भारत विरोधी जुलुसको भिडियो छ महिना अघिको हाे

Sanjog Shiwakoti / बिहीबार, जेठ १, २०७७

“कालापानी र लिपुलेक हाम्रो भन्दै बुटवलका विद्यार्थीको विशाल जुलुस भारत बिरोधी प्रदर्शनमा!!” भन्ने दावी  सहितको एउटा भिडियो क्लीपलाई अहिले सामाजिक सञ्जालमा व्यापक बनाइएको छ । उक्त भिडियो क्लीपमा ठूलो संख्यामा कलेज तथा विद्यालयको पोशाकमा विद्यार्थीहरु नेपालको झन्डा, प्ले कार्ड, ब्यानर लिई नारा जुलुस गरिरहेका देखिन्छन् । भिडियो खिच्ने व्यक्तिले बुटवलका विद्यार्थीहरुले ‘लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो’ भन्दै नारा जुलुस लगाएको फुटेज भएको उक्त भिडियो बुटवल बसपार्कमा लिइएको बताएका छन् ।

आफुलाई पत्रकार भनी चिनाउने ट्विटर प्रयोगकर्ता भिम (स्वतन्त्र) अबिसले उक्त भिडियो “कालापनी र लिपुलेक हाम्रो भन्दै बुटवलका विद्यार्थीहरुको विशाल जुलुस भारत बिरोधी प्रदर्शनमा!!” भन्ने दावीका साथ बैशाख ३१ गते दिउँसो १२:११ बजे पोष्ट गरेका थिए । उक्त ट्विट ६१ पटक रिट्विट भइसकेको छ भने त्यसमा ६६ वटा रिप्लाई आएका छन् । यसमा आएका रिप्लाइ हेर्दा केही प्रयोगकर्ताले त्यसको आधिकारिकता र खिचिएको समयबारे प्रश्न उठाएका छन् भने केहीले त्यसमाथि विश्वास गरेर प्रतिक्रिया जनाएका छन् । अन्य केही प्रयोगकर्ताले चाहिँ पुरानो भिडियो राखेर अफवाह फैलाएको उल्लेख गरेका छन् । पुरा नामथर भीम अधिकारी रहेका ती ट्वीटर प्रयेगकर्ताले आफ्नो बेवसाइटमा विज्ञान विषयमा स्नातक गरेको र वेब डिजाइन गर्ने बताएका छन् ।

उक्त ट्विट रिपब्लिकाका प्रधान सम्पादक सुवास घिमिरे र सोही दैनिकमा कार्यरत पत्रकार कोषराज कोइरालाले पनि रिट्विट गरेको स्क्रिनसट बाबा अनिल चे नामका ट्विटर प्रयोगकर्ताले पोष्ट गरेका छन् । घिमिरे र काेइराला दुवैले आफ्ना ट्विट मेटाइसकेका छन् । ती ट्वीटमा उक्त भिडियोमा देखाइएको जुलुस अहिलेकै भएको र कोभिड – १९ को विषम परिस्थिति र लकडाउनको बेला पनि विभिन्न भागमा जुलुस भइरहेको दावी गरिएको थियो ।

उक्त भिडियो क्लीप त्यससँगै गरिएको दावी फेसबुकमा पनि धेरै प्रयोगकर्ताले शेयर गरेका छन् । विभिन्न पेजमा र व्यक्तिगत अकाउन्टमा पनि उक्त भिडियो क्लीप शेयर गरिएकाे छ । नेपाल म्युजिक ग्यालरी नामक पेजमा पनि सो भिडियो उक्त दावीका साथ पोष्ट गरिएको छ जुन ७९०० पटक शेयर भइसकेको छ । त्यस्तै उमङ बाजुरेली पेजमा ८४६, नमस्ते नेपाल भाइरल पेजमा ४१० पटक शेयर भएको छ ।

साउथ एसिया चेकले उक्त भिडियोको तथ्य जाँच गरेको छ । हामीले उक्त भिडियोलाई ‘इनभिड टुलकिट’ नामक अनलाइन साधन प्रयोग गरी त्यसका विभिन्न ‘कि फ्रेम’ लाई ‘रिभर्स इमेज सर्च’ गर्याै । उक्त भिडियो मंसिर ८, २०७६  मा नेपाल इ न्युज नामक फेसबुक पेजमा पोस्ट गरिएको हामीले फेला पारेका छौँ । यो भिडियो क्लीप त्यतिखेर पनि विभिन्न फेसबुक पेजमा शेयर गरिएको थियो ।

यस सँगसँगै थप गुगल खोजीमा हामीले युट्युबमा अपलोड गरिएको भिडियो फेला पारेका छौँ । मंसिर ८, २०७६ गते ‘नेपाली मनदेखि’ नामक च्यानलले उक्त भिडियो अपलोड गरेको थियो ।

सेतोपाटीले मंसिर ८ गते “भारतको नयाँ नक्साविरुद्ध बुटवलमा विद्यार्थीको प्रदर्शन” शीर्षकमा उक्त जुलुससम्बन्धी समाचार र तस्बिर प्रकाशित गरेको थियो ।

यसरी हेर्दा अहिले भाइरल भएको भिडियो भारतले दावी गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा विरुद्ध गरिएको नारा जुलुस हो तर त्यो जुलुस अहिले लकडाउन जारी हुँदाको नभई करिब छ महिना अघिको हो । त्यतिखेर भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटी नयाँ नक्सा जारी गरेपछि त्यसको नेपालमा विरोध भएको थियो । एक साताअघि भारतले लिपुलेकमा चीनसितको नाका जोड्ने सडकको उदघाटन गरेको समाचारपछि पुन विरोधको सिलसिला शुरु भएको छ । उक्त घटनाको विरोध गर्दै काठमाडौंका केही स्थानमा प्रदर्शन पनि भएका थिए । यही अवस्थामा पुरानो भिडियोलाई अपूरो तथ्यका साथ अहिलेकै झल्किने गरी सामाजिक सञ्जालमा व्यापक बनाइएको छ ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री