हाम्रा बारे

साउथ एशिया चेकले सार्वजनिक छलफल र सञ्चार माध्यमका सामग्रीमा यथार्थ प्रवर्द्धन गर्ने प्रयास गर्छ । हामी नेपालका (कहिलेकाहिँ दक्षिण एशियाका अरू देशका समेत) सार्वजिनक पद धारण गरेका व्यक्तिका भनाइ र दाबी कति सही छन् भनी जाँच्छौं र हामीले पाएका कुरा यस साइटमा प्रकाशित गर्छौं । यो अरूमाथि दोष थोपर्ने प्रयास होइन बरू राजनीति र सञ्चार माध्यममा स्वच्छता, सत्यतथ्य र उत्तरदायित्व बढाउने कोशिश हो ।
साउथ एशिया चेक दक्षिण एशिया र संसारका अन्य देशमा १९९७ देखि कार्यरत गैरनाफामुखी सञ्चार विकास संस्था पानस साउथ एशियाको एउटा प्रयास हो । यो काम सम्पादकीय दृष्ट्रिले स्वतन्त्र जाँचकीको टोलीले गर्छ ।
हामी मूलतः यी काम गर्छौः
तथ्य जाँच
हामी राजनीतिज्ञ, सार्वजनिक पद धारण गरेका व्यक्ति (मन्त्री, कर्मचारी र कुटनीतिज्ञ), बहुपक्षीय संस्था तथा सार्वजनिक सरोकारका विषयमा अध्ययन/अनुसन्धान गर्ने संस्थाका मानिसका भनाइ र दाबी सत्य हुन् कि होइनन् भनी जाँच्छौं । हामी सूचनाको मूल स्रोतमै गएर ती भनाइ र दाबी उनका हुन् कि होइनन् भनी जाँच्छौं । त्यसपछि ती भनाइ र दाबी सत्य छन् कि छैनन् भनी हेर्छौं ।
आश्वासन निगरानी
सार्वजनिक निकाय तथा सार्वजनिक ओहदामा बसेका मानिसहरूले नीति वक्तव्य तथा कार्यक्रम अनि भाषणमार्फत् विभिन्न किसिमका आश्वासन दिने गरेका छन् । तीमध्ये कति आश्वासन पूरा गरिँदैनन् । यस स्तम्भमा हामी यस्ता वाचा पूरा भए कि भएनन् भनी हेर्छौं ।
साझा सरोकार
यस खण्डमा हामी सार्वजनिक चासोका विषयका स्टोरी राख्छौं । यी स्टोरी कसैका भनाइ वा दाबीमा आधारित हुँदैनन् । समाचार, अनुसन्धान, प्रतिवेदन, तथ्यतथ्यांक जस्ता सार्वजनिक जानकारीका आधारमा स्टोरी तयार गरिनेछन् । हामी राष्ट्रिय महत्वका अन्य समसामयिक विषयमा पनि स्टोरी तयार गर्छौं । 
सञ्चार माध्यम
सञ्चार माध्यमले वाचडगको भूमिका निर्वाह गर्नुपर्छ । हामी यस कुरालाई आत्मसात गर्छौं । दक्षिण एसियाका सञ्चार माध्यमले यो भूमिका धेरै हदसम्म निर्वाह गरेका छन् । हामी सञ्चार माध्यमलाई आफ्नो यो भूमिकाको रक्षा गर्ने काममा सहयोग गर्न चाहन्छौं । सञ्चारमाध्यम हाम्रा साथी हुन् । यस स्तम्भ अन्तर्गत हामी सुरूमा नेपाली र अंग्रेजी भाषाका मुख्य दैनिक र साप्ताहिक पत्रिकाका निश्चित ठाउँका सामग्रीमा अज्ञात स्रोतको कति उपयोग भएको छ भनी हेर्छौं । हामी आवश्यकता अनुसार हाम्रो कार्यक्षेत्र विस्तार गर्छौं ।
पानोस साउथ एशिया नेपाल र दक्षिण एशियामा प्रजातन्त्रलाई सुदृढ बनाउन राजनीति र पत्रकारितालाई बढी उत्तरदायी बनाउनु पर्छ भन्ने कुरामा विश्वास राख्छ ।
सार्वजनिक पद धारण गरेका व्यक्तिले आफूले गरेका दाबी प्रति उत्तरदायी हुनु जरुरी हुन्छ । सार्वजनिक पद धारण गर्ने व्यक्तिलाई उत्तरदायी बनाउने भूमिका बोकेका सञ्चार माध्यम पनि पूर्वाग्रही हुनसक्छन् । कहिलेकाहिँ त सञ्चारमाध्यमले तथ्यको गलत ब्याख्या पनि गर्छन् ।
तथ्य जाँचकीहरू पूर्ण रुपमा निष्पक्ष र स्वतन्त्र हुनुपर्छ । त्यसैले हाम्रा तथ्य जाँचकीहरू कुनै पनि राजनीतिक दल र ती दलसँग आवद्ध कुनै पनि संस्था अथवा पेशागत संगठनका सदस्य हुनुहुँदैन । अरुका आँखामा पूर्वाग्रही अथवा पक्षपाती देखिने अथवा कुनै व्यक्ति वा संगठनलाई बदनाम गर्ने वा हानि पुर्‍याउने वा भेदभाव गर्ने खालको देखिनु हुँदैन ।
सार्वजनिक पदमा बसेका मानिसका भनाइमा भएका तथ्य जाँच गर्न र सार्वजनिक चासोका विषयका खोजमूलक सामग्री तयार गर्नु भनेको संवेदनशील काम हो । त्यसैले तथ्य जाँच गर्न र खोज गर्न उच्चस्तरीय पेशागत मापदण्ड अपनाउनुपर्छ ।
यी काम गर्दा हामीले अपनाउने आचारसंहिता निम्न वमोजिम छ । हामी यसलाई आवश्यकता अनुसार परिमार्जन गर्नेछौँ ।

तथ्यजाँचकीले पालना गर्ने आचारसंहिता
तथ्यजाँचकीले निम्न आचारसंहिता सधैँभरि पालना गर्नुपर्छड्ड
१. सार्वजनिक पद धारण गरेका व्यक्तिहरुका* भनाइमा भएका तथ्य जाँच गर्दा निष्पक्ष र स्वतन्त्रता ढंगले गर्नुपर्छ । यसो गर्दा कसैको दवाव वा लोभलालचमा पर्नुहुँदैन ।
२. तथ्य जाँचका काममा कुनै पनि किसिमको पूर्वाग्रह देखाउनु हुँदैन ।
३. फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमा कुनै पनि किसिमको पक्षधरता वा पूर्वाग्रह देखिने खालका विचार व्यक्त गर्नुहुँदैन । यो कुरा सधैँभरि ख्याल राख्नुपर्छ ।
४. कुनै पनि किसिमको सार्वजनिक मञ्चमा राजनीतिक अथवा विचारगत टिप्पणि गर्नुहुँदैन ।
५. कुनै पनि किसिमको घृणा वा जातीय द्वेष फैलाउने काम गर्नुहुँदैन ।
६. कुनै पनि सञ्चारमाध्यम अथवा अरु खालका संस्थाको पूर्णकालीन कर्मचारी हुनुहुँदैन ।
७. पाठकबाट प्राप्त सल्लाह र स्टोरी आइडिया ग्रहण गर्नका लागि तयार हुनुपर्छ ।
८. प्रकाशित सामग्रीका बारेमा आलोचना वा टिप्पणि स्वीकार गर्नुपर्छ । त्यसका आधारमा प्रकाशित सामग्रीमा सुधार गर्नु आवश्यक छ कि भनेर ध्यान दिनुपर्छ । सुधार गर्नु पर्ने त्यसका लागि कदम चाल्नुपर्छ ।
९. गल्ति हुनै नदिन सबै खालका प्रयास गर्नुपर्छ । तर आफैँ वा पाठकले गल्ति पत्ता लगाएका खण्डमा गल्ति भएको कुरा स्वीकार गरी त्यसलाई तत्काल सच्याउनुपर्छ । प्रकाशित सामग्री कुनै पनि हालतमा मेट्नु हुँदैन ।

* सार्वजनिक पद धारण गरेका व्यक्ति भन्नाले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सर्वोच्च र पुनरावेदन अदालतका न्यायाधीश, कर्मचारी, कुटनीतिज्ञ, व्यवसायी, सेलिब्रेटी (मुभी स्टार, गायक, संगीतकार आदि) पर्दछन् ।
हामीले प्रकाशित गरेका सामग्रीमा भूल भएमा हामी तुरुन्तै भूलसुधार गर्छौँ । यसका लागि हामी भूल सुधार गरिएका ठाउँमा चिन्ह दिन्छौँ र रिपोर्टको अन्त्यमा के गल्ति सुधार गर्‍यौँ भनी स्पष्टीकरण दिन्छौँ । व्याकरणसँग सम्बन्धित सामान्य खालका भूल सुधार्दा भने जानकारी दिँदैनौँ । तथ्यजाँचको निर्णय फेरबदल गर्नुपर्ने खालका भूल अहिलेसम्म हामीले गरेका छैनौँ ।
निर्वाचित भएका तथा नभएका सार्वजनिक पद धारण गर्ने व्यक्तिहरूले रेडियो, टेलिभिजन, पत्रपत्रिका र सामाजिक सञ्जालमा दिएका अभिव्यक्ति, सामाजिक सञ्जालमा भायरल भएका फोटो र अफबाहको तथ्य जाँच गर्छौँ ।
कसैको तथ्ययुक्त अभिव्यक्ति जाँच गर्ने कि नगर्ने भन्नका लागि हामी निम्न कुरा हेर्छौः
पहिलो कदम
त्यो अभिव्यक्ति उसले साँच्चै दिएको हो कि उसले दिएको भनी अरूले यसै राखिदिएको हो ? यसका लागि हामी त्यस्तो अभिव्यक्तिको अडियो अथवा भिडियो खोज्दछौँ । अभिव्यक्ति दिनेले उसको सामाजिक सञ्जालको अकाउन्टबाट त्यस्तो अभिव्यक्ति दिएको रहेछ भने त्यसलाई पनि उसले दिएको अभिव्यक्ति मान्छौँ । आवश्यक परेमा अभिव्यक्ति दिएको भनिएको व्यक्तिलाई सम्पर्क गरेर त्यस्तो अभिव्यक्ति दिएको हो कि होइन भनी सोध्न पनि सकिन्छ ।
अभिव्यक्ति दिएको हो भन्ने निश्चित भइसकेपछि त्यो अभिव्यक्तिमा प्रयोग भएका आंकडा कति महत्त्वपूर्ण वा कति संवेदनशील छन् भनी हेर्छौँ । महत्त्वपूर्ण र संवेदनशील छ भने त्यसको तथ्य जाँच गर्छौँ ।

दोस्रो कदम
अभिव्यक्तिमा प्रयोग भएका आंकडा सही छन् कि छैनन भन्नका लागि हामी निष्पक्ष र ख्यातिप्राप्त संस्थाका विश्वसनीय र सार्वजनिक रुपमा उपलब्ध प्रकाशन अध्ययन गर्छौँ । उदाहरणका लागि, पहिले प्रकाशित सरकारी आंकडा, जनगणना, किताब तथा जर्नल आदि ।
सार्वजनिक रुपमा उपलब्ध कागजात/तथ्यांक/प्रमाणका आधारमा कसैको अभिव्यक्ति सही वा गलत भनी भन्न नसकिने भएका खण्डमा हामी तथ्य जाँच गर्दैनौँ । तथ्य जाँच गर्दा सही ठहरियो भने पनि हामी सामान्यतया तथ्यजाँच प्रकाशित गर्दैनौँ । यदि त्यस्तो अभिव्यक्ति गलत हो भन्ने आम मानिसको धारणा छ भन्ने लागेमा भने हामी अभिव्यक्ति सही ठहरियो भने पनि तथ्यजाँच प्रकाशित गर्छौँ ।

तेस्रो कदम
एकजनाले तथ्य जाँच गरिसकेपछि उसको तथ्य जाँच सही छ कि छैन भनी अर्को जनाले जाँच गर्छौँ । त्यस जाँचमा सही ठहरियो भने मात्र हामी तथ्य जाँच प्रकाशित गर्छौँ ।

पाठकले जाँच्न सक्ने
हामीले गरेका तथ्य जाँच सही छन् कि छैनन भनी जाँच गर्न पाठकलाई सजिलो होस भनेर हामीले सन्दर्भ र प्रमाणका रुपमा लिएका सामग्रीको उल्लेख तथ्यजाँचमा दिने गरेका छौँ ।

पाठकबाट सहयोगको अपेक्षा
सार्वजनिक पद धारण गरेका व्यक्तिले दिएका अभिव्यक्तिको तथ्य जाँच गर्नुपर्छ जस्तो लागेमा पाठकले हामीलाई फ्याक्ट चेकका लागि अनुरोध गर्न सक्नुहुनेछ । यस्तो अनुरोध [email protected] मा गर्न सकिन्छ ।
दीपक अधिकारी
सम्पादक
दीपक अधिकारी साउथ एसिया चेकका सम्पादक हुन् । विगत एक दशकदेखि उनका समाचार र फिचर विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सी र प्रकाशनहरुमा प्रकाशित हुँदै आएको छ । उनले फ्रेञ्च समाचार संस्था एएफपी र जर्मन समाचार संस्था डिपिएको नेपालस्थित संवाददाताको रुपमा काम गरेका छन् । उनका सामग्री न्यु योर्क टाइम्स, द गार्जियन, अल जजिरा, टाइम म्यागाजिनजस्ता पत्रपत्रिकामा छापिएका छन् । उनका लामा आलेख भारतको द क्याराभान र हिमाल साउथएसियनमा प्रकाशित छन् । उनका आलेख दुई पुस्तक (ग्गारिसन्स माइन्ड र द क्याराभान बुक अफ प्रोफाइल्स) मा प्रकाशित छन् ।
ट्वीटर:

मोहन मैनाली
पुर्व सम्पादक
पुर्व सम्पादक मोहन मैनालीले विभिन्न सञ्चारमाध्यममा २० वर्षभन्दा बढी समय बिताइसकेका छन् । उनले धेरैवटा भिडियो डकुमेन्ट्री बनाउनुका साथै पुस्तक पनि लेखेका छन् । उनको पुस्तक 'मान्ठा डराएको जुग' ले २०७१ सालको पद्मश्री पुरस्कार पाएको थियो ।

दिलिप ढकाल
कपी इडिटर
ढकालले नेपालका मुख्य सञ्चारमाध्यममा १५ वर्षभन्दा बढी समय काम गरिसकेका छन् । २०१२ देखि २०१५ सम्म उनले पानोस साउथ एशियाको मिडिया अनुगमन टोलीको नेतृत्व गरेका थिए । उनले त्रिभूवन विश्ववद्यालयबाट एमबीए गरेका छन् ।
ट्वीटर:

इन्जिना पन्थी
रिपोर्टर
पन्थीले पत्रकारिता तथा आमसञ्चारमा स्नातक र अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिमा स्नातकोत्तर गरेकी छिन । उनी त्रिभूवन विश्विद्यालयमा स्नातकोत्तर तहमा अध्यापन पनि गर्छिन । साउथ एशिया चेकमा आउनु अघि उनी स्वतन्त्र पत्रकारका रूपमा महिलाका विषयमा फिचर लेख्ने गर्थिन ।
ट्वीटर:

सन्जोग सिवाकोटी
रिपोर्टर
सिवाकोटी साउथ एसिया चेकमा आउनु अघि एक दशक देखि स्वतनत्र फोटोग्राफर र डिजिटल सञ्चार बजार व्यवस्थापकका रुपमा काम गरिसकेका छन् । उनले पत्रकारिता तथा आमसञ्चारमा स्नातक र दिगो विकासमा स्न्नातकोत्तर गरेका छन् ।
ट्वीटर:
 

प्राप्त सहयोग
अमेरिकी डलर ७६७९ (२०१३, एफओएसआई)
अमेरिकी डलर ४०,००० (२०१६, एनईडी)
अमेरिकी डलर ४१,४०० (२०१७, एनईडी)
अमेरिकी डलर ३१,७५५ (२०१६, ओएसएफ)
अमेरिकी डलर ३६,२३० (२०१९, ओएसएफ)
अमेरिकी डलर ३३,७४३ (२०२०, ओएसएफ)