चीनसँगको व्यापार घाटा अनुपात भारतसँगको भन्दा धेरै बढी

South Asia Check / शुक्रबार, मंसिर २०, २०७६

बाडालिङस्थित चीनको ‘ग्रेट वाल’। तस्बिर : दिलीप ढकाल/साउथ एसिया चेक

कान्तिपुर टेलिभिजनबाट प्रसार हुने कार्यक्रम ‘फायरसाइड‘मा वाणिज्य र श्रम तथा रोगजारमन्त्रालय सम्हालिरहेका मन्त्री दीपक बोहोराले भनेः

१. अहिले चीनसँगको हाम्रो व्यापारको स्थिति के छ भने करिब करिब ४४ प्रतिशत आयात, त्यसको चाहिँ निर्यातको हिसाब एक, अर्थात ४४:१ (को अनुपात छ)।

२. भारतसँग हाम्रो व्यापार घाटा १:१० छ। हामी पाँच सय बिलियन भोलुमको (सामान) भारतबाट ल्याउँछौं, हामी चाहिँ २० बिलियनको मोटोमोटी उता पठाउँछौं।

३. अन्दाजी ४० लाखजति (नेपाली) युवा विदेशमा छन्।

४. नेपालको जिडिपीमा (रेमिट्यान्स)को करिब करिब २९ प्रतिशतजति योगदान छ।

साउथ एसिया चेकले मन्त्री बोहोराका यी भनाई सही छन्/छैनन् भनि जाँचेको छ।

१. नेपाल र चीनबीचको व्यापार ४४:१ को अनुपातमा छ।

अर्थमन्त्रालयले तयार पारी सार्वजनिक गरेको नेपालको आयात–निर्यातसम्बन्धी पछिल्लो पूर्ण रिपोर्ट ‘नेपाल फोरेन स्टाटिस्टिक्स २०१४/१५‘ हो। यसअनुसार आर्थिक वर्ष २०१४/१५ मा नेपालले चीनतर्फ दुई अर्ब रुपैयाँ (२,०६,०७,२२,०००) को निर्यात गर्‍यो भने चीनबाट ९९ अर्ब रुपैयाँभन्दा बढी (९९,२८,१४,२९,०००) को आयात गर्‍यो। त्यस वर्ष चीन र नेपालबीचको व्यापारको अनुपात ४८:१ थियो।

यस आधारमा चीनसँगको हाम्रो व्यापार ४४:१ को अनुपातमा छ भन्ने मन्त्री बोहोराको भनाई लगभग सही छ।

२. भारतसँग हाम्रो व्यापार घाटा १:१० छ। हामी पाँच सय बिलियन भोलुमको (सामान) भारतबाट ल्याउँछौं, हामी चाहिँ २० बिलियनको मोटोमोटी उता पठाउँछौं।

‘नेपाल फोरेन स्टाटिस्टिक्स २०१४/१५’का अनुसार आर्थिक वर्ष २०१४/१५ मा नेपालले भारततर्फ साढे ५५ अर्ब रुपैयाँभन्दा बढी (५५,६७,५१,०७,००० अर्थात ५५ बिलियन) को निर्यात गर्‍यो भने भारतबाट पाँच खर्ब रुपैयाँभन्दा बढि (५,०७,५६,१५,७८,००० अर्थात ५०७ बिलियन)को आयात गर्‍यो। त्यस वर्ष नेपाल र भारतबीचको व्यापारको अनुपात १:९ थियो।

तसर्थ, नेपाल र भारतबीचको व्यापार १:१० को अनुपातमा छ भन्ने मन्त्री बोहोराको भनाई लगभग सही छ।

नेपालले भारतबाट पाँच सय बिलियन रुपैयाँको आयात गर्छ भन्ने उनको भनाई पूर्ण रूपमा सही छ।

नेपालले २० बिलियनको सामान भारत पठाउँछ भन्ने उनको भनाई चाहिँ सही छैन।

३. अन्दाजी ४० लाखजति (नेपाली) युवा विदेशमा छन्।

काठमाडौंस्थित संस्था ‘सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटी’ले सन् २०१४ मा सार्वजनिक गरेको रिपोर्ट ‘स्टेट अफ माइग्रेसन इन नेपाल‘ले पनि

नेपालका ४० लाखभन्दा बढी मानिस विदेशमा छन् भनि अनुमान गरेको छ।

तसर्थ, मन्त्री बोहोराको यो भनाई सही छ।

४. नेपालको जिडिपीमा (रेमिट्यान्स)को करिब करिब २९ प्रतिशतजति योगदान छ।

विश्व बैंकका अनुसार सन् २०१४ मा विप्रेषण (रेमिट्यान्स)ले नेपालको कुल ग्रार्हस्थ उत्पादनको २९.२ प्रतिशत ओगटेको थियो।

अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०१३/१४ को कुल ग्रार्हस्थ उत्पादनमा विप्रेषणको योगदान २८ प्रतिशत थियो।

तसर्थ, मन्त्री बोहोराको यो भनाई पनि सही छ।

 

सुजित मैनाली / बिहीबार, बैशाख २, २०७३

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री