फाइभ जीबाट कोरोनाभाइरस सर्ने दाबी गलत

South Asia Check / मंगलबार, जेठ ४, २०७८

दीपक अधिकारी/साउथ एसिया चेक

नेपालमा फाइभ जीको शुरुवात नभएकाले कोभिड-१९ कम फैलिएको तर  भारतमा फाइभ जीको रेडिएसन (विकिरण) ले गर्दा फैलिएको अनि भारतमा फाइभ जी शुरु गरेको ठाउँमा मृत्युदर बढेको दाबी गर्दै  तस्बिर सहितको सामग्री फेसबुकमा फैलाइएको छ । पोखरास्थित फोटोग्राफर तथा डिजे ओम लामाले फेसबुकमा गत बैशाख २६ गते उक्त सामग्री शेयर गरेका थिए । उनको पोस्ट ४ हजार ५ सययभन्दा बढी शेयर गरिएको छ । 

उक्त पोस्टमा भनिएको छ:

नेपालमा अहिले फाइभ जी शुरु नभएको हुँदा कोभिडको केस कम छ । र, जे जति छ, त्यो सब इण्डियामा फाइभ जीको रेडिएसनले गर्दा हो । इण्डियामा जहाँ जहाँ फाइभ जी शुरु गरिएको छ, त्यहाँ मृत्युदर बढिरहेको छ । जस्तै बम्बई, मध्य प्रदेश, उत्तर प्रदेश, दिल्ली र कर्नाटकमा फाइभ जी टेस्टिङ फेज चलिरहेको छ । र, त्यसको वरिपरी विभिन्न प्रकारका लक्षणहरु देखा पर्न थालेका छन् जस्तै आँखा पोल्नु, आँखा रातो हुनु, घाँटी सुख्खा हुनु, तिर्खा धेरै लाग्नु, सास फेर्न अप्ठ्यारो हुनु आदि इत्यादि ।

सोही सामग्री फेसबुकमा यहाँ, यहाँयहाँ पनि शेयर गरिएको छ । त्यसमा समावेश गरिएका तस्बिरहरुमध्ये सन् २०२० को जनवरीमा लण्डनमा भएका फाइभ जी विरोधी प्रदर्शन र नेदरल्याण्डको राजधानी आम्सटर्डमका प्रदर्शनका छन् । 

यसअघि  यस्तै दाबी बेलायत लगायतका युरोपेली मुलुक हुँदै भारतमा पनि फैलिएको थियो । त्यसबारे भारतको अल्ट न्युजफ्याक्टलीले तथ्य जाँच गरेका छन् ।

फाइभ जीले कोरोना भाइरस फैलाउँछ भन्ने गलत दाबीको साउथ एसिया चेकले तथ्य जाँच गरेको छ ।

के हो फाइभ जी ?

फाइभ जी मोबाइल प्रयोगका लागि अहिलेसम्मकै सबैभन्दा उन्नत प्रविधि हो । यो पाँचौ पुस्ता (फिफ्थ जेनेरेसन) को प्रविधिले इन्टरनेटमार्फत हुने गतिविधिमा आमुल परिवर्तन ल्याउने विज्ञहरु बताउँछन् । नेपालमा हाल फोर जी सेवा उपलब्ध छ भने फाइभ जीको पनि परीक्षण गर्ने तयारी गरिएको नेपाल टेलिकमका बरिष्ठ इन्जिनियर मधुसुदन दाहालले साउथ एसिया चेकलाई बताए । नेपालमा हाल फाेर जी चालु छ । दाहालका अनुसार फाइभ जी भनेकाे फाेर जीभन्दा विकसित प्रविधि हाे । उनका अनुसार फाइभ जीका लागि फाेर जीकै सफ्टवेर अपडेट गरी केही एन्टेना लगायतका हार्डवेर थपिन्छ ।

मोबाइलले विद्युत चुम्बकीय तरंग फैलाउने गरेता पनि त्यसले हानि नगर्ने विभिन्न अध्ययनहरुबाट प्रमाणित भएको उनले बताए । “सायद मोबाइलको तरंग पनि नदेखिने र कोरोना भाइरस पनि नदेखिने भएकाले मानिसहरुमा भ्रम फैलिएको होला,”  उनले भने, “मोबाइलले ५ देखि १० मिलिवाटको उर्जा प्रसार गर्छ (फाइभ जीमा याे कम वा बढी हुनसक्छ) । यो हानिकारक हुँदै होइन ।”

उनले मोबाइलको फ्रिक्वेन्सीले कसरी काम गर्छ भन्ने कुरा यसरी बुझाए, “मैले बोलेको कुरा तरंगकाे माध्यमबाट मेराे नजिकैको टावरमा पुग्छ । त्यसपछि त्याे तपाईकाे दुरसञ्चार सेवा प्रदायककाे सर्भरमा पुग्छ र त्यसले तपाईले फाेन गरेकाे व्यक्तिकाे नजिकैकाे टावरमा पठाइदिन्छ । जुन टावरले सबैभन्दा राम्रो सिग्नल दिन्छ, त्यसबाट मेरो आवाज प्रेषित हुन्छ,” उनले भने ।

फाइभ जीका लागि अहिलेका जस्ता ठुला तर टाढा ठडिएका थोरै टावरको साटो साना तर नजिकै रहने धेरै  टावर राखिनुपर्ने विज्ञहरु बताउँछन् । 

भारतमा रिलायन्स जियो, भारती एयरटेलजस्ता टेलिकम कम्पनीले फाइभ जीको परीक्षण गरे पनि आम उपभोक्तामा सेवाको शुरुवात भएको छैन । भारतमा कोभिड-१९ को दोस्रो लहरबाट ती फेसबुक पोस्टमा उल्लेखित राज्यहरु बढी प्रभावित भएको सही भएपनि ती राज्यमा फाइभ जीको परीक्षण चलिरहेको दाबी गलत हो ।

ओम लामाकाे फेसबुक पाेस्टकाे स्क्रिनसट

फाइभ जीबाट कोरोना भाइरस फैलिँदैन भन्दै विश्व स्वास्थ्य संगठनले गत वर्ष नै एक सामग्री प्रकाशित गरेको छ । उक्त सामग्रीमा भनिएको छ, “फाइभ जी वा मोबाइलको सञ्जालबाट कोरोना भाइरस सर्दैन । फाइभ जी नभएका कैय देशमा कोभिड-१९ फैलिएको छ ।”

गत वर्ष बेलायतमा फाइभ जीको शुरुवात गर्नुअघि उक्त प्रविधि बनाउने चिनिया मोबाइल कम्पनी हुवावेले मोबाइल प्रयोगकर्ताको अभिलेख राख्ने अफवाह फैलिएकोले यसलाई कोरोना भाइरस सँग जोडेर भ्रम फैलाइएको हुनसक्ने टेलिकम इन्जिनियर दाहालले बताए । “मानिसहरुमा यसबाट सरकारले नागरिकमाथि निगरानी राख्छ कि भन्ने पर्यो,” उनले भने । 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री