भन्ने एक थोक, गर्ने अर्कै थोक
South Asia Check / बिहीबार, मंसिर १९, २०७६
कुनै वेला काठमाडौंमा ट्रली बस चल्थ्यो । फोटोः स्टिभ मोर्गन/विकिपिडिया कमन्स ।
- पेट्रोलियम पदार्थका ठाउँमा अरू इन्धन चलाउने ।
- इन्धनका लागि भारतमाथि मात्र भर नपर्ने ।
- उत्तरका नाका खोल्ने ।
भारतले नाकाबन्दी गरेपछि परेको समस्या समाधान गर्ने अनेक उपाय सामाजिक सञ्जालले धमाधम दिइरहेका छन् । तर विस्तारै तेल पाइएपछि, गाडी चढ्न पाएपछि र ग्यास बाल्न पाएपछि यी उपाय बिर्सिएलान् जसरी यस अघिको नाकाबन्दीका बेला पत्ता लागेका उपाय बिर्सिइएका थिए ।
आजभन्दा २७ वर्ष अघि भारतले नाकाबन्दी गरेपछि त्यसको असर कम गर्न नेपालले आर्थिक नीति २०४६ तर्जुमा गरेको थियो । त्यसमा भनिएको थियो– पेट्रोलियम पदार्थको आपूर्तिका लागि विभिन्न स्रोतको खोजी गरी एकभन्दा बढी स्रोतबाट आपूर्ति गराउने ।
यस्तो नीति लिएको १२/१३ बर्षपछि सन् २००२ मा नेपालले भारतीय आयल कर्पोरेसनबाट मात्रै तेल किन्ने सम्झौता गर्यो । यस्तो सम्झौता मार्च २०१७ सम्म कायम छ ।
अर्थात एकभन्दा बढी स्रोतबाट आपूर्ति गराउने नीति कार्यान्वयन गर्दा एउटासँग मात्रै खरिद गर्ने सम्झौता भयो ।
२०४६ सालमा वाचा गरेको अर्को काम थियो- आयातित इन्धनको आवश्यकता घटाउँदै लैजान हाल संचालित रोपवेको क्षमता पूरा प्रयोगमा लगाउने, ट्रली बस विस्तार गर्ने, विद्युत रेलको स्थपाना गर्ने ।
यो नीतिको कार्यान्यवन गर्नका लागि रोपवे बन्द गरियो, ट्रली बस मासियो र विद्युत रेल स्थापना गर्दै गरिएन ।
नेपालमा रोपवे धेरै पहिलेदेखि चलेको थियो । श्री ३ चन्द्र शमशेरले सन् १९२७ मा धुर्सिङदेखि मातातीर्थसम्म २२ किलोमिटर लामो रोपवे चलाए । यसले घण्टामा ८ टन सामान बोक्थ्यो । यो चलाउनका लागि विदेशबाट ल्याएको पेट्रोलियम पदार्थ चाहिँदैनथ्यो । भारतको नाकाबन्दीले यसलाई छुँदैनथ्यो ।
पञ्चायतकालमा १९६४ मा यसलाई हेटौंडादेखि काठमाडौंसम्म ४४ किलोमिटर लामो पारियो । यसको क्षमता तीनगुणा बढाएर २५ टन पारियो । यसलाई चलाउन ट्रक चलाउन जति इन्धन चाहिँदैनथ्यो, विदेशबाट ल्याएको इन्धन चाहिँदैनथ्यो । यो ढुवानीको सबैभन्दा सस्तो साधन थियो । यस कामका लागि अमेरिकाले सहयोग गरेको थियो ।
सन् २००१ को डिसेम्बरमा सरकारले यो रोपवे चलाउने संस्था नेपाल यातायात संस्थानै मासिदियो ।
रोपवेको क्षमता पूरा उपयोग गर्ने नीति कार्यान्वयन गर्न रोपवे बन्द गरियो ।
सन् १९७५ मा चीनको सहयोगमा काठमाडौंको त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म ट्रली बस चल्न थालेको थियो । यसले एक दिनमा २० हजारसम्म यात्रु ओसार्थ्यो । यो बस चलाउन विदेशबाट ल्याएको तेल चाहिँदैनथ्यो । यसले प्रदूषण पनि गर्दैनथ्यो । तर डिसेम्बर २००१ मा सरकारले ट्रली बस पनि बन्द गरिदियो ।
ट्रली बन्द गर्नुअघि सरकारले केही काम गर्यो । ती यसप्रकार छन्ः
- आठौं पञ्चवर्षीय योजना (१९९२ देखि १९९७) मा सरकारले “आयातित इन्धनको उपभोग घटाउने उद्देश्यले ट्रली बसलाई त्रिपुरेश्वर-किर्तिपुर र थापाथली-पाटन ढोका-पुल्चोकसम्म विस्तार गर्ने” नीति लियो ।
- नवौं पञ्चवर्षीय योजनामा यसलाई काठमाडौंको चक्रपथमा विस्तार गर्ने तथा पूर्वमा विराटनगर-इटहरी-धरान र पश्चिममा भैरहवा-बुटवलमा ट्रली बस चलाउन सम्भाव्यता अध्ययन गर्ने नीति सरकारले लियो ।
- २० सेप्टेम्बर १९९९ मा अर्थमन्त्रालय, राष्ट्रिय योजना आयोग र भौतिक निर्माण योजना तथा यातायात मन्त्रालयको स्वीकृतिमा नेपाल यातायात संस्थानले चीनको एउटा कम्पनीसित एउटा सहमति गर्यो । यस सहमति अनुसार सो कम्पनीले काठमाडौं उपत्यकामा रिङरोड सातदोबाट-गोंगबु-रत्नपार्क-त्रिपुरेश्वर-कलंकी सम्मको ४१ किलोमिटरमा र धरान-विराटनगरको ४४ किलोमिटरमा ट्रली बस फैलाउन प्रस्ताव तयार गर्यो ।
- २० अप्रिल २००० मा सो कम्पनीले यस कामका लागि प्राविधिक र वित्तीय प्रस्ताव बुझायो ।
- अक्टोबर २००१ मा मन्त्रिपरिषदले काठमाडौं-भक्तपुरबीच चलिरहेको ट्रली बस सेवालाई निजीकरण गर्ने निर्णय गर्यो ।
- त्यसको दुई महिनापछि १६ डिसेम्बरमा सरकारले ट्रली बसको सञ्चालक कम्पनी नेपाल यातायात संस्थानलाई खारेज गर्यो ।
पछि २००३ मा थापाथली-त्रिपुरेश्वरको तीन किलोमिटर खण्डमा चलाएर यो सेवा ब्युँताउने प्रयास गरिएको थियो तर यो प्रयास सफल भएन ।
सरकारले यसो किन गरेको होला ?
एउटा कारण हुनसक्छः यसो गर्दा सरकारलाई आम्दानी हुन्छ । आर्थिक वर्ष २०६९/७० मा सरकारले तेल र अन्य इन्धनबाट २२ अर्ब आम्दानी गरेको थियो ।
स्वदेशी इन्धन उपयोग हुने प्रविधि चलाउन छाडेपछि विदेशी इन्धन आयात बढ्दै गएको छ ।
पेट्रोल र डिजेल किलोलिटरमा र ग्यास मेट्रिक टनमा । स्रोतः नेपाल आयल निगम
सन्दर्भ सामग्री
Study for Revival of Kathmandu-Suryabinayak Trolley Bus System, Executive Summary, Report Submitted by CEMAT Consultants to Winrock International-Nepal, June 2002
प्रभात २०७०, नेपाल आयल निगम, २०७०
–
मोहन मैनाली / बिहीबार, आश्विन २८, २०७२
यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस
ताजा सामग्री
- तथ्य जाँच टुकुचा खोलामाथि नारायणहिटी दरबार बनेको भन्ने दाबी भ्रामक
- तथ्य जाँच मेवाको पात डेङ्गीको अचुक औषधि भन्ने तर्क भ्रामक
- साझा सरोकार कसरी लिने क्यु आर कोड सहितको कोभिड खोप प्रमाणपत्र?
- तथ्य जाँच मेयर शाह र राष्ट्रपति भण्डारीको फोटो तीन महिना पुरानो
- तथ्य जाँच तारा एयरको दुर्घटनाको भनिएको फोटो पाँच महिना पुरानो
- तथ्य जाँच स्थानीय चुनावमा अन्तर्राष्ट्रिय उडान* बन्द हुने दाबी गलत