दृष्टिविहिन युवती र रुसी राष्ट्रपति पुटिन बीच भेट बारेको सामग्री भ्रामक

South Asia Check / सोमबार, आश्विन १९, २०७७

दीपक अधिकारी/साउथ एसिया चेक

केही दिनयता रुसकी एक दृष्टिविहिन किशोेरीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने चाहना व्यक्त गर्दै सामाजिक सञ्जालमा भिडियो राखेको २४ घन्टामै राष्ट्रपति पुटिनले भेट दिएको भन्दै एउटा ‘इन्टरनेट मिम’ फेसबुकमा व्यापक बनाइएको छ ।

गत असोज १८ गते फेसबुकमा १११४ फलोअर्स भएका धरम प्रकास गिरीले सबैभन्दा पहिले ती युवती र पुटिनको फोटोसहित यस्तो स्टाटस शेयर गरेका थिए:

रुसकी एकजना आँखा नदेख्ने १७ वर्षिया युवती रेजिना पार्पिएभाले राष्ट्रपति पुटिनलाई भेट्ने आफ्नो इच्छा रहेको भनेर भनेको एउटा भिडियो सामाजिक सञ्जालमा आएको सुने देखे पछि पुटिन २४ घन्टामा ती युवतीलाई आफ्नो भवनमा ल्याउन र भेटाउने काम गराइदिने व्यवस्था मिलाउन भनी आफ्नो सहयोगीलाई भने र ती युवतीले पुटिनलाई भेटिन् र स्पर्श गरेरै महशुस गरिन् । तर हाम्रो देशमा यस्तो देखियो भने उल्टै त्यसलाई समातेर जेल हाल भनेर आदेश देलान् ।

फेसबुकमा १ लाख ३८ हजारभन्दा बढी फलोअर्स भएका खानेपानी मन्त्रालयका पूर्व सचिव भीम उपाध्यायले पनि गिरीको स्टाटस र फोटो शेयर गरेको थिए । गिरीको पोस्टमा रहेको अन्तिम वाक्यको ठाउँमा उनले ‘असल नेता भनेको यस्तै एक एक जनताको चासो राख्ने हुन्छन्’ भन्ने वाक्य राखेका छन् । उपाध्यायकाे स्टाटस ३१७ पटक शेयर गरिएको छ । सोही मिमलाई ८८ हजारभन्दा बढी फलोअर्स भएको समाचार र विभिन्न सूचना शेयर गर्ने फेसबुक पेज *रुटिन्स अफ नेपाल बन्दले पनि फेसबुकमा शेयर गरेको छ । सजल सन्देश नामक अनलाइनको फेसबुक पेजमा पनि उक्त सामग्री शेयर गरिएको छ ।

रुसी खोप बारे त्यो भनाइ भ्लादिमिर पुटिनको हो ?

तथ्य जाँच

साउथ एसिया चेकले नेपाली फेसबुक प्रयोगकर्ताबीच फैलिएको उक्त मिमको बारेमा तथ्य जाँच गर्दा रेजिना र पुटिनबीच भेट भएको सही भएपनि उक्त सामग्रीमा उल्लेखित केही दाबी भ्रामक भएको फेला परेको छ ।

रुसी समाचार एजेन्सी आरटीका अनुसार दृष्टिविहीन पौडी खेलाडी रेजिना र पुटिनबीच उक्त भेट डिसेम्बर २१, २०१८ मा मस्कोमा भएको थियो जतिबेला उनले रुसी राष्ट्रपतिकाे अन्तरवार्ता पनि लिएकी थिइन्। तर उक्त मिममा भनिएजस्तो उनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने इच्छा गरेको भिडियो सामाजिक सञ्जालमा राखेको २४ घन्टामा उक्त भेट भएको होइन ।

मस्कोमा उक्त भेटको दुई साता अघि नै डिसेम्बर ५, २०१८ मा राष्ट्रपति पुटिनले इन्टरनेसनल भोलन्टियर फोरमको एक कार्यक्रममा पहिलाेपटक रेजिनालाई भेटेका थिए । उक्त भेटमा पुटिनले ती १७ वर्षियसित उनकाे पत्रकार बन्ने चाहना पुरा गरिदिने वाचा गरेका थिए ।

फोटो एजेन्सी अलामीका अनुसार रेजिना पुटिनको सहयोग प्राप्त ‘ड्रिम वीथ मि’ नामक परोपकारी संस्थाको कार्यक्रममा सहभागी थिइन् । पत्रकार बन्न चाहेकी उनले पुटिनसँग अन्तार्वार्ता लिन चाहेको बताएपछि आरटी लगायतका समाचार संस्थाको प्रयासमा उनको इच्छा पुरा भएको समाचारमा जनाइएको छ । अन्तरवार्ता सकिएपछि विदा हुने बेलामा दृष्टिविहिन रेजिनाले पुटिनलाई स्पर्श गरेको चाहिँ साँचो हो ।

*याे रुटिन अफ नेपाल बन्दकाे फेसबुक पेज भनेर नझुक्किनु हाेला ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री