नेपालमा कर्फ्यु लगाइएको भन्दै पठाइएको एसएमएस गलत

Sanjog Shiwakoti / सोमबार, कार्तिक ३, २०७७

ह्वाट्सएप र मोबाइल एसएमएसमार्फत कात्तिक ३ गते बिहान नेपालमा कर्फ्युको घोषणा गरिएको भन्दै अङ्ग्रेजी भाषाको सूचना व्यापक रुपमा पठाइएको छ । ‘नेपाल गभर्न्मेन्ट सेक्युरिटी पोर्टल नोटिस’ भन्दै पठाइएको उक्त सूचनाले धेरैमा भ्रम पर्न गएको देखिन्छ । टेलिकम मेसेजिङ सेवामार्फत पठाइएको उक्त सूचनाको स्क्रिनसट सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले शेयर गरेका छन् । स्क्रिनसटमा देखिएको समय अनुसार सो सूचना कात्तिक ३ गते करिब १ बजेदेखि मोबाइल एसएमएसमा आएको देखिन्छ । उक्त सूचनामा सबैभन्दा माथि ‘पिएससी’ उल्लेख छ । कतिपयले यसलाई लोक सेवा आयोगको अङ्ग्रेजी छोटकरी नाम भनी अर्थ्याए पनि आयोगको वेबसाइटमा त्यस्तो केही उल्लेख छैन ।

ट्विटर र फेसबुकमा शेयर गरिएकाे उक्त गलत सूचनाकाे स्क्रिनसट

उक्त सूचनामा नेपाल सरकारले आकस्मिक कर्फ्यु लगाएको र कोही पनि इन्टरनेट प्रयोगकर्ता घरबाट बाहिर निस्कन नपाइने भनिएको छ । सशस्त्र प्रहरी बलले निरन्तर हवाई यातायातको अनुगमन गरिरहेको र नेपाल-भारत सीमामा उत्पन्न हुनसक्ने सम्भावित खतरा न्युनीकरण गरिएको जानकारी पनि उक्त सूचनामा दिइएको छ । साथै अस्पताल बाहेकका सम्पूर्ण सेवाहरु अर्को सूचना नआए सम्मका लागि बन्द गरिएको जानकारी पनि दिइएको छ ।

काठमाडौँ, मनमैजु निवासी रमेश थापाले विहान उठेपछि उक्त म्यासेज आफ्नो मोबाइलमा देखेको र केहीबेर आफू आत्तिएको साउथ एसिया चेकलाई बताए । “बढ्दै गएको कोभिड संक्रमणका कारण कर्फ्यु लगाइएको हो कि भन्ने सोचेँ । तर अलि समय गहिरिएर पढेपछि लाग्यो, लोक सेवाले त राष्ट्रिय सुरक्षाको सूचना नपठाउनुपर्ने । साथै त्यसमा प्रयोग भएको भाषा पनि अनौठो रहेकोले पक्कै पनि यो अफवाह हुनसक्छ भन्ने अड्कल काटेँ,” थापाले बताए ।

कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले सरकारले एकमुष्ठ पठाउने एसएमएस प्रणाली ह्याक भएको अनुमान गरेका छन् भने कतिले यसबारे अनुसन्धान गर्न आग्रह गर्दै नेपाल प्रहरी र दुरसञ्चार सेवा प्रदायकलाई ट्वीटरमा ट्याग गरेका छन् । हामीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रवक्तालाई उक्त सूचनाबारे सोध्यौँ । नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले उक्त सूचना गलत भएको बताए । “यो सूचना गलत हो । हामीले हाम्रो साइबर ब्युरोलाई अनुसन्धान गर्न लगाएका छौँ,” उनले भने । त्यसैगरी सशस्त्र प्रहरी बलका प्रवक्ता राजु अर्यालले ‘त्यस्तो केही (निर्णय) नभएको र त्यो सूचना कसरी फैलियो भनी अनुसन्धान भइरहेको’ बताए ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री