अख्तियार प्रमुख कार्कीको भौतिक संरचनासम्बन्धी भनाइ तथ्यसङ्गत भएन

South Asia Check / शुक्रबार, मंसिर २०, २०७६

माघ २८ को नयाँ पत्रिकामा अख्तियार दुरूपययोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको लेख ‘अख्तियारमा अढाइ वर्षः मेरो अनुभव’ मा लेखिएको छः “विगत ६०-७० वर्षअघि बनेका सडक, प्रशासनिक भवन, पुल पुलेसा आदि भौतिक संरचनाले नै विकासको आधार धानेको छ।“

कार्कीले भनेझैं दशकौ अगाडि बनेका भौतिक संरचनाले नै विकासको आधार धानेका छन् वा छैनन् भन्ने कुरा हेर्न साउथ एशिया चेकले ६०- ७० वर्ष पहिले र अहिलेको नेपालको भौतिक संरचनाको अवस्थाको तुलना गर्‍यो । यसका लागि २००७ साल अघि, २०१३/१४ मा पहिलो पञ्च वर्षीय योजना लागू हुनुअघि र अहिले केही क्षेत्रका भौतिक संरचनाका तथ्याङ्क केलायो।

यसो गर्दा के पाइयो भने भौतिक संरचनाका क्षेत्रमा ६० देखि ७० वर्षमा नेपालमा धेरै गुणा विकास भएको छ। उदाहरणका लागि २००७ सालअघि सम्म नेपालमा २७३ किलोमिटर मात्र सडक थियो । २०१३/१४ मा पहिलो पञ्च वर्षीय आयोजना सुरू हुँदासम्म ६२४ किलोमिटर पुगेको थियो । अहिले ८०,०७८ किलोमिटर भएको छ। त्यसैगरी २००७ साल सम्म १,४०० किलोवाट मात्र उत्पादन हुन्थ्यो विद्युत भने २०७२ मा ७७० मेगावाट पुगेको छ

२०३३ सालमा प्रकाशित सरकारी भवनको अभिलेख पुस्तकमा देशभरि ४४७६ भवनहरू रहेको उल्लेख छ। शहरी विकास मन्त्रालयको व्यवसायिक योजना २०७१ अनुसार आर्थिक वर्ष २०६८/६९ सम्म देशभरिका सरकारी भवनहरूको सङ्ख्या ३७१,६०४ पुगेको थियो।

त्यसैले दशकौ अगाडि बनेका भौतिक संरचनाले नै विकासको आधार धानेको भन्ने लोकमान सिंह कार्कीको भनाइ गलत हो।

 

 

 

स्रोतः  आर्थिक सर्वेक्षण २०७१|७२ , नेपाल विद्युत प्राधिकरण वार्षिक प्रतिवेदन , राष्ट्रिय योजना आयोग  , पञ्चायत स्मारिका, आर्थिक सर्वेक्षण २०७१्|७२ , नेपाल नागरिक उड्डयन प्राधिकरण

 

भृकुटी राई / सोमबार, फाल्गुण ३, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री