सरिता गिरीबारे भारतको जी न्युजको विवरण भ्रामक

Sanjog Shiwakoti / बिहीबार, आषाढ २५, २०७७

भारतीय टिभी च्यानल जी न्युजबाट प्रसारित हुने डीएनए (डेलि न्युज एण्ड एनालिसिस) नामक कार्यक्रममा २०७७ साल असार २३ गते उक्त च्यानलका प्रधान सम्पादक र कार्यक्रम प्रस्तोता सुधिर चौधरीले नेपालले नयाँ नक्सा जारी गरेपछि सिर्जित घटनाक्रमका बारेमा टिप्पणी गरेका थिए । उनले जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले गरेको नयाँ नक्साको विरोधका कारण उनलाई गरिएको कारबाहीको बारेमा उल्लेख गर्दै उनले यस्तो दाबी गरेका थिए:

“केही दिन पहिला नेपालले नयाँ नक्सा जारी गर्दै भारतको तीन वटा भूभागलाई आफ्नो भनी दाबी गरेको थियो । र, सो नक्सा नेपालका दुवै सदनबाट पारित भइसकेको छ । तर त्यो नयाँ नक्साको विरोध गर्ने एक मात्र सांसदलाई उनको दल र संसदबाट निष्काशन गर्ने निर्णय भएको छ । ती सांसदको नाम हो, सरिता गिरी । सरिता गिरी नेपालको समाजवादी पार्टीकी सांसद हुन् । सरिता गिरीको कसुर के थियो भने उनले त्यो नयाँ नक्साको विरोध गरिन् । र, साँचो बोल्दै भारतको लिपुलेख, लिम्पियाधुरा र कालापानीलाई नेपालको नक्सामा समावेश गर्नुको कुनै आधार नभएको बताइन् । अ्रथात् उनले त्यस्को विरोध गरिन् । तर नेपालको सरकारलाई यो सत्य स्वीकार्य भएन र सरिता गिरीले साँचो बोलेको सजाय स्वरुप आफ्नो पद गुमाउनुपर्‍यो ।”

नेपाल सरकारले लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितको जारी गरेको नयाँ नक्सा निसान छापमा समेट्नेसम्बन्धी संविधान संशोधन विधेयक संघीय संसद्का दुवै सदनबाट पारित भई २०७७ साल असार ४ गते राष्ट्रपतिले प्रमाणीकरण गरेकी थिइन् । राष्ट्रिय सार्वभौमिकताको विषय भएकोले सरकार, प्रमुख प्रतिपक्ष एवम् सम्पूर्ण दलहरुले यसमा सहमति जनाएका थिए । तर उक्त विषयमा जनता समाजवादी दलकी सांसद सरिता गिरीले खुलेर विरोध गरेकी थिइन् । उनले नेपालले नयाँ नक्सा जारी गर्नु अघि नेपालका दुई छिमेकी भारत र चीनसँग सम्वाद नगरेको भन्दै विरोध गरेकी थिइन् । उनले प्राइम टाइम्स टिभीको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पनि लिम्पियाधुरा नेपालको हो भन्ने आफूले स्विकार नगर्ने बताएकी थिइन् ।

राष्ट्रियसभामा प्रधानमन्त्री ओलीका दाबी : भ्रम र यथार्थ

लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिवर्तन गर्ने सम्बन्धी विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । उनको संशाेधन प्रस्ताव  सभामुख अग्नि सापकोटाले अस्वीकृत गरिदिएका थिए । गिरीले दर्ता गराएको संशोधन प्रस्ताव पार्टीको निर्देशन बावजुद फिर्ता लिन नमानेपछि उनलाई कारबाही गरिएको जनता समाजवादी पार्टीले जनाएको छ । गिरीले दलको निर्देशन र व्हिप समेतलाई उल्लङ्घन गरेकोले जनाउँदै उनको दलले गत असार ८  तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको थियाे । उक्त समितिले गिरीसँग स्पष्टिकरण साेधी पार्टीसमक्ष प्रतिवेदन बुझाएको जनता समाजवादी पार्टीका सचिव मोहम्मद इस्तियाक राईले बताएका छन्

हाल प्रतिपक्षमा रहेको जनता समाजवादी पार्टीले २०७७ साल असार २३ गते एक प्रेस विज्ञप्ति जारी गरी दलको निर्देशन उल्लड्घन गरी प्रतिनिधिसभामा उक्त विधेयकमा मतदान नगरेको, जाँचबुझ समितिलाई दिएको स्पष्टिकरण सन्तोषजनक नभएको, जनता समाजवादी पार्टीको अन्तरिम विधान २०७६ समेतको बर्खिलाफ भएकोले २०७७ साल असार २३ गते पार्टीको केन्द्रीय समितिले गिरीलाई प्रतिनिधिसभा सदस्य र पार्टीको सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरिएको सूचना प्रकाशित गरेको थियो ।

जनता समाजवादी पार्टीको निर्णय बमोजिम गिरीलाई उनको दल र प्रतिनिधिसभा सदस्यबाट निलम्बन गरिएको तथ्यलाई मोडेर भारतीय टेलिभिजन पत्रकार सुधिर चौधरीले नक्सासम्बन्धी विधेयकको विरोध गरेकाले उनलाई नेपाल सरकारले पदबाट हटाएको भन्ने अर्थ लाग्ने गरी प्रशारण गरेकाले उनको उक्त  विवरण भ्रामक ठहर्छ ।

यसैगरी हेडलाइन्स इन्डिया नामक अर्को भारतीय यूट्यूब च्यानलले पनि सरिता गिरीलाई संसदमा गरेको भाषणका कारण ओलीले उनको संसद सदस्यता रद्ध गरे भनी भ्रामक विवरण  दिएको छ । ५० लाख भन्दा बढी सब्सक्राइबर रहेको उक्त च्यानलले २०७७ साल असार २४ मा सरिता गिरीको विषयमा अपलोड गरेको भिडियो हालसम्म एक लाख ४४ हजार पटक हेरिएको छ ।

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री