अरू देशमा भन्दा नेपालमा मेडिकल शिक्षा महँगो कि सस्तो?

South Asia Check / शुक्रबार, मंसिर २०, २०७६

डा. भोला रिजाल (स्रोतः इसीएस्/ युट्युब)

एशोसियसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेजका अध्यक्ष डा. भोला रिजालले १२ साउनमा बिबिसी नेपालीमा चिकित्सा शास्त्रमा चर्को शुल्क लिनु ठीक हो भन्दै निम्न कुरा भनेः

“भारतमा गएर हेर्ने भो भने अहिले पनि ६० लाख भारू दिएर पढ्दैछन्, मेडिकल एजुकेसन यति महँगो छ विश्व भरि नै । अमेरिकामा ६० जनालाई पढाउँछन्, उनीहरूले कति लिन्छ ? दुई लाख डलर ।”

नेपालको मेडिकल शिक्षा अरू देशभन्दा कति महँगो वा सस्तो छ भनेर जाँच्न हामीले अमेरिका, रूस, भारत र युरोपका केही मेडिकल कलेजका शुल्कबीच तुलना गर्‍यौं ।

काठमाडौं स्थित काठमाडौं मेडिकल कलेज (केएम्सी) लेखा शाखाअनुसार सो कलेजले २०१४- २०१५ को सत्रमा एमबिबिएसको लागि ४४ लाख रूपैंया लिएको थियो । गत वर्ष आएको माथेमा प्रतिवेदनपछि चाहिँ पछिल्लो सत्रमा सो शुल्क घटाएर ३५ लाख रूपैंया बनाएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा एमबिबिएसका लागि ३४६६,८२७ रूपैंया पर्ने गर्दछ।

एशोसियसन अफ अमेरिकन मेडिकल कलेजेस् अनुसार अमेरिकाको सबैभन्दा निजि मेडिकल कलेज ट्फ्ट्स् युनिभर्सिटीको वार्षिक शुल्क ६३ हजार ३२१ डलर छ भने सबैभन्दा सस्तो निजी मेडिकल कलेज, बेलर कलेज अफ् मेडिसिनमा वर्षेनी २१,९५० डलर बुझाउनु पर्छ । त्यसैगरि पब्लिक मेडिकल कलेजमध्ये सबैभन्दा महँगो भर्जिनिया युनिभर्सिटीको वार्षिक शुल्क ५० हजार ६४८ छ भने सस्तो युनिभर्सिटी अफ पोर्टोरिकोको वार्षिक शुल्क १५ हजार ४०१ डलर छ । यी शुल्क पोस्ट्ग्रेजुयेट तहका शुल्क हुन् ।

युरोपमा कयौं देशमा उच्च शिक्षा निःशुल्क छ । जस्तै नर्वेजियन युनिभर्सिटी अफ साइन्स् एन्ड टेक्नोलोजीमा ६ वर्षे लामो मेडिकल डिग्री निःशुल्क पढाउने व्यवस्था छ। तर केही देशमा भने चिकित्सा शास्त्र पढ्न केही शुल्क लाग्छ । जस्तै जर्मनीको हाइडेलबर्ग विश्वविद्यालयमा ६ वर्ष ३ महिना लामो मेडिसिन कोर्षको शुल्क प्रति सेमेस्टर १४२.३० युरो छ । त्यसैगरी इस्टोनियाको युनिभर्सिटी अफ टार्टुमा  ६ वर्षे चिकित्सा शास्त्र कोर्सको वार्षिक शुल्क ११ हजार युरो छ । रूसका विभिन्न विश्वविद्यालयमा वर्षेनी शुल्क २००० – ५३०० डलर तिर्नु पर्छ ।

भारतमा भने राज्य अनुसार मेडिकल कलेजका शुल्क फरक छ । जस्तै चेन्नइ, तमिलनाडुको श्रीराम चन्द्र मेडिकल कलेजले ५.५ वर्षे एमबिबिएसको वार्षिक शुल्क भा रु १५ लाख हो । केरलामा सरकारी कोटामा पढ्ने विद्यार्थीले एमबिबिएस पढ्न वर्षेनी भारू ७०,००० तिर्नुपर्छ। अरूले वर्षेनी शुल्क ५ लाख ७५ शुल्क तिर्नुपर्छ ।

नेपालमा मेडिकल शिक्षाको शुल्क कुनै देशभन्दा कम छ भने कुनै देशभन्दा बढी छ । त्यसैले डा. भोला रिजालले संसार भरि नै मेडिकल शिक्षा महँगो छ भन्ने दाबी गलत छ । संसारमा मेडिकल शिक्षा कतै नेपालमा भन्दा महंगो छ भने कतै कता हो कता सस्तो छ ।

भृकुटी राई / मंगलबार, साउन १८, २०७३

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री