कोभिड-१९ बारे गलत र भ्रामक दाबी सहितको अन्तर्वार्ता युट्युब ट्रेण्डिङमा

Sanjog Shiwakoti / बिहीबार, भाद्र १८, २०७७

तस्बिर स्राेत : हिमाल अनलाइन टिभी युट्युब च्यानलको स्क्रिनसट

हिमाल अनलाइन टिभी नामक युट्युब च्यानलमा “जर्मन र इटालीकै विज्ञहरुले कोरोना बारे यसो भने, अब के हुन्छ ?” शीर्षकमा ‘सामाजिक अभियन्ता’ भनी चिनाइएका सुरजीत दत्तको अन्तर्वार्ता  गत भदौ १३ गते अप्लोड गरिएको थियो । यो भिडियो भदौ १८ गते दिउँसो ११ बजे नेपालमा ३० औं नम्बरमा ट्रेन्डिङ रहेको छ भने विगत चार दिनमा यस भिडियोलाई ९७ हजार पटक भन्दा बढी हेरिसकिएको छ । यो भिडियो कैयौं सामाजिक सञ्जाल प्रयेगकर्ताले शेयर गरेका छन् ।

अन्तर्वार्तामा सुरजीत दत्तले कोरोना भाइरस र स्वास्थ्य सम्बन्धी विषयमा थुप्रै तथ्य प्रस्तुत गरेका छन् । उनी एक सामाजिक अभियानकर्मी हुन् भन्ने बाहेक उक्त भिडियोमा उनको बारेमा विस्तृत जानकारी दिइएको छैन । फेसबुक पेजमा उनले आफू भ्रष्टाचार विरोधी अभियानका राष्ट्रिय सचिव भएको बताका छन् । उनले फेसबुकमा शेयर गरेको उक्त भिडियोमा पनि विभिन्न व्यक्तिले प्रतिक्रिया जनाएका छन् ।

उनले प्रस्तुत गरेका दाबी सही छन्/छैनन् भनी साउथ एसिया चेकले तथ्य जाँच गरेको छ ।

पहिलो दाबी:

“अहिले ०.००१ % यल्लाई (कोभिड-१९) मृत्युदर भनिएको छ । त्यसैले यसमा डराउनु पर्ने स्थिति छैन भन्ने मेडिकल डाटाले प्रुभ (प्रमाणित) गर्छ ।”

दत्तले दाबी गरेजस्तो कोभिड-१९ को मृत्युदर यति नै भनेर यकिन गर्न हाल कठिन रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्वमा कुनै पनि संक्रामक रोगको मृत्युदर मापन गर्ने दुईवटा विधि छन् । पहिलो इन्फेक्सन् फटालिटि रेसिओ (आइएफआर) जसले सम्पुर्ण संक्रमितहरुमध्ये मृत्यु हुनेको संख्या निकाल्छ भने अर्को केस फटालिटि रेसिओ (सीएफआर) जसले पुष्टि भएका संक्रमित मध्ये मृत्यु हुनेको संख्या निकाल्छ । खास हिसाबमा सम्पुर्ण संक्रमितमध्ये मृत्यु हुनेको संख्या निकाल्न सके शत प्रतिशत मृत्युदर निकाल्न सकिन्थ्यो तर कतिपय मानिसमा कोरोनाको लक्षण नदेखिने र कतिपयलाई हल्का लक्षण देखिने कारणले ती केसहरु पुष्टि हुँदैनन् । यसैकारण हालसम्म निकालिएको मृत्युदर पहिचान भएका संक्रमितको आधारमा तय गरिएको हो जुन सम्पुर्ण संक्रमितहरुबाट निकालिने मृत्युदर भन्दा बढी हुनसक्छ ।

हालसम्मको तथ्याङ्कले केस फटालिटि रेसिओ देश अनुसार फरक-फरक रहेको र ०.१% देखि २५% भन्दा माथिसम्म देखिएको तथ्य विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा उल्लेख छ ।

पहिचान भएका कोभिड-१९ मृत्युलाई पहिचान भएको संक्रमणले भाग गरी १०० प्रतिशत गुणा गर्दा केस फटालिटि रेसिओ निकाल्न सकिन्छ । यस प्रक्रिया अनुसार ३१ अगस्टसम्मको तथ्याङ्कबाट मृत्युदर निकाल्दा ३.३६ प्रतिशत देखिन आउँछ ।

केस फटालिटि रेसिओ = ८४४३१२ / २५११८६८९ × १००

यी तथ्यका आधारमा हेर्दा दत्तले दाबी गरेजस्तो कोभिड-१९ को मृत्युदर ०.००१% नभएको ठहर्छ ।

दोस्रो दाबी:

“कोभिडको विषयमा उहाँ (बिल गेट्स) ले पहिले तपाईको दर्ता गर्नुभएछ पेटेन्ट राइटको लागि भ्याक्सिनको विषयमा ।”

अमेरिकी अरबपति तथा माइक्रोसफ्टका संस्थापक बिल गेट्सले कोभिड-१९ को  एकाधिकार (पेटेन्ट राइट) दर्ता गराएको अफवाह केही समययता विभिन्न सामाजिक सञ्जालमा फैलिएको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले यसको तथ्य जाँच गरिसकेका छन् । यूएसए टूडेमा मार्च २७ मा प्रकाशित तथ्य जाँच अनुसार बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनले आर्थिक सहयोग गरेको द पर्ब्राइट इन्स्टिच्युटले कुखुरामा लाग्ने कोरोनाभाइरसको लागि २०१८ मा एकाधिकार लिएको हो तर मान्छेमा लाग्ने कोरोनाभाइरसको लागि बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन र द पर्ब्राइट इन्स्टिच्युट दुवैले त्यस्तो अधिकार लिएका छैनन् ।

यसैगरी तथ्य जाँच गर्ने अर्को अमेरिकी अनलाइन पोलिटिफ्याक्टले गरेको तथ्य जाँच अनुसार यूनाइटेड स्टेट्स पेटेन्ट एण्ड ट्रेडमार्कको कार्यालयमा बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनले दर्ता गराएका पेटेन्ट राइटको जाँच गर्दा कोरोनाभाइरस सम्बन्धी कुनै पेटेन्ट उक्त संस्थाले दर्ता नगरेको जनाइएको छ ।

यी तथ्य जाँचका आधारमा दत्तको दाबी गलत रहेको सावित हुन्छ ।

तेस्रो दाबी:

“बिल गेट्सले २०१५ को टेड टकको शोमा १० देखि १५ % पपुलेसन कन्ट्रोल गर्नका लागि भ्याक्सिनेसन हो भन्नु भाछ ।”

प्रथमत: बिल गेट्सले उक्त भनाइ सन् २०१५ को टेड टकमा नभई सन् २०१० को टेड टकमा व्यक्त गरेकाे पाइएको छ । बिल गेट्सले दत्तले दाबी गरेजस्ताे १० देखि १५ % जनसंख्या नियन्त्रणका लागि खोप लगाउनुपर्छ भनेका थिएनन् । टेड टकको वेबसाइटमा राखिएको उक्त भिडियोमा उनले भनेका छन्, “विश्वको जनसंख्या अहिले छ अर्ब ८० करोड छ । यो ९ अर्ब पुग्ने दिशातिर अघि बढ्दैछ । यदि हामीले नयाँ खोपहको विकास, स्वास्थ्य सेवा, प्रजनन स्वास्थ्य सेवा जस्ता क्षेत्रमा वास्तवमै ठूलो फड्को मार्न सक्यौं भने त्यसलाई १० देखि १५ प्रतिशतले घटाउन सक्छौं।” यसरी विश्वको जनसंख्या बढ्ने प्रतिशत एकदम धेरै भएकोले जनसंख्या वृद्धिदर १० देखि १५% ले कम गर्नुपर्छ भन्ने खालको गेट्सको भनाइलाई तोडमरोड गरी खाेपसँग जाेडेर प्रस्तुत गरिएको छ ।

केही समय अघिदेखि नै गेट्सलाई यससँग जोडेर उनले जनसंख्या नियन्त्रण गर्न सुझाएको भन्दै सामाजिक सञ्जालमा भ्रमपूर्ण दाबी गरिएको छ । यसबारे स्नोप्स्ले गरेको तथ्य जाँच पनि पढ्न सकिन्छ ।

गेट्सको भनाइलाई गलत अर्थ लगाई गरिएको दत्तको यो दाबी पनि गलत छ ।

चौथो दाबी:

स्रोत: फ्रीपिक

“इम्युन पावर मजबुत हुनका लागि तपाईले खुला आकाशमा सास लिनुपर्छ । मास्क लगाउँदा खेरी फ्यालेको सास तपाईको त्यही रिब्रिदिङ (फेरि सास लिनु) गरेको हो । ८४०० पिपिएम कार्बनडाइअक्साइड भित्र जान्छ, त्यसले बडीलाई एसिडिक पार्छ । मास्क लगाएर एउटा खतरनाक काम गर्या छ ।”

रुखहरुको संसर्गमा बस्नाले रोग प्रतिरोधी कोषहरुमा वृद्धि हुने तथ्य विभिन्न अनुसन्धानले प्रष्ट पारेको बिबिसीको एक लेखले उल्लेख गरेको छ । स्वच्छ हावाले शरीरको रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग पुग्ने तथ्य हफिङ्टन पोष्टमा  प्रकाशित लेखमा पनि जनाइएकाे छ ।

मास्क लगाउनाले हामीले कार्बनडाइअक्साइड लिन्छौं र यसले स्वास्थ्यमा असर पार्छ भन्ने अहिलेसम्म स्थापित नभइसकेको कुरा डाक्टरहरुले बताएका छन् । एड्भोकेट लुथरन जनरल अस्पतालका संक्रामक रोगका निर्देशक डा. रोबर्ट सिट्रोनबर्गले यो एक मिथ्या भएको र मास्क लगाउनाले मानिसले कार्बनडाइअक्साइड लिने र यस्ले हामीलाई हानि गर्ने तथ्यको कुनै पनि वैज्ञानिक प्रमाण नभएको बताएका छन् । संक्रमण रोग विशेषज्ञ अनुप सुवेदीले पनि मास्क लगाउनाले शरीरलाई हानि हुने भन्ने कुरा अहिलेसम्म प्रमाणित नभएको बताए । “यदि मास्क लगाएर शरीरलाई हानि हुने भएदेखि सबैभन्दा हानि हामी डाक्टरहरुलाई हुनुपर्ने जो बिहानदेखि बेलुकासम्म मास्क लगाएर काम गर्छौं । मुख्य कुरा यस्ता भ्रामक कुरा फैलाउने व्यक्तिलाई सबै जनाले निरुत्साहित गरौं,” डा. सुवेदीले साउथ एसिया चेकलाई बताए ।

दत्तले ८४०० पिपिएम कार्बनडाइअक्साइड भित्र जान्छ भन्ने तथ्य राखेका छन् । विज्ञहरुको अनुसार कार्बनडाइअक्साइड भित्र जान्छ भन्ने तथ्य नै गलत रहेको हुनाले ८४०० पिपिएम जान्छ भन्नु झन् गलत सावित हुन्छ । कार्बनडाइअक्साइड पिपिएम भन्नाले हावामा रहेको १० लाख कणहरुमा मौजुद कार्बनडाइअक्साइडको कणहरु भन्ने बुझिन्छ र यहाँ ८४०० पिपिएम कार्बनडाइअक्साइड भन्नाले हावामा रहेको १० लाख कणहरुमा ८४०० पिपिएम कार्बनडाइअक्साइड रहेको हुन्छ भन्ने हो ।

थाइल्याण्डस्थित डिपार्टमेन्ट अफ डिजिज कन्ट्रोललले धेरै समय मास्क लगाउनाले मानिसको रगतमा पिएच लेभल परिवर्तन हुने प्रमाण नरहेको तथ्य अन्तर्राष्ट्रिय समाचार संस्था एएफपिले गरेको तथ्य जाँचमा उल्लेख गरिएको छ । पोलिटिफ्याक्टले मास्क बारेका गलत दाबीको जाँचमा मास्क लगाउनाले अक्सिजन लिन गाह्रो नहुने, यसले रोग प्रतिरोधी क्षमता कम नगर्नेजस्ता तथ्य उल्लेख गरेको छ ।

विशेषज्ञहरु र अन्य प्रतिवेदनका आधारमा मास्क लगाउनाले शरीरमा हानि गर्छ भन्ने कुनै वैज्ञानिक तथ्य छैन । त्यसैले दत्तको यो दाबी पनि गलत ठहर्छ ।

पाँचौं दाबी:

“स्यानिटाइजरको प्रयोग गरेको छ । स्यानिटाइजरमा के के मिलाइन्छ त? त्यसको असर के के छ ? हाम्रो हातको यो ठाउँ सेन्सिटिभ (संवेदनशील) हो । यहाँ धेरै राम्रा कीटाणुहरु हुन्छन्, हाम्रो शरीरलाई बचाउनलाई । स्यानिटाइजर यहाँ हालेपछि त्यो कीटाणु मर्छ कि बाँच्छ के गर्छ भन्ने कुरा विभिन्न वैज्ञानिक तथ्यहरु आइसक्या छ । तेल्ले झन् कमजोर पार्छ ।”

अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) का अनुसार कम्तिमा ६०% देखि ९५% अल्कोहल भएको स्यानिटाइजरको प्रयोग गरेमा त्यसले हातमा भएको कीटाणुहरु मार्छ । तर स्यानिटाइजरले सबै किसिमको कीटाणुहरु नमार्ने र सँग सँगै शरीरलाई फाइदा पुर्‍याउने कीटाणुहरु पनि मर्नसक्ने तथ्य पपुलर साइन्सको एक लेखमा उल्लेख गरिएको छ । तर उक्त लेखका अनुसार स्यानिटाइजरको प्रयोगले कोभिड-१९ बाट बचाउने कुरा अरु फाइदाजनक किटाणु मर्नेभन्दा ठूलो हुन्छ।

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले पनि स्यानिटाइजरले मानिसका हातमा हुने केही राम्रा कीटाणु मारे पनि यसबाट अहिलेको महामारी विरुद्ध लड्न बल पुग्ने र धेरैको ज्यान जोगिने हुनाले यसको प्रयोग गर्नुपर्ने कुरामा जोड दिए । “एन्टिबायोटिकले पनि शरीरलाई केही मात्रामा हानि गर्छ तर यसले रोग निको पार्ने कुरा महत्वपूर्ण हुनाले हामी एन्टिबायोटिक दिन्छौं। यस्तै हो स्यानिटाइजर पनि । यस्ले केही राम्रा कीटाणु मारे पनि ठूलो क्षति नगर्ने र धेरैको ज्यान बच्ने सम्भावना बढ्छ,” उनले साउथ एसिया चेकलाई बताए ।

दत्तले भनेझैं स्यानिटाइजरले केही उपयोगी कीटाणु मारे पनि यस्ले समग्रमा ज्यादा फाइदा हुने र ज्यान जोगाउने तथ्यले यस्को प्रयोग गर्दा उपयोगी हुने देखिन्छ ।   

छैठौं दाबी:

“चिनी तपाईंको कोकेन भन्दा सेभेन टाइम्स हार्मफुल हो ।”

चिनीले हाम्रो शरीरका लागि कत्तिको फाइदाजनक छ वा छैन भन्ने विषयमा धेरै अनुसन्धान भएका छन् । तर यस विषयमा अनुसन्धानकर्ताहरु नै एकमत छैनन् ।

अमेरिकाको अमेरिकन हार्ट एसोसिएसनले पुरुषका लागि दैनिक ९ चम्चा र महिलाका लागि ६ चम्चा (फलफुल र अन्य खानेकुराबाट आउने प्राकृतिक गुलियो बाहेक) सेवन गर्न सिफारिस गरेको छ । केही अध्ययनले अधिक चिनी सेवनले मोटोपन बढ्न गई मधुमेह र मुटुरोग आदि हुने जनाएता पनि शरीरलाई यसले उर्जा दिने भएकाले यसको सीमित मात्रामा सेवन जरुरी हुने जनाएका छन् ।

ब्रिटिश जर्नल अफ स्पोर्ट्स मेडिसिनमा प्रकाशित एक लेखमा जनावरमा गरिएको अनुसन्धानको आधारमा परिष्कृत चिनीले दिमागमा लागुपदार्थ (कोकेन) ले जस्तै प्रभाव पार्ने दाबी गरिएको छ । तर अन्य केही अनुसन्धानले यसले असर नगर्ने जनाएका छन् । एक अध्ययनमा लगातार चिनी खुवाउँदा मुसामा यसको असर देखिएको र आफ्नो हिसाबमा खाँदा भने असर नदेखाउने कुरा उल्लेख गरेको छ ।

द गार्जियनमा प्रकाशित लेखमा पनि यस विषयमा ठोकुवाका साथ भन्न नसकिने जनाइएको छ । धेरै अनुसन्धानकर्ता र चिकित्सकहरुले चिनीले लागुऔषधले जस्तै गरी दिमागसँग अन्तरक्रिया गर्ने कुरा उल्लेख गरेका छन् भने केहीले यसले दाँत बिगार्छ भनेका छन् । अन्यले लगातार धेरै सेवन गर्दा मात्र यसले लागुऔषध जस्तै हानि गर्ने जनाएका छन् ।

यसरी विभिन्न अनुसन्धानका आधारमा हेर्दा चिनीले यही नै असर गर्छ भनेर ठोस निष्कर्ष ननिस्किएकाले र यसले केही हदसम्म मुसाहरुमा कोकेन जस्तै असर गरेको तथ्यका आधारमा यो कोकेन भन्दा ७ गुणा खराब हो भनी ठोकुवा गर्नु गलत हो ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री