नेपाली सेना संसारको सबैभन्दा बढी समावेशी?

South Asia Check / शुक्रबार, मंसिर २०, २०७६

२०७२ मंसिर २९ गते रक्षा मन्त्री भीम रावलले नेपाली सेना संसारकै समावेशी सेना हो भनेका छन्। उनले भनेका छनः नेपालको जस्तो समावेशिता, समानुपातिक -१२५ जाति समुदायको देशमा- सेनाले समेत समानुपातिक बनाएको यस्तो त मैले संसारमा –मलाई ल्याएर कसैले देखाइदेओस- कहीँ पनि छैन भन्ने कुरामा म दोहोर्‍याइ, तेहेर्‍याइ भन्न चाहन्छु । रावलले बोलेको भिडियो हेर्नुस्

Source: www.nepalarmy.mil.np

साउथ एशिया चेकले रावलको दाबी सही छ कि छैन भनी हेर्न दुईवटा कुरा जाँच्योः

नेपाली सेनाको अहिलेको बनावट संसारको सबैभन्दा बढी समावेशी हो कि होइन ?

नेपाली सेनासम्बन्धी कानुनी प्रावधान संसारको सबैभन्दा बढी समावेशी हो कि होइन ?

यी कुराको जाँच दुईवटा आधारमा गरियोः

१. नेपाली सेनामा विभिन्न जातजातिको प्रतिनिधित्व

२. नेपाली सेनामा महिलाको प्रतिनिधित्व

अहिलेको बनावटका आधारमा नेपाली सेना संसारको सबैभन्दा बढी समावेशी हो कि होइन ?

जातीय बनोट

नेपाली सेनाको तथ्याङ्क अनुसार हाल नेपाली सेनाको जातीय बनोट यस प्रकार छः

जातजाति जनसङ्ख्याको प्रतिशत (२०११ जनगणना) नेपाली सेनामा प्रतिनिधित्व प्रतिशत
क्षेत्री १६.६० ४३.५०
ब्राह्मण १२.६९ ८.६४
मगर ७.१२ ७.३८
नेवार ४.९९ ६.४१
तामाङ् ५.८१ ५.५६
ठकुरी १.६० ३.५१
गुरूङ १.९७ ३.१२
कामी ४.७५ २.९६
थारू ६.५६ ५.०२
यादव ३.९८ ०.२३

अमेरिकाको रक्षा विभागको सन् २०१२ को एक अध्ययन  अनुसार त्यहाँको सेनामा अल्पसङ्ख्यक समूहको मात्रा ३०.३ प्रतिशत छ। यो उनीहरूको जनसङ्ख्याको अनुपातमा (२२.६) भन्दा बढी हो ।

भारतीय सेनामा उत्तर प्रदेश राज्यबाट मात्र जनसंख्याको समानुपातिक प्रतिनिधित्व भएको छ । भारतको कूल जनसङ्ख्याको १६.४९ % मानिस भएको सो राज्यको सेनामा १४ प्रतिशत प्रतिनिधित्व रहेको भारतको रक्षा मन्त्रालयले २०१३ को तथ्याङ्कले देखाएको छ।

कम जनसङ्ख्या भएका राज्यहरू जस्तै राजस्थान (कूल जनसङ्ख्याको ५.६ प्रतिशत), पन्जाब (कूल जनसङ्ख्याको २.३ प्रतिशत) र महाराष्ट्रको (कूल जनसङ्ख्याको ९.२ प्रतिशत) सेनामा प्रतिनिधित्व ७-८ प्रतिशत हाराहारीमा रहेको छ । कूल जनसङ्ख्याको ४.०८ प्रतिशत ओगटेको राज्य आन्ध्र प्रदेशको सेनामा प्रतिनिधित्व ६ प्रतिशत रहेको छ।

लैंगिक बनोट 

नेपाली सेनाका अनुसार नेपाली सेनामा नोभेम्बर २०१५ सम्ममा महिलाको मात्रा

झन्डै ३.५ प्रतिशत थियो ।

अमेरिकी सेनाको २०१५ को आङ्कडा अनुसार त्यहाँको सेनामा १६.३ प्रतिशत  महिला छन् ।

भारतीय सेनामा महिला २.४४ प्रतिशत मात्र छन्।

महिलाको प्रतिनिधित्वका आधारमा नेपाली सेना भारतीय सेनाभन्दा बढी समावेशी भए पनि अमेरिकी सेना जति समावेशी छैन।

त्यसैले अहिलेको बनोटका आधारमा नेपाली सेना संसारको सबैभन्दा बढी समावेशी छ भन्ने दाबी गलत हो ।

अहिलेको कानुनी प्रावधानका आधारमा नेपाली सेना संसारको सबैभन्दा बढी समावेशी हो कि होइन ?

सैनिक ऐनमा सन् २००६ मा भएको संशोधनले नेपाली सेनामा ४५% सीट आरक्षण गरेको छ। आरक्षित सीटको बाँडफाँट निम्नवमोजिम छः

समूह       आरक्षित सिट

महिला      २०%

जनजाति   ३२%

मधेसी       २८%

दलित        १५%

ग्रामीण भेग  ५%

साउथ एशिया चेकले अरू देशका सेनासम्बन्धी कानुनी प्रावधान हेरेर नेपाली सेना संसारको सबैभन्दा बढी समावेशी हो कि होइन भनी जाँच गर्न खोज्दा यसै हो भनी यकिन गर्न सक्ने आधार पाएन ।

 

BHRIKUTI RAI / बुधबार, पौष ८, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री