प्रधानमन्त्रीको संवैधानिक प्रावधानबारे कोइरालाको दाबी गलत

Injina Panthi / बुधबार, भाद्र १०, २०७७

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले पत्रकार ऋषि धमलाले सञ्चालन गर्ने प्राइम टाइम्स टिभिको ‘जनता जान्न चाहन्छन्’ भन्ने कार्यक्रममा नेपालमा प्रधानमन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाबारे आफ्नो भनाइ राखेका थिए। पत्रकार धमलासँग कुरा गर्दै कोइरालाले पार्टीमा केन्द्रीय सभापति एक पटक र जिल्ला सभापति दुईपटक मात्र बन्न पाउनुपर्ने व्यवस्थाको लागि विधान संसोधन गर्न आफूले प्रस्ताव गरेको बताएका थिए। त्यसमाथि धमलाको प्रश्न थियो- “अनि प्रधानमन्त्री कतिपटक बन्ने?”

तस्विर : प्राइम टाइम्स टीभी

नेपाली कांग्रेसको आगामी महाधिवेसनबाट पार्टीको नेतृत्व दाबी गरिरहेका कोइराला भनेका थिए- “प्रधानमन्त्री एक पटक पाँच वर्षको लागि बनाए पुगिहाल्यो नि! हुन त संविधानमा नै दुई पटक भनेको छ क्यारे।”

भाद्र ८ गते युट्युबमा अपलोड गरिएको उक्त अन्तर्वार्ता पार्टीको आगामी महाधिवेशनमा नेपाली कांग्रेसको रणनीति, शक्ति पृथकिकरण, एक व्यक्ति-एक पदको मापदण्डलगायतका विषयमा केन्द्रित थियो।

प्रधानमन्त्रीको व्यवस्थाबारे कोइरालाको उक्त भनाइको साउथ एसिया चेकले तथ्यजाँच गरेको छ।

नेपालको संविधानको भाग ७ मा  संघीय कार्यपालिकाबारे उल्लेख गरिएको छ। धारा ७६ देखि धारा ८१ सम्म नेपालको प्रधानमन्त्री हुन चाहिने योगयताका विषयमा संविधानले व्यवस्था गरेको छ। धारा ७६ को उपधारा १ र २ मा ‘राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछ’ उल्लेख छ। त्यहीँ ‘कुनै सदस्यले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने’ उल्लेख छ।

तर एक व्यक्ति कतिपटकसम्म प्रधानमन्त्री हुन पाउने भन्ने कुरामा संविधान मौन छ।

राष्ट्रपतिका हकमा भने दुई कार्यकालभन्दा बढि निर्वाचित हुन नपाउने व्यवस्था छ।  

त्यसैले शेखर कोइरालाले उक्त टेलिभिजन कार्यक्रममा गरेको दाबी गलत छ ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री