२०५४ सालको चुनावी नतिजाबारे झलनाथ खनाल गलत

South Asia Check / सोमबार, मंसिर २३, २०७६

नेकपा–एमालेका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले चैत २३ गते सगरमाथा टेलिभिजनलाई दिएको अन्तर्वार्तामा भने :

“स्थानीय निर्वाचनमा हामी लार्जेस्ट पार्टी त भयौं तर ४५ प्रतिशत मात्रै ल्यायौं, जबकि २०५४ सालमा एमालेले एक्लै लड्दा ६४ प्रतिशत ल्याएको थियो ।”

साउथ एसिया चेकले झलनाथ खनालको भनाई सही छ कि छैन भनी जाँचेको छ ।

निर्वाचन आयोगले प्रकाशित गरेको ‘नेपालको निर्वाचन इतिहास’ पुस्तक अनुसार नेकपा एमालेले २०५४ को स्थानीय निकायको चुनावमा ५२.१८ प्रतिशत मत ल्याएको थियो । तर आयोगको प्रकाशनमा भएको यो आँकडा तथ्यांक होइन मिथ्यांक हो । निर्वाचन आयोगले यो आँकडा अफ्नै रेकर्डबाट नभइ २०५४ जेठ २७ गतेको गोरखापत्र दैनिकबाट लिएको हो । गोरखापत्र दैनिकले यो आँकडा दिँदा २४ हजार स्थानको मत परिणाम आउन बाँकी रहेको जनाएको थियो । निर्वाचन आयोगको प्रकाशनले चाहिँ अन्तिम परिणाम आएपछिको हो झैँ गरेर सोही मत परिणाम उद्धरण गरेको छ ।

गोरखापत्र दैनिकमा २०५४ असार १ गते प्रकाशित समाचार अनुसार २०५४ साल जेठ ३२ गते सम्म १ लाख ७८ हजार ७१३ मत गणना भइसक्दा एमालेले ५१.२२ प्रतिशत, नेपाली कांग्रेसले २९.९५ प्रतिशत, राष्ट्रिय प्रजातन्त्र पार्टीले १२.५४ प्रतिशत, सद्भावना पार्टीले १.२५ तथा स्वतन्त्र र अन्यले ५.०४ प्रतिशत स्थानमा विजय हासिल गरेका थिए ।

त्यस्तै कान्तिपुर दैनिकमा असार ४ गते प्रकाशित समाचार अनुसार १ लाख ८३ हजार ५८० स्थानको मत परिणाम आइसक्दा नेकपा एमालेले ५१.१० प्रतिशत, नेपाली कांग्रेसले ३०.०७  प्रतिशत, राष्ट्रिय प्रजातन्त्र पार्टीले १२.५१ प्रतिशत, नेपाल सद्भावना पार्टीले १.२४ प्रतिशत तथा स्वतन्त्र र अन्यले ५.०७  स्थान हासिल गरेका थिए ।

मत गणना गर्न बाँकी सबै स्थानमा एमालेले जित्दा पनि ५३ प्रतिशत कटदैन् ।

त्यस्तै २०५४ असार १ गते आयोजित पत्रकार भेटघाटमा नेकपा (एमाले) का स्थायी समितिका सदस्य केपी ओलीले स्थानीय निर्वाचनमा आफ्नो  पार्टीले ६० प्रतिशतभन्दा बढि मत पाउने आश गरेकोमा ५२ प्रतिशत मात्रै ल्याएको उल्लेख गरेका थिए । (स्रोतः कान्तिपुर दैनिक, २०५४ असार २)

त्यसैले झलनाथ खनालको दाबी गलत छ ।

इन्जिना पन्थी / बुधबार, चैत्र २८, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री