नझुक्किनुस्, त्यो तस्बिर भरतपुर कोरोना अस्पतालको शौचालयको हैन

Sanjog Shiwakoti / सोमबार, बैशाख २२, २०७७

नेपालका सामाजिक सञ्जाल प्रयोगकर्तामाझ अहिले एक सानो पक्की शौचालयको तस्बिर भाइरल भएको छ । ग्रामीण क्षेत्रकाे समथर भूभागजस्तो देखिने ठाउँमा बनाइएको उक्त शौचालय वरिपरि रुख र झाडी छ । धेरै ट्विटर र फेसबुक प्रयोगकर्ताले चितवनको भरतपुरस्थित हालै बनेको कोरोना अस्पतालमा २५ लाख खर्च गरेर उक्त शौचालयको निर्माण गरिएको भन्दै त्यस तस्बिरलाई शेयर गरेका छन् ।

वैशाख २१ गते बेलुकी ७:०४ बजे अशोक न्यौपानेको ट्विटर ह्याण्डलबाट “रु २५ लाखमा ७२ घण्टामा निर्माण भरतपुर चितवनको कोर्ना हस्पतालको पाइखाना रे, लुटौँ साथी लुटौं” लेखिएको पोस्टसहित उक्त शौचालयको तस्बिर शेयर गरिएको थियो । उक्त ट्विट ३७ पटक रिट्विट भएको छ भने शीर्षक उही रहेपनि हाल फोटो भने हटाइएको छ ।

उक्त तस्बिर सोही दावीका साथ धेरै ट्विटर प्रयोगकर्ताले शेयर गरेका छन् । शिरु_शर्मा१, करणसिंहगोयल, सोमराजपाठक३ लगायतले त्यही तस्बिर र दावी शेयर गरेका छन् । तर सोमराज पाठकले भने आफ्नो ट्विट हटाइसकेका छन् ।

यस सँगसँगै उक्त तस्बिर नेपाली काङ्ग्रेसका सांसद गगन थापाको फेसबुक फ्यान पेजमा पनि शेयर गरिएको छ ।  “कम्युनिस्ट स्थानीय सरकारद्वारा रु २५ लाखमा ७२ घण्टामा निर्माण भरतपुर चितवनको कोर्ना हस्पतालको पाइखाना रे, लुटौँ साथी लुटौं” भनिएकाे उक्त पोस्ट साेमबार मध्यान्हसम्म ११२ पटक शेयर गरिएको छ ।

हालै मात्र कोभिड-१९ बाट संक्रमित तथा शंकास्पद बिरामीको जाँचका लागि बनाइएको चितवनको भरतपुरस्थित उक्त अस्पतालमा चोरी प्रकरणको एक सिसिटिभि फुटेज बाहिरिएसँगै त्यहाँ अख्तियारकाे टोलीले छापा मारेको थियो । उक्त प्रकरणको एक साता नबित्दै यो तस्बिरलाई चितवनमा खोलिएको कोरोना अस्पतालको शौचालय भन्दै भाइरल बनाइएको छ ।

केही प्रयोगकर्ताले सोही शौचालयको तस्बिर बिहारको भनी दावी गरिएको पोस्ट पनि शेयर गरेका छन् जसबाट थप अन्योल सिर्जना भएको छ ।

यही शंकाका कारण केही ट्विटर प्रयोगकर्ताले उक्त ट्विट मेटाएका पनि छन् । अन्य केही प्रयोगकर्ताले भने अझै उक्त ट्विट शेयर गरिरहेका छन् ।

साउथ एसिया चेकले ‘गुगल रिभर्स इमेज सर्च’ को प्रयोग गरी हेर्दा उक्त शौचालयको तस्बिर भारतको गुजरात राज्यको रहेको फेला परेको छ । उक्त तस्बिर अमेरिकाबाट भारतीय मूलका पाठकका लागि सञ्चालित एक संचारमाध्यम ‘इन्डिया वेस्ट’ ले २०७१ माघ २ गतेको एक समाचारमा प्रयोग गरेको पाइएको छ ।

उक्त तस्बिरमा यस्तो विवरण दिइएको छ- “ग्रामीण गुजरातको एक पर्यावरणीय सरसफाइजनक सार्वजनिक शौचालयले पिशाब र दिशा अलग बनाई जीवाणुरहित मलको रूपमा प्रयोग गरिन्छ ।”

उक्त तस्बिर भारतीय ग्रामीण विकास मन्त्रालयबाट लिइएको उल्लेख गरिएको छ ।

यसरी २०७१ सालमा प्रकाशित समाचारमा उल्लेख गरिएकाे गुजरातको तस्बिरलाई गलत विवरण राखेर नेपालको चितवनमा २५ लाखमा बनेको शौचालय भनी गलत सूचना प्रवाह गरिएकाे छ ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री