पूर्व संस्कृति मन्त्री गोपाल किराँतीको भनाइ आंशिक सत्य

South Asia Check / सोमबार, मंसिर २३, २०७६

पूर्व संस्कृति तथा राज्यपुनर्संरचना मन्त्री गोपाल किराँतीले सगरमाथा टेलिभिजनको एसटिभीच्याटमा भने,

“२०६५ सालमा जब म संस्कृति मन्त्री थिएँ, हाम्रो मन्त्रालयको योजना पहलकदमीमा पशुपतिमा रहेको भारतीय पुजारी भट्टलाई हटाएर नेपाली ब्राह्मण भट्ट नियुति गरियो । नेपालमा भारतीय विस्तारवादको सांस्कृतिक अखडा पशुपतिमा रहेछ । त्यसलाई भत्काउन खोजिएको थियो । तर हामी हट्याैँ अनि माधवकुमार नेपाल, एमालेको, प्रधानमन्त्री हुनुभयो र कांग्रेसका मिनेन्द्र रिजाल संस्कृतिमन्त्री हुनुभयो । उहाँले फेरि खोजेर भारतीयलाई नै ल्याउनुभयो ।”

उनको यो भनाइ सही छ/छैन भनी साउथ एशिया चेकले जाँचेको छ ।

पशुपतिनाथका मूल भट्ट र भट्ट नियुक्तिको विवादको घटनाक्रम यसप्रकार छः

२०६५ पुष १३ गते आइतबार तीन जना भारतीय भट्टले राजिनामा दिएपछि पशुपति क्षेत्र विकास कोषले नेपाली पुजारी नियुक्त गरेको थियो । पशुपतिनाथका मूल भट्टलाई भने नयाँ भट्ट नियुक्त नभएसम्म काम गर्न तोकिएको थियो (स्रोतः गोरखापत्र दैनिक, २०६५ पुस १४ गते) ।

सर्वाेच्च अदालतमा परेको रिट निवेदनको सुनुवाइपछि पुष १६ गते सर्वोच्च अदालतका न्यायधीश बलराम केसीको इजलासलले नियुक्ति परम्परागत प्रक्रिया विपरित गैरकानुनी भएको भन्दै पशुपतिनाथमा नवनियुक्त पुजारीहरूलाई पुजा गर्न नदिई साबिककै मूल भट्ट र पुजारीहरूबाट पूजा गराउन अन्तरिम आदेश जारी गरेको थियो (स्रोतः गोरखापत्र दैनिक, पुष २३ गते) 

त्यसपछि पशुपति क्षेत्र विकास कोषको सञ्चालक समितिका कोषाध्यक्ष गणेश अधिकारीले सर्वाेच्चबाट जारी भएको आदेश बदर गर्न माग गर्दै निवेदन दर्ता गराएपछि सर्वोच्चको अन्तरिम आदेश कायम राख्ने वा नराख्ने भनेर छलफल गर्न पुष २८ गते दुबै पक्षलाई सर्वोच्च अदालतले बोलाएको थियो । (स्रोतःगोरखापत्र दैनिक, पुष २३ गते)

तर त्यो मिति भन्दा अगाडि पुष २३ गते प्रधानमन्त्री पुष्पकमल दाहलले व्यवस्थापिका—संसदको बैठकमा पशुपतिनाथ मन्दिरका पुजारीले विभिन्न मितिमा दिएका राजिनामा स्वीकृत गर्दै नयाँ नियुक्तिसम्बन्धी सम्पूर्ण कारबाही बदर गरेको धोषणा गरेका थिए (स्रोतःगोरखापत्र दैनिक,२०६५ पुष २४) ।

त्यसपछि २०६६ साल भदौ १७ गते  दुईजना भारतीय नियुक्त हुदा माधव कुमार नेपाल प्रधानमन्त्री र मिनेन्द्र रिजाल संस्कृतिमन्त्री थिए (कान्तिपुर दैनिकः २०६६ भदौ १९) ।

यसबाट के देखिन्छ भने नेपाली भट्टको नियुक्ति गोपाल किराँती पूर्व संस्कृति तथा राज्यपुर्नसंरचना मन्त्री भएकै बेलामा रद्द भएको थियो र किराँती मन्त्री भएकै बेलामा भारतीय भट्टलाई नै काम लगाउन सर्वाेच्च अदालतले आदेश दिएको थियो । पछि प्रधानमन्त्री नेपाल र संस्कृतिमन्त्री रिजाल भएका बेलामा भारतीय भट्टको पुनःनियुक्ति भयो ।

तसर्थ, पूर्व संस्कृति तथा राज्य पुर्नसंरचना मन्त्री गोपाल किराँतीको यो भनाइमा आंशिक सत्य छ ।

इन्जिना पन्थी / बिहीबार, माघ ११, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री