चेकले ब्यापारी विनोद चौधरीको दाबी कति सत्य छ भनी जाँच गरेको छ ।

पहिलो दाबी: नेपालको इन्टरनेटको शुल्क अहिले दक्षिण एसियाकै सबभन्दा महङ्गो छ ।

विश्वभरिको इन्टेरनट सेवा शुल्कको तुलना गर्ने बेलायती वेबसाईट केबल.को.यूकेका अनुसार दक्षिण एसियामा सबैभन्दा महंगो ब्रोडब्याण्ड इन्टरनेट सेवा दिने मुलुक माल्दिभ्स हो । माल्दिभ्समा ब्रोडब्याण्डको मासिक ‌औसत शुल्क * १०,१०७.४७ रुपैयाँ छ । अन्य बाँकी देशहरुमा क्रमश: श्रीलङ्का (३,१४४.७० रुपैयाँ), बङ्गलादेश (३,१३८.९६ रुपैयाँ), अफगानिस्तान (२,९६९.१ रुपैयाँ), पाकिस्तान (२,०१४.२१ रुपैयाँ), भारत (१,४८०.५३ रुपैयाँ), नेपाल (१,३८२.९८ रुपैयाँ) र भुटान (१,१९५.९० रुपैयाँ) रहेको छ । यसरी हेर्दा भुटान दक्षिण एसियामा सबैभन्दा सस्तो इन्टरनेट भएको देश हो भने नेपाल दोस्रो सस्तो इन्टरनेट भएको देश हो । विश्वभरिको विभिन्न देशको इन्टरनेट शुल्क तालिका यहाँ हेर्नुहोस् ।

विश्वभरिमा सबैभन्दा सस्ता पाँच इन्टरनेट प्याकेज दिने देशमा नेपाल पनि पर्दछ । नेपालमा सबैभन्दा सस्तो प्याकेज ९९.८५ रुपैयाँमा पाइने सो वेबसाइटले जनाएको छ । नेपालले उपलब्ध गराएको यो प्याकेजको गति तुलनात्मक रुपमा सुस्त र सीमित हुने उस्को ठहर छ ।

यस आधारमा नेपालमा इन्टरनेटको शुल्क अहिले दक्षिण एसियाकै सबभन्दा महँगो छ भन्ने चौधरीको दाबी गलत छ ।

दोस्रो दाबी: नेपालमा इन्टरनेटसँगको पहुँच केवल ३५% छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको २०७४/७५ को वार्षिक प्रतिवेदनमा निम्न कुरा उल्लेख गरिएको छ, “इन्टरनेटको पहुँचमा समेत आशातित रुपले वृद्दि भएको छ । फलस्वरुप यसको घनत्व ५१% पुग्न गई प्रयोगकर्ताको संख्या करिब १ करोड ५० लाख रहेको छ ।”

यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणको कार्तिक, २०७६ को म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम (एमआईएस) रिपोर्ट अनुसार नेपालमा इन्टरनेट प्रयोगकर्ता कुल जनसंख्याको ७१.५२% अर्थात् करिब २ करोड ११ लाख छन् ।

यस आधारमा नेपालमा इन्टरनेटको पहुँच ३५% मात्र छ भन्ने चौधरीको दाबी गलत छ ।

*  २०७६ फागुन ८ को विदेशी मुद्रा विनिमय दरमा आधारित ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री