जुम्लामा एक मेगावाट पनि बिजुली छैन

South Asia Check / सोमबार, मंसिर २३, २०७६

जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाल कम्युनिस्ट पार्टीका नेता गजेन्द्रबहादुर महतले जेठ १७ गते ‘नेपाली रेडियो नेटवर्क’बाट प्रशारण भएको कार्यक्रममा भने–

हामीलाई एक मेगावाट बत्ति चाहिएको छ । जुम्लाका लागि एक मेगावाट बत्तिको जोहो गर्छौँ भन्ने वाचा गरेर हामीले चुनाव जितेका हौं । अहिले हामीलाई एक मेगावाट भए पुग्छ ।

साउथ एशिया चेकले हाल जुम्लामा एक मेगावाट विजुली पनि छैन भन्ने सांसद महतको भनाई सही छ/छैन जाँच्दा उनको भनाई सत्य पायो।

नेपाल सरकारको कर्णाली विकास आयोगले तयार पारेको प्रतिवेदन ‘कर्णाली क्षेत्रको १० वर्षे विकास योजना (आ.व. २०७३/७४–२०८२/८३)’ अनुसार जुम्लाका १८ वटा गाविसमा स्थापना गरिएका लघु जलविद्युत आयोजनाहरूबाट ५२६ किलोबाट विजुली उत्पादन हुने गर्छ । हाल नेपालमा १०७३ मेगावाट विजुली उत्पादन हुन्छ । भारतबाट ४५० मेगावाट आयात हुन्छ ।

विजुलीको राष्ट्रिय प्रशारण लाइनसँग जुम्ला नजोडिएकाले बाहिर उत्पादित विजुली जुम्लामा भित्रिदैन । त्यसैले जुम्लाले ५२६ किलोवाट विजुली मात्र बाल्दै आएको छ, जुन एक मेगावाटभन्दा ४२४ किलोवाटले कम हो ।

कर्णाली विकास आयोगको प्रतिवेदनअनुसार जुम्लामा बत्तिका लागि ४४ प्रतिशत घरपरिवारले सौर्य उर्जा र २९ प्रतिशतले जलविद्युत प्रयोग गर्छन् । जिल्लाका ९९ प्रतिशत घरपरिवारले खाना पकाउन दाउरा प्रयोग गर्छन् । ४२ प्रतिशत घरपरिवारसँग रेडियो, ११ प्रतिशतसँग टेलिभिजन छ र ४६ प्रतिशतसँग मोबाइल फोन छ । जिल्लाभरमा ६२१ टेलिफोन लाइन जोडिएका छन् । ६८ घरपरिवार मात्र इन्टरनेट सुविधा उपभोग गर्न पाएका छन् ।

मानव विकासका दृष्टिले जुम्ला नेपालको पिछडिएको जिल्लामध्येमा पर्छ । यसको मानव विकास सुचकांक ०.४०९ छ । ‘नेपाल ह्युमन डिभलोपमेन्ट रिपोर्ट २०१४’ का अनुसार बाजुरा, बझाङ, कालिकोट, हुम्ला, अछाम, रौतहट, महोत्तरी, जाजरकोट, रोल्पा, मुगु, डोल्पा, सर्लाही, डोटी र सिराहाको मानव विकास सुचकांक जुम्लाको भन्दा कम छ ।

 

 

सुजित मैनाली / मंगलबार, जेठ २२, २०७५

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री