कांग्रेसमाथि गलत आरोप दोहोर्याए प्रधानमन्त्री ओलीले

South Asia Check / सोमबार, मंसिर २३, २०७६

प्रधानमन्त्री केपी ओलीले असार २२ गते ट्विट गरि सरकारद्वारा माइतीघर मण्डललगायतका ठाउँमा जारी गरिएको निषेधाज्ञाको विरोध गर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आलोचना गर्दै भने–

हामी शान्तिपूर्ण आन्दोलनमा हुँदा जो गोलीका आँखा हुँदैन भन्दै प्रहार गर्नुहुन्थ्यो, जसले तीनवर्षमा शान्तिपूर्ण प्रदर्शनमा १२२ नागरिकको ज्यान लिनुभयो, उहाँहरू अहिले अधिनायकवाद बेचिरहनु भएको छ । हामी आलोचना सुन्छौं र देशमा वेथीति अन्त्य गर्छौं । संसारका सबै देशमा जहाँसुकै प्रदर्शन हुँदैनन् ।’

यहाँ केपी ओलीले २०४८ सालमा गठन भएको नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले तत्कालीन नेकपा–एमालेलगायत प्रतिपक्षी दलले गरेको आन्दोलनमा गरेको बल प्रयोगतर्फ संकेत गरेका हुन् ।

कोइराला प्रधानमन्त्री बनेपछि नेकपा–एमालेलगायत प्रतिपक्षी दलहरूले विभिन्न माग राख्दै सरकारविरुद्ध आन्दोलन गरेका थिए। कोइराला नेतृत्वको सरकारले भारतसँग गरेको टकपुरसम्बन्धी सम्झौता र मदन मण्डारीको मृत्युपछि नेकपा–एमालेले सरकारविरुद्ध आन्दोलन चर्कायो । टनकपुर सम्झौताको विरोधमा भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा १२ जनाको मृत्यु भयो। त्यस्तै मदन भण्डारीको मृत्यूबारे छानविन हुनुपर्ने माग गर्दै भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा २४ जना मारिएका थिए (जोन ह्वेल्पटन, अ हिस्ट्री अफ नेपाल, २००७, पृ १८९–९०, क्याम्ब्रिज युनिभर्सिटी प्रेस, संयुक्त अधिराज्य)

मानवअधिकारसम्बन्धी काम गर्ने संस्था इन्सेकले त्यतिबेला निकालेको वार्षिक प्रतिवेदन र त्यतिबेला प्रकाशित पत्रपत्रिकाहरू अध्ययन गर्दा पनि कोइराला सरकारका पालामा प्रहरीको गोली लागेर १२२ जनाको मृत्यू भएको देखिँदैन। त्यस अवधिमा प्रहरीको गोली लागेर ६० जना जति नागरिकको ज्यान गएको थियो।

तसर्थ, नेपाली कांग्रेसमाथि प्रधानमन्त्री ओलीले लगाएको आरोप गलत छ ।

एक वर्षअघि प्रतिपक्षमा हुँदा पनि ओलीले नेपाली कांग्रेसमाथि यही आरोप लगाएका थिए ।

 

सुजित मैनाली / बुधबार, आषाढ २७, २०७५

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री