समाचारमा नाम नखुलेको स्रोतको प्रयोग (जुलाई १ – सेप्टेम्बर ३०,२०२०)

South Asia Check / बिहीबार, आश्विन २२, २०७७

सन् २०२० को जुलाई १ देखि सेप्टेम्बर ३० सम्म काठमाडौंबाट प्रकाशित हुने पाँचवटा दैनिक पत्रिकामध्ये नाम नखुलेको स्रोतलाई उद्धृत गरेर प्रथम पृष्ठमा समाचार छाप्ने मामिलामा नागरिक सबैभन्दा अगाडि रह्यो । उसले ३२२ ठाउँमा त्यस्ता स्रोत उद्धृत गरेको थियो ।

साउथ एसिया चेकले कान्तिपुर, अन्नपूर्ण पोस्ट्, नागरिक, रिपब्लिका, द काठमाण्डु पोस्ट् र द हिमालयन टाइम्सका पहिलो पृष्ठमा प्रकाशित समाचारको अध्ययन गर्ने गरेको छ । तर कोभिड- १९ बाट सिर्जित परिस्थितिका कारण रिपब्लिकाले छापा संस्करण र इपेपर बन्द गरेको छ । उक्त दैनिक पूरा अवधि प्रकाशित नभएकाले हामीले त्यसलाई समेटेका छैनौँ।

नागरिकपछि नाम नखुलेको स्रोत बढी उद्धृत गरेर समाचार बनाउनेमा क्रमश: कान्तिपुर, द काठमाण्डु पोस्ट्, अन्नपूर्ण पोस्ट् र हिमालयन टाइम्स छन् । यस अवधिमा नाम नखुलेका स्रोत सबैभन्दा कम उद्धृत गर्ने (हामीले अध्ययन गरेकामध्ये) द हिमालयन टाइम्स हो । यसले ६९ ठाउँमा नाम नखुलेको स्रोत उद्धृत गरेको छ।

यस अवधिमा ५ वटा पत्रिकाका प्रथम पृष्ठमा प्रकाशित समाचारमा ९८४ ठाउँमा त्यस्ता स्रोत उद्धृत गरिएका थिए।

सबै पत्रिकाले राजनीतिलाई प्राथमिकता दिएका थिए । पहिलो पृष्ठमा प्रकाशित अधिकांश समाचार  राजनीति सम्बन्धी थिए । राजनीति सम्बन्धी समाचारमा नाम नखुलेका स्रोतलाई सबैभन्दा बढी (४५० ठाउँमा) प्रयोग गरिएको थियो । नागरिक र कान्तिपुरमा प्रकाशित राजनीति सम्बन्धी समाचारमा त्यस्ता स्रोतलाई सबैभन्दा बढी (क्रमश: १८३ र ९२ ठाउँमा) उद्धृत गरिएको थियो ।

राजनीतिपछि स्वास्थ्य सम्बन्धी समाचारमा नाम नखुलेको स्रोतलाई सबैभन्दा बढी (१५९ ठाउँमा) प्रयोग गरिएको थियो ।

समाचारमा नाम नखुलेको स्रोत उपयोग गर्नै हुँदैन भन्ने छैन । नेपाल प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन २०७६) को बुँदा नं ४.८(१) मा भनिएको छ, ‘समाचारको विश्वसनीयताका लागि स्रोत उल्लेख गर्नुपर्दछ । स्रोत उल्लेख गर्दा स्रोतलाई गम्भीर क्षति हुने देखिएमा स्रोतको नाम वा पहिचान गोप्य राखी संरक्षण गर्नुपर्दछ ।’

स्रोत र सम्वाददाताको सुरक्षाका लागि स्रोतको नाम/परिचय नखुलाउने चलन पत्रकारितामा छ । तर यस अवधिमा प्रकाशित कतिपय समाचारमा आवश्यकता नभएको ठाँउमा पनि स्रोतलाई गोप्य राखिएको छ ।

उदाहरणका लागि नेपाली भाषामा प्रकाशित हुने एक दैनिक पत्रिकामा प्रकाशित ‘उपत्यकामै २ सय ३९ संक्रमित’ शीर्षकको समाचारमा भनिएको छ: “हामीले हिजो संक्रमित देखिएको सबैलाई सम्पर्क गरेका थियौ‌, एक दुई जनाले हामीले सम्पर्क गरेपछि फोन अफ गर्नुभयो । उहाँहरुलाई अहिले पनि सम्पर्क गर्ने कोसिस गरिरहेका छौं, ” एक कन्ट्याक्ट ट्रेसरले भने, ”ट्रेसीङको सबैभन्दा गाह्रो पाटो भनेकै संक्रमितलाई अस्पतालको आइसोलेसनसम्म ल्याउनु हो।”

त्यस्तै नेपाली भाषामा प्रकाशित हुने अर्को दैनिक पत्रिकामा प्रकाशित ‘बस्ने काठमाडौं, ठेगाना गाउँ’ शीर्षक समाचारमा भनिएको छ: “सुनसरी ठेगाना बताएकी महिलामा संक्रमण पाइएपछि खोजीनीति गर्दा भक्तपुरमा डेरा लिई बसेको पाइयो, ” कन्ट्याक्ट ट्रेसिङमा संलग्न एक स्वास्थ्यकर्मी भन्छन्, ” दाङ र लम्जुङ घर भएका व्यक्तिको डेरा काठमाडौं रहेको पाइयो ।”

नेपाली भाषामा प्रकाशित अर्को दैनिक पत्रिकामा प्रकाशित ‘ठेगाना ढाँट्दै आउँछन् संक्रमित’ शीर्षकको समाचारमा भनिएको छ: एक कर्मचारीले भने, “केरकार गरेपछि भारतीय भन्ने थाहा पाएपछि फर्कायौँ। ”

नेपाली भाषामा प्रकाशित अर्को दैनिक पत्रिकामा प्रकाशित ‘निजीले घटाएनन् पीसीआर शुल्क’ शीर्षकको समाचारमा भनिएको छ :“दुई हजार रुपैयाँमा पीसीआर गर्न सक्दैनौं भनेर हामीले मन्त्रीज्यूलाई नै ज्ञापनपत्र दिइसकेका छौं,” एक निजी ल्याब सञ्चालकले भने।

त्यस्तै अङ्ग्रेजी भाषामा प्रकाशित हुने एक दैनिक पत्रिकामा प्रकाशित ‘ह्याण्डवासिङ्ग स्टेसन वेर इन्स्टल्ड अक्रस द सिटी टु फाइट भाइरस – बट दे ह्याभ नो वाटर’ शीर्षकको अर्को समाचारमा भनिएको छ:  “केही ठाउँमा धाराको बेसिन चोरिएको छ,” काठमाडौं उपत्यका खानेपानी लिमिटेडका एकजना कर्मचारीले भने।

त्यस्तै अङ्ग्रेजी भाषामा प्रकाशित हुने एउटा दैनिक पत्रिकामा प्रकाशित ‘टेन्डर स्क्राप, युरिया सप्लायर एक्युजेज् गभर्मेन्ट अफ अनफेयर ट्रिटमेन्ट’ शीर्षकको अर्को समाचारमा भनिएको छ: “भुक्तानी सम्बन्धी व्यवस्थामा परिवर्तन भएपछि हाम्रो विदेशी आपुर्तीकर्ताले त्यसअनुसार काम गर्न अस्वीकार गर्‍यो र पहिले बाचा गरे अनुसार युरिया मल पठाएन । त्यसैले फेरि सम्झौता गर्न हामीलाई समय लाग्यो,” सैलुङ्ग कम्पनीका एकजना व्यक्तिले भने ।

त्यस्तै अङ्ग्रेजी भाषामा प्रकाशित हुने एक दैनिक पत्रिकामा प्रकाशित ‘कोभिड १९ पुसेस गौतम बुद्ब इन्टरन्याश्नल एयरपोर्ट प्रोजेक्ट फर्दर बिहाइन्ड स्केजुल’ शीर्षक अर्को समाचारमा भनिएको छ: ठेकदारको भनाइ के छ भने प्राविधिकहरू पठाइएमा उनीहरु भाइरसबाट सङ्क्रमित नहुने सुनिश्चित हुनुपर्छ। कसैले त्यस्तो सुनिश्चितता गर्न सक्दैन,” एक जना कर्मचारीले भने।

माथिका समाचारहरुमा स्रोतको परिचय खुलाउँदा उनीहरुको सुरक्षामा आँच आउने देखिँदैन।

यस विषयमा साउथ एशिया चेकले संकलन गरेको तथ्यांक डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री