भ्रममा नपर्नुहोस्, नेपाल विश्व स्वास्थ्य संगठनको उच्च जोखिम सूचीबाट हटेको छैन

Injina Panthi / सोमबार, बैशाख १५, २०७७

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा रहेको देशहरुको सूचीबाट हटाएको समाचार नेपालका दर्जन संचारमाध्यमले प्रकाशित गरेका छन् । सरकारी ‌दैनिक गोरखापत्रमा उक्त समाचार बैशाख १४ गते छापिएको थियो भने राष्ट्रिय समाचार समिति (रासस) ले तयार पारेको समाचारलाई कान्तिपुर, नेपालन्यूज, देशसञ्चारलगायतका सञ्चारमाध्यमहरूले समेत प्रकाशित गरेका छन् ।

बैशाख १२ गते पोष्टखबरमा प्रकाशित ‘सरकारको कामले नतिजा दिँदै, कोरोनाको अति उच्च जोखिम सूचिबाट हट्यो नेपाल’ शीर्षकको समाचारमा नेपाललाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अति उच्च जोखिमको सूची (लेभल ४) बाट हटाएर उच्च जोखिमको सूची (लेभल ३) मा झारेको उल्लेख छ।

पोष्टखबरमा प्रकाशित समाचारलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समेत ‘सरकारको कामले नतिजा दिँदै, कोरोनाको अति उच्च जोखिम सूचीबाट हट्यो नेपाल’ भन्दै ट्वीट समेत गरेका छन् । उक्त समाचारको आधिकारिकताबारे थुप्रैले उनको ट्वीटलाई उद्धृत गर्दै र त्यसमा जवाफ दिँदै प्रश्न उठाएका थिए। तिनैमध्येको एक नेपाललाइभ डट कमका प्रधान सम्पादक नारायण अमृतलाई जवाफ दिँदै पछि मन्त्री ज्ञवालीले ‘स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई उद्धृत गरेकाले विश्वास गरेको’ बताएका छन्। उनले सुरुमा आफूले गरेको ट्वीटलाई भने मेटाएका छन्।

त्यसको एकदिनअघि रिपब्लिकाले समेत ‘नेपाल रिमुभ्ड फ्रम डब्लुएचओ हाइ रिस्क जोन फर कोभिड-१९’ शीर्षकमा तह उल्लेख नगरी  विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जाेखिम सूचीबाट हटाएको भन्दै आफ्नाे अनलाइन संस्करणमा समाचार प्रकाशित गरेकाे थियाे । समाचारमा भाइरससँग जुझ्नका लागि नेपालले गरेको प्रगतिका कारण त्यसाे गरिएको उल्लेख छ । उल्लेखित सबैजसो समाचारमा विश्व स्वास्थ्य संगठनले नेपालको अवस्था सुध्रिएको बताएको भन्दै स्तरोन्नति भएको उल्लेख छ।

रिपब्लिकाको समाचारमा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारी र पोष्टखबरको समाचारमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठलाई उद्धृत गरिएपनि दुवैमा विश्व स्वास्थ्य संगठनलाई उद्धृत गरिएको छैन । न त त्यसबारे थप खुलाइएको नै छ।

हामीले उक्त समाचारको तथ्यजाँच गरेका छाैँ।

विश्व स्वास्थ्य संगठनले आफ्नाे वेबसाइटमा प्रत्येक देशको तयारीको अवस्था (अर्थात् कन्ट्री प्रिप्यर्डनेस एण्ड रेस्पोन्स स्टाटस) प्रतिवेदनमा देशहरुलाई विभिन्न तह (१ देखि लेभल ५ सम्म) मा वर्गीकरण गरी प्रकाशित गर्ने गरेको छ। उक्त राष्ट्रसंघीय निकायले त्यस्तो सूची आवधिक रूपमा निकाल्छ। त्यस्तो सूची अन्तर्राष्ट्रिय रूपमा स्वास्थ्य नियमनका लागि उसले तयार पारेको एकखाले ढाँचाका आधारमा देशहरूले गर्ने स्वमूल्याङ्कनबाट तयार पारिने उल्लेख छ।

विश्व स्वास्थ्य संगठनको विवरणमा एकै तहभित्र समेत आयातीत सङ्क्रमणको जोखिम, समुदायमा सङ्क्रमण र सङ्क्रमण पुष्टि हुनेको सङ्ख्याका आधारमा देशहरूलाई छुट्याइएको छ। उसले पछिल्लोपटक बैशाख ८ गते निकालेको ‘कोभिड-१९ स्ट्राटेजिक प्रिप्यर्डनेस एण्ड रेस्पोन्स स्टाटस’ मा रहेको देशहरूको तयारी क्षमतामा नेपाललाई तेस्रो तहमा राखिएको छ।

त्यसभन्दा चार दिन अघि उसले निकालेको सोसम्बन्धी प्रतिवेदनमा देशहरुको तयारी क्षमतामा नेपाललाई तेस्रो तहमा राखिएको छ । नेपालमा बन्दाबन्दी जारी हुनुभन्दा अघि नेपाल चौथो तहमा थियो कि भनेर हामीले अघिका प्रतिवेदन पनि खोज्यौँ । विश्व स्वास्थ्य संगठनले फागुन १६ गते प्रकाशित गरेको रिपोर्टमा पनि नेपाल तेस्रो तहमै छ।

त्यसैगरी चैत ३ गते उसले प्रकाशित गरेको विवरणमा पनि नेपाललाई सोही तहमा राखिएको छ। अर्थात् नेपाल चौथो तह (लेभल ४) मा कहिल्यै पनि थिएन।

नपत्याउनुहाेस्, दुई दिन विश्वभरि इन्टरनेट बन्द हुँदैछैन

प्रधानमन्त्री ओलीका काेराेना भाइरसबारे पाँच गलत र भ्रामक दावी

विश्व स्वास्थ्य संगठनका पछिल्ला दुई प्रतिवेदनमा नेपाल १० भन्दा बढी सङ्क्रमितहरू रहेको देशभित्र छ भने फागुन १६ र ३ चैतमा १० भन्दा कम सङ्क्रमित भएको देशमा नेपाल परेको थियो।

साउथ एसिया चेकसँग कुरा गर्दै स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालको जोखिमको तह घटेको हुनसक्ने आफूहरूको आन्तरिक मुल्याङ्कन भएको बताए।

सहप्रवक्ता अधिकारीले भने: “डब्लुएचओले त्यसो भनेको हामीलाई जानकारी छैन। तर एक महिनाभन्दा लामो समय लकडाउन गरिएको अवस्थामा त्यो हाम्रो अनुमान मात्र हो।”

नेपालस्थित विश्व स्वास्थ्य संगठनको कार्यालयले साउथ एसिया चेकलाई इमेलमार्फत जानकारी गराए अनुसार जोखिमको अवस्थाको जाँच गर्ने त्यस्तो कुनै मुल्याङ्कन र वर्गीकरण छैन। उक्त कार्यालयको भनाइ छ, “डब्लुएचओले देशहरूको काम र तयारीको अवस्थालाई उनीहरूसँगको संवादका आधारमा अध्यावधिक गर्ने काम गर्छ।”

त्यसैले विभिन्न संचार माध्यममा प्रकाशित उक्त समाचार भ्रामक छ ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री