रुसी खोप बारे त्यो भनाइ भ्लादिमिर पुटिनको हो ?

Sanjog Shiwakoti / मंगलबार, भाद्र २, २०७७

गत साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले कोभिड-१९ विरुद्धको खोपलाई स्वीकृति प्रदान गरेको सार्वजनिक गरेपछि अहिले विश्वको ध्यान उक्त समाचारले खिचेको छ । गत साउन २७ गते रुसी मन्त्रीहरुसँग एक भिडियो कन्फ्रेन्स मार्फत पुटिनले उक्त खोप प्रभावकारी भएको र आफ्नी एउटी छोरीलाई खोप दिइएको बताएका थिए । तर उक्त खोपका बारेमा आशंका व्याप्त छ । विश्व स्वास्थ्य संगठनले रुसलाई स्थापित मार्गनिर्देशनहरूको पालना गर्न र सुरक्षित खोप विकास गर्न आवश्यक सबै चरण पुरा गर्न आग्रह गरेको थियो ।

कोभिड -१९ को महामारीबाट आक्रान्त नेपालमा पनि यस खोपबारे व्यापक चासो पाइन्छ । केही दिन यता सामाजिक सञ्जालमा नेपाली प्रयोगकर्ताले पुटिनको भनाइ भन्दै प्रश्नाेत्तर शैलीमा स्ट्याटस एवम् विभिन्न किसिमका मिमहरु शेयर गरेका छन् ।

सामाजिक सञ्जालको लोकप्रियतासँगै मिमको प्रयोग पनि व्यापक हुन थालेको छ । मेरियम-वेब्स्टर शब्दकाेषका अनुसार मिम भनेको रमाइलो वा चाखलाग्दो  तस्बिर वा भिडियो वा अन्य सामग्री हो जुन व्यापक रूपमा अनलाइनमा फैलिएको हुन्छ विशेष गरी सामाजिक सञ्लाजमार्फत् । विशेषत: रमाइलोका लागि इन्टरनेट प्रयोगकर्ताले शेयर गर्ने मिम अचेल सूचना प्रवाह गर्न र अफवाह फैलाउन पनि प्रयोग गरिन्छ ।

‘Arjun Giri’ नामक फेसबुक एकाउन्टमा गत साउन ३० गते शेयर भएको पुटिनको फोटो समेत रहेको मिम १५ पटक शेयर भएको छ । उक्त मिममा यस्ताे सामग्री छ-

पत्रकार सम्मेलनमा पत्रकारले रुसका राष्ट्रपति पुटिनलाई सोधे, ‘तपाईले कोभिड – १९ विरुद्धको खोप सबभन्दा पहिले डाक्टर र शिक्षकहरुलाई दिने भन्नु भयो । तर के आम मानिसले चैं बाँच्नु पर्दैन ?’

पुटिनले उल्टै प्रश्न गरेछन्, ‘शिक्षक मर्‍यो भने डाक्टर कस्ले उत्पादन गर्छ अनि डाक्टर मर्‍यो भने आम मानिसको उपचार कसले गर्छ ?’

यही मिम अरु थुप्रै फेसबुक र ट्विटर प्रयाेगकर्ताले पनि शेयर गरेका छन् ।

यसैगरी यस्तै अर्थ लाग्ने तर अलि बढाइचढाइ गरी लेखिएका मिमहरु पनि शेयर भएका छन् । कुनैमा पुटिनको फोटो र भनाइ राखिएको छ भने कुनैमा भनाइ मात्र उल्लेख गरिएको छ ।

त्यस्तै केही फेसबुक एकाउन्टले त्यस्तै अर्थ लाग्ने गरी प्रश्नोत्तर शैलीमा स्ट्याटस पोष्ट गरेका छन् । ‘Kamal Karki’ नामक फेसबुक अकाउन्टमा गत साउन ३२ गते पोष्ट गरिएको एक स्ट्याटस ११ पटक शेयर गरिएको छ भने ८७ जनाले लाइक गरेका छन् ।

साउथ एसिया चेकले पुटिनलाई उध्दृत गर्दै शेयर गरिएको उस्तै अर्थ लाग्ने खालका मिम र स्ट्याटसकाे तथ्य जाँच गरेको छ ।

हामीले गुगल एडभान्स सर्च गर्ने क्रममा यस विषयमा रुसको समाचार समिति ‘TAAS’ ले प्रकाशित गरेको समाचार फेला पार्‍यौँ । ‘रूसको कोभिड – १९ खोप सबैभन्दा पहिला चिकित्सक र शिक्षकहरुलाई दिइनेछ: स्वास्थ्य मन्त्री’ शीर्षक समाचारमा स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोले चिकित्सकहरु आफ्नाे कामका क्रममा संक्रमितहरूको सम्पर्कमा आउने हुनाले र शिक्षकहरु बालबालिकाको स्वास्थ्यका लागि जिम्मेवार हुने भएकोले उनीहरुलाई पहिला खोप लगाइने उल्लेख गरिएको छ ।

यही समाचारलाई आधार बनाई विभिन्न भारतीय*नेपाली सञ्चारमाध्यमले पनि समाचार प्रकाशित गरेका छन् ।

यस समाचारको आधारमा हेर्दा रुसले चिकित्सकहरु र शिक्षकहरूलाई पहिले खोप लगाउने कुरा सत्य भएपनि उक्त भनाइ पुटिनले पत्रकारहरुसमक्ष व्यक्त गरेको भन्ने दावी गलत हो । रुसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले रुसी राष्ट्रपति भ्लादिमीर पुटिन र मन्त्रीहरुबीच भएको बैठकमा साे भनाइ राखेका हुन् ।

ती मिममा पुटिनले पत्रकारलाई प्रतिप्रश्न गर्दै ‘शिक्षक मर्‍यो भने डाक्टर कसले उत्पादन गर्छ ? अनि डाक्टर मर्‍यो भने आम मानिसको उपचार कसले गर्छ’ भनेकाे दावी गरिएकाे छ । हामीले गुगल लगायतमा खोजी गर्दा रुसी राष्ट्रपतिको त्यस्तो भनाइ फेला परेन । उक्त भनाइलाई हामीले गुगल ट्रान्सलेट मार्फत रुसी भाषामा अनुवाद गरी गुगल लगायतका स्रोतमार्फत खोजी गर्दा पनि त्यस्तो भनाइ फेला परेन ।

ती मिम र स्ट्याटसमा खासमा चिकित्सकलाई संक्रमणको जोखिम धेरै हुनाले चिकित्सक र शिक्षकलाई खोपमा प्राथमिकता दिइने भन्ने मन्त्रीको आशयलाई पुटिनको भन्दै शेयर गरिएको पाइयो । यस अर्थमा पुटिनको भनाइ भन्दै शेयर गरिएका ती दावी भ्रामक छन् ।

*हिन्दीकाे साटाे भारतीय बनाइएकाे ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री