पुतलीसडकमा आगलागीको त्यो तस्बिर अढाइ वर्ष पुरानो

South Asia Check / मंगलबार, साउन २७, २०७७

दीपक अधिकारी/साउथ एसिया चेक

गत साउन २६ गते दिउँसो काठमाडौँको पुतलीसडकस्थित स्ट्याण्डर्ड एजुकेसन कन्सल्ट्यान्सीको कार्यालयमा आगलागी भएको थियो । स्थानीय कृष्णशंकर कसजुको तीन तले घरको दोस्रो तलामा रहेको कन्सल्ट्यान्सीमा आगो लाग्दा एउटा कोठामा रहेका सोफा, कागजातलगायत सामग्री जलेको समाचारमा जनाइएको छ ।

बिजुलीको उच्च भोल्टेजका कारण बिजुली सर्ट भई आगो लागेको बताइएको छ । तत्कालै प्रहरीलाई खबर गरेकाले अग्नि नियन्त्रकको टोली आई आगाे निभाएको थियाे । राष्ट्रिय समाचार समितिले तयार पारी वितरण गरेको उक्त समाचारलाई दर्जनौँ अनलाइनले प्रकाशित गरेका छन् । उक्त समाचारसँगै आगलागीका विभिन्न फोटोहरु प्रकाशित गरिएको छ । तीमध्ये कतिपय अनलाइनले फाइल फोटो वा प्रतीकात्मक फोटो भनी प्रष्ट्याएका छन् । तर केही अनलाइनले उक्त घटनाको फोटो भन्दै करीब अढाइ वर्षअघिको नजिकैकाे आगलागीकाे फोटो प्रकाशित गरेका छन् । अर्काइभ गरिएका समाचारका लिङ्क यहाँ यहाँ यहाँ  क्लिक गरी पढ्न सकिन्छ।

तथ्य जाँच

कैयौँ अनलाइनले झण्डै अढाइ वर्षअघि पुतलीसडककै शेयर मार्केट कम्प्लेक्समा भएको आगलागीको फोटोलाई अहिलेको भन्दै भ्रामक सूचना फैलाएका छन् ।

साउन २६ गते आगलागी भएको कन्सल्ट्यान्सीबाट करीब २० मिटरको दुरीमा रहेको पुतलीसडकस्थित शेयर मार्केट कम्प्लेक्समा २०७४ साल फागुन १४ गते विहान आगलागी भएको थियो । भवनको पाँचौँ तलामा रहेको एनआइइसी एजुकेसन सेन्टरमा भएको उक्त आगलागी प्रहरी र सेनाको संयुक्त प्रयासपछि नियन्त्रणमा आएकाे थियो । पुतलीसडकको व्यस्त ठाउँमा उक्त आगलागी ग्यास लिकका कारण भएको अनुमान गरिएकाे थियो ।

साउथ एसिया चेकले नेपालीमा ‘पुतलीसडकमा आगलागी’ टाइप गरेर गुगल, ट्वीटर र फेसबुकमा सर्च गर्दा कैयौँ अनलाइनले अढाइ वर्ष पुरानो उक्त तस्बिर हालैको भन्दै प्रयोग गरेको भेटियो । अधिकांश अनलाइनले इन्टरनेटमा उपलब्ध आगलागीका तस्बिर प्रयोग गरेका थिए भने कतिपयले शेयर मार्केट कम्प्लेक्समा भएकाे आगलागीको फोटोलाई साउन २६ गतेको घटना भन्ने जनाउँदै प्रकाशित गरेको थिए । ‘पुतलीसडक फायर फोटो’ भनेर अ‌ंग्रेजीमा गुगलमा खोज्दा सबैभन्दा माथि त्यही अढाइ वर्ष अघिको फोटो देखापर्छ ।

दैनिकी, आशाका किरण, खासखबर, नेपालपत्र, गोकर्णेश्वर अनलाइनलगायतले उक्त तस्बिरलाई भ्रमपूर्ण तरिकाले प्रकाशित गरेका थिए । तसर्थ करीब अढाइ वर्षअघिको उक्त तस्बिर हालैको भन्दै प्रकाशित गर्नाले भ्रम फैलाइएको देखिन्छ ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री