सेनामा बेश्यावृत्ति भत्ता दिइन्थ्यो भन्ने आहुतीको दाबी गलत

South Asia Check / शुक्रबार, मंसिर २०, २०७६

केही दिनअघि पोखरामा भएको नेपाल लिट्रेचर फेस्टिभलको एउटा सत्रमा कवि, लेखक तथा एमाओवादीका पोलिटब्युरो सदस्य आहुती(तस्वीरमा‍ माइक्रोफोन समातेका) ले भनेः

‘३१ सालसम्म सैनिक कानुनभित्र के…रहेछ भने सेकेन्ड लेफ्टिनेन्टमा ट्रेनिङ गर्न आउनेहरूलाई बेश्यावृत्ति गर्न पनि भत्ता दिइन्थ्यो।’ (हेर्नुस् भिडियो)

एमाओवादी नेता आहुतीको भनाई तथ्यसंगत छ/छैन भन्ने जाँच्न उनीसँग सम्पर्क गरी यस्तो अभिव्यक्तिको स्रोत खुलाउन आग्रह गर्दा उनले भने, ‘भुक्तभोगीहरूले यो सब भनेपछि थाहा पाएको हुँ। यो सब कुरा सैनिक नियमावलीमा होला।’

साउथ एसिया चेकले शाही सेना (दैनिक तथा भ्रमण भत्ता) नियमहरू–२०२७, सैनिक मनोरञ्जन अनुदान (प्रदान गर्ने) नियमहरू–२०२१, सेना भर्ना (विशेष व्यवस्था) नियमहरू–२०१८, शाही नेपाली सैनिक नयाँ भर्ना नियमहरू–२०१९, सैनिक विदा नियम–२०१९, पाइनियर गण नयाँ भर्ना नियम–२०२०, शाही नेपाली सैनिक नियुक्ति, प्रमोशन र अरू विविध व्यवस्थाका साधरण नियमहरू–२०२० लगायत नियमावली हेर्दा कतै पनि सेकेन्ड लेफ्टिनेन्टमा तालिम लिन आउनेलाई वेश्यावृत्ति गर्न भत्ता दिने कुरा उल्लेख भएको पाएन।

नेपाली सेनाका पूर्वब्रिगेडियर जनरल डा. प्रेमसिंह बस्न्यात भन्छन्, ‘नेपाली सेना मात्र होइन, संसारको कुनै पनि सेनाले वेश्यावृत्ति गर्न भनेर भत्ता दिने काम गर्दैन ।’

तसर्थ, आहुतीको यो भनाई गलत छ।

सुजित मैनाली / बिहीबार, माघ २१, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री