नेपाली कांग्रेसका महामन्त्री कोइरालाको दाबी गलत

South Asia Check / शुक्रबार, फाल्गुण १४, २०७७

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाकाे अन्तरवार्ताकाे स्क्रिनसट

दीपक अधिकारी/साउथ एसिया चेक

एपीवान टिभीमा गत फागुन १२ गते प्रसारित द ब्राभो डेल्टा शोका प्रस्तोता भुषण दाहालसँगको अन्तरवार्तामा नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपालको विकासका लागि सम्भावना भएका विभिन्न क्षेत्रको चर्चा गरेका थिए । नेपालमा पर्यटन, जलविद्युत र कृषिमा लगानी गरी आर्थिक वृद्धि हासिल गर्नसकिने उनको जिकीर थियो ।

आफ्नो अन्तरवार्ताका क्रममा उनले भनेका थिए :

“हाम्रो क्षमता भनेको टुरिजम हो । हाइड्रो हो । टुरिजममा त कोभिडले गरेर समाप्त नै भएको छ । तर इन्टरनल टुरिजम बढेर आएको छ, त्यसले पनि केही धानिराको छ । हाइड्रोमा काम भइरहेको छ । तेस्रो सम्भावना भनेको हाम्रो कृषि नै हो । १७ लाख हेक्टर खेतीयोग्य जमिन छ ।”

साउथ एसिया चेकले कोइरालाको दाबीको तथ्य जाँच गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाे प्रतिवेदन

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रकाशित गरेको ‘स्टाटिस्टिकल इन्फर्मेसन अन नेपलिज एग्रिकल्चर २०७५/७६’ प्रतिवेदनका अनुसार नेपालको खेतीयोग्य जमिन ३० लाख ९१ हजार हेक्टर रहेको छ । साेही प्रतिवेदनमा खेतीयाेग्य तर हाल बाँझाे जमिन १० लाख ३० हजार हेक्टर रहेकाे उल्लेख छ ।*

तसर्थ नेपालको कुल खेतीयोग्य जमिन १७ लाख हेक्टर रहेको भन्ने कोइरालाको दाबी गलत छ ।

*प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजनाकाे खेतीयाेग्य जमिनबारेकाे तथ्यांक अपुराे रहेकाेले हटाइएकाे छ ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री