मेवाको पात डेङ्गीको अचुक औषधि भन्ने तर्क भ्रामक

South Asia Check / मंगलबार, भाद्र २८, २०७९

प्रविण भट्ट/साउथ एसिया चेक

पछिल्ला केही हप्तादेखि नेपालका अधिकांश स्थानमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी बिमारीको प्रकोप बढ्दो छ। महामारी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा अहिलेसम्म ९ हजारभन्दा बढी मानिस डेङ्गीबाट ग्रस्त भइसकेका छन् । बागमती प्रदेशमा मात्रै यस बिमारीबाट ग्रस्त हुनेको सङ्ख्या ७ हजारभन्दा बढी पुगिसकेको छ । 

समुदाय स्तरमै बिमारी फैलिसकेको अवस्थामा कतिपय बिरामीले अरुको लहलहैमा लागेर घरेलु उपचार गर्न थाल्छन् । डेङ्गीको सन्दर्भमा  मेवाको पातको रसले यो बिमारी निको हुने तर्क फैलिएको छ । खासगरी सामाजिक सञ्जालमा यसले व्यापकता पाएको छ ।   

सृजना गोपालको टिकटक भिडियो स्क्रिनसट

यही तर्कसहितको सृजना गोपाल नामक टिकटक प्रयोगकर्ताको भिडियो आजसम्म ७ लाख ५० हजार भन्दा बढी पटक हेरिएको छ । भिडियोमा २९ हजारभन्दा बढी लाइक रहेको छ, र यो ५ हजारभन्दा बढीपटक सेयर भएको छ ।

भिडियोमा उनी दाबी गर्छिन्, “यो मेवाको पत्ता डेङ्गी रोगको लागि अचुक औषधि, म पनि डेङ्गी रोग निको भएर भर्खर उठेको हो । … ज–जसलाई रोग लागेको छ यसको जुस खानुस, छिटो निको हुन्छ । हस्पिटल जानु पर्दैन, एकदम फाइदा गर्छ ।”

सामुदाय स्तरमै फैलिएको र टिकटकमा पनि भाइरल भैरहेको यो दाबीको हामीले तथ्य जाँच गरेका छौं ।  

यस दाबीबारे हामीले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकुस्थित अनुगमन, अनुसन्धान तथा सम्बन्ध शाखाका प्रमुख, डा. प्रकाश ज्ञवालीलाई सोध्यौं । डा. ज्ञवालीले यो दाबीको खण्डन गर्नुभयो । मेवाको पातले डेङ्गीको उपचार नगर्ने बताउँदै उहाँले भन्नुभयो, “यो एन्टीभाइरल प्रोपर्टी हैन । तर, यसले डेङ्गीका कारण शरीरमा प्लेटलेटको मात्रा घटेको अवस्थामा त्यसलाई केही बढाउन उपयोगी भने हुन सक्छ ।”

यसबारे थप जानकारीका लागि हामीले “पवमेड” नामक चिकित्सा सम्बन्धी अध्ययन प्रकाशन हुने जर्नलमा खोज गर्यौं । सन् २०२१ मा “फ्रन्टियर्स”मा प्रकाशित एक लेखले डेङ्गीले ग्रस्त बिरामीहरुमा प्लेटलेटको मात्रा बढाउन मेवाको पातले सहयोग गर्ने गरेको तथ्य उजागर गरेको छ । तर, यसले कसरी प्लेटलेटको मात्रा बढाउँछ भन्नेतर्फ अनुसन्धान कमै मात्र भएको बताएको छ।

भाद्र २७ मा स्वास्थ्य खबरमा प्रकाशित लेखमा डा. शेर बहादुर पुनले डेङ्गीको खास औषधि नभएको उल्लेख गरेका छन्। डा. पुनले हल्लाका भरमा जथाभावी रुपमा मेवाको पात प्रयोग नगर्न समेत सुझाव दिएका छन्। 

उसो त, डेङ्गी आफैं निको हुने तथा केही अवस्थामा मात्र गम्भीर रुप लिने कुरा विश्व स्वास्थ्य संगठनले पनि बताएको छ । चिकित्सकहरुले लक्षणका आधारमा उपचार गर्ने गरेका छन्। डेङ्गी गम्भीर चरणमा खतरनाक हुनसक्ने भएकाले सतर्क रही डाक्टरको सल्लाहबमोजिम उपचार गर्नु उचित हुन्छ ।

तसर्थ, मेवाको पात डेङ्गी बिमारीको अचुक औषधि होइन । बरु, आयुर्वेदिक चिकित्सकका अनुसार मेवाको पातले डेङ्गीका कारण घट्ने प्लेटलेटको मात्रा केही बढाउन सहयोग गर्न सक्छ तर, चिकित्सकीय सल्लाहबिना यसको प्रयोग घातक पनि हुन सक्छ ।

तथ्यजाँचः

दाबीः मेवाको पातको रस डेङ्गी बिमारीको अचुक औषधि हो ।

दाबी गर्नेः टिकटक प्रयोगकर्ता।

तथ्यजाँचः भ्रामक । मेवाको पात डेङ्गी बिमारीको अचुक औषधि होइन । यसले डेङ्गी सङ्क्रमण हुँदा घटेको प्लेटलेटको मात्रालाई केही बढाउन भने सहयोग गर्न सक्छ। 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री