बिरामी माथि बसेको परेवाबारे सामाजिक सञ्जालमा गरिएको दाबी भ्रामक

Sanjog Shiwakoti / बुधबार, जेठ ५, २०७८

स्राेत : स्क्रिनसट / फेसबुक

अस्पताल शय्यामा सुतिरहेका एक वृद्ध माथि एक परेवा बसिरहेको तस्बिर फेसबुकमा केही दिन यता शेयर भइरहेको छ । एक नर्सले खिचेको दाबी गरिएको उक्त तस्बिरमा ती बिरामी वृद्धलाई कोही भेट्न नआएका तर एउटा परेवा सधैँ आउने र बस्ने गरेको दाबी गरिएको छ ।

निम्न विवरणका साथ उक्त तस्बिर व्यापक रुपमा शेयर भएको छ:

“जुन नर्सले यो तस्बिर खिचिन् उनको भनाइ अनुसार ती वृद्ध उपचारको लागि अस्पत्तालमा भर्ना भएको ३ दिन भयो । आजसम्म पनि उनका परिवारका मान्छे, नालनाता तथा साथीभाइ कोही पनि उनको बारेमा सोधखोज गर्न आएका छैनन् । तर २ दिनजति भयो, एउटा परेवा एकछिन एकछिनमा आउँदै उनको बिस्तरामाथि बस्छ अनि फेरि उडेर जान्छ । पछि यो पत्ता लाग्यो कि त्यो अस्पतालको छेउतिरको बगैँचाको एउटा बेन्चमा बसेर ती बृद्ध व्यक्त्तिले त्यो परेवालाई दिनहुँ चारो दिने गर्दथे ।”

सयौं फेसबुक प्रयोगकर्ताहरुले उक्त दाबी र तस्बिर आफ्ना फेसबुक प्रोफाइल तथा विभिन्न निजी तथा सार्वजनिक फेसबुक ग्रुपहरुमा शेयर गरेका छन् । प्रदिप सापकोटा (Pradip Sapkota) नामक फेसबुक प्रोफाइलबाट ४१८००० जना सदस्यहरु रहेको टियू स्टुडेन्ट्स (TU Students) नामक सार्वजनिक फेसबुक ग्रुपमा जेष्ठ २ गते बिहान शेयर गरिएको पोष्टमा ११०० बढी प्रतिकृया आएका छन् भने २६१ पटक शेयर भएको छ ।

२३ लाख बढीले फलो गरेका सञ्चारकेन्द्र डट कम (sancharkendra.com) की प्रमुख सम्पादक दिया चन्दको आधिकारिक फ्यान पेजबाट शेयर भएको सोही तस्बिर र दाबीमा ५०० भन्दा बढी प्रतिकृया आएको छ भने ४८ पटक शेयर भएको छ । १४ लाख बढीले लाइक र फलो गरेको नेपाली खबर (Nepali Khabar) र ४७ हजार बढीले फलो गरेको उज्यालो समाचार.com नामक मिडियासम्बन्धी फेसबुक पेजमा पनि उक्त सामग्री यहाँ, यहाँ शेयर गरिएको छ । सोही सामाग्री ट्वीटरमा पनि शेयर भएको छ ।

साउथ एसिया चेकले उक्त तस्बिरलाई ‘रिभर्स इमेज सर्च’ गरी तथ्य जाँच गर्दा त्याे फोटो र भिडियो शेयर गर्ने वेबसाइट फ्लिकर (Flickr) मा फेला पर्‍यो । फोटोग्राफर लोआनिस प्रोटोनोटारिएसले ग्रीसको राजधानी एथेन्समा खिचेको आफ्नाे तस्बिर २०७० साल कात्तिक २ गते फ्लिकरमा पोष्ट गरेका थिए । फ्लिकरमा प्रोटोनोटारिएसले आफ्नो बुवा ती बिरामी सँगैको शय्यामा रहेको बताएका छन् ।

श्रोत : स्क्रिनसट / फ्लिकर

यसअघि  यस्तै दाबी अमेरिका लगायतका मुलुक र भारतमा पनि फैलिएको थियो । त्यसबारे भारतको दि क्वीन्टअमेरिकाको यूयसए टूडेले तथ्य जाँच गरेका छन् ।

दि क्वीन्टले फोटोग्राफर लोआनिस प्रोटोनोटारिएससँग सम्पर्क गरी तस्बिरको बारेमा बुझ्दा प्रोटोनोटारिएसले आफ्ना बुवा एथेन्सको रेडक्रस हस्पिटलमा भर्ना भएको बेला तस्बिरमा देखिएका बिरामी र उनको बुवा एकै कोठामा रहेको र उनी कुरुवा बस्ने समयमा एक परेवा आएर ती व्यक्तिको शरीरमा केही समय बसेको बेला उनले त्यो तस्बिर खिचेको जानकारी दिएका थिए । यसैगरी उनले ती व्यक्तिलाई केहीबेर मात्र देखेको दि क्वीन्टले उल्लेख गरेको छ ।

फोटोग्राफर लोआनिस प्रोटोनोटारिएसले करीब ८ वर्ष अगाडि ग्रिसको एथेन्समा खिचेको तस्बिरलाई एक नर्सले खिचेको भन्दै गलत दाबी गरेको पुष्टि हुन्छ । उक्त परेवा बारम्बार ती बिरामीलाई भेट्न आएको देखेर प्रोटोनोटारिएसले उक्त तस्बिर लिएको नभई केहीबेर उनले परेवा देखेको र तस्बिर कैद गरेको तथ्यले फेसबुकमा गरिएको दाबी गलत साबित हुन्छ ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री