भाइरल पोष्टका वृद्ध व्यक्ति कोभिड लागेका इटालियन हैन, पूर्व अमेरिकी सैनिक हुन्

Sanjog Shiwakoti / बिहीबार, जेठ २०, २०७८

स्राेत : फेसबुक स्क्रिनसट

केही सातादेखि कोभिडलाई पराजित गरेका ९३ वर्षिय एक इटालियन वृद्धको भनाइ भन्दै प्रकृतिप्रतिको कृतज्ञता झल्किने र सबै कोभिड निको भएकाहरुलाई एक रुख रोप्न आग्रह गरेको एक पोष्ट विभिन्न सामाजिक सञ्जालमा भाइरल भएको छ । कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले बिना तस्बिर उक्त पोष्ट शेयर गरेका छन् भने कतिपयले एक दु:खी मुद्रामा रहेका वृद्धको तस्बिर सहित उनको भनाइ भन्दै उक्त पोष्ट शेयर गरेका छन् ।

उक्त पोष्टमा यस्तो दाबी गरिएको छ:

“इटालीका यी ९३ बर्षका बृद्धा अस्पतालमा भर्ना भएर कोभिडलाई जिते पछि यिनीसँग १ दिनको भेन्टिलेटरमा प्रयोग गरिएको अक्सिजनको रकम माग्दा यिनी रुन थाले। उनी रोएको देखेर डाक्टरहरुले उनलाई सम्झाइबुझाई गरी बिल मिनाहा गर्न कुरा सुनाएपछि उनले भने: “म यो पैसा तिर्न नसकेर रोएको होइन। म यो सबै पैसा तिर्न सक्षम छु। तर म ९३ वर्षसम्म प्रकृतिले दिएको हावामा सास फेर्दा एक रुपैयाँ पनि कतै तिरेन। आज १ दिन भेन्टिलेटरमा सास फेरेको ५०० युरो तिर्दैछु।‌ म माथि कति ठुलो ऋण रहेछ प्रकृतिको । यो म कसरी तिरुँला, यो सम्झेर रोएको छु। त्यसैले कृपया जति जना पनि कोभिडलाइ जितेर घर फर्कनु हुन्छ, सबैले प्रकृतिको यो ऋण चुकाउन घर वरिपरि १ रुख अवश्य लगाउनुहोला।”

करीब ३५ लाख बढीले पछ्याएको “ताजा खबर (Taja Khabar)” नामक फेसबुक पेजले शेयर गरेको वृद्धको तस्बिर सहितको उक्त पोष्टमा ३३०० बढी प्रतिकृया आएका छन् भने ४७१ पटक शेयर भएको छ । यसैगरी एक लाख बढीले पछ्याएको “वान लाइक फर माई कन्ट्री (1 Like for my Country)” नामक फेसबुक पेजले शेयर गरेको वृद्धको तस्बिर सहितको उक्त पोष्टमा ३४०० बढी प्रतिक्रिया आएको छ भने ३९८ पटक शेयर भएको छ ।

फेसबुक अलावा उक्त दाबी ट्वीटरका प्रयोगकर्ताहरुले शेयर गरेका छन् । अनिल राम (Anil Ram) नामक ह्यान्डलबाट तस्बिर सहित ट्वीट गरिएको उक्त दाबी ५८ पटक रिट्वीट भएको छ भने २७० भन्दा बढी प्रतिकृया आएको छ । यसैगरी एसडि नेपाल (SD Nepal) नामक ह्यान्डलबाट तस्बिर सहित ट्वीट गरिएको उक्त दाबी १३ पटक रिट्वीट भएको छ भने ४५ भन्दा बढी प्रतिक्रिया आएको छ ।

अर्को लोकप्रिय प्लेटफर्म टिकटकमा पनि फेसबुकबाट स्क्रिनसट लिइएको तस्बिर सहितको उक्त पोष्टको भिडियो बनाई शेयर गरिएको छ जसमा १६०० भन्दा बढी प्रतिक्रिया आएको छ भने ४० पटक शेयर भएको छ ।

स्राेत : फेसबुक, टिकटक र ट्वीटर स्क्रिनसट

तथ्य जाँच:

साउथ एसिया चेकले उक्त तस्बिरलाई ‘रिभर्स इमेज सर्च’ गरी तथ्य जाँच गर्दा यहाँ शेयर भइरहेको तस्बिर भन्दा केही फरक कोणबाट लिएको तस्बिर एमआरसिटिभि नामक एक अमेरिकी अनलाइन मिडियामा मार्च ९, २०१५ मा प्रकाशित रिपोर्टमा फेला परेको छ । उक्त रिपोर्ट अनुसार तस्बिरमा रहेका व्यक्ति इटालीका नभई अमेरिकाको कोलोराडोका युरोपमा दोस्रो विश्व युद्ध लडेका सैनिक बिल मुर* हुन् । सो रिपोर्ट एबिसि न्यूज सम्बद्ध अमेरिकी अनलाइन द डेन्भर च्यानलले बिल मुरसँग लिएको भिडियो अन्तरवार्तामा आधारित रहेको छ । द डेन्भर च्यानलको आधिकारिक यूट्यूब च्यानलमा बिल मुरको अन्तर्वार्ता १४ फेब्रुअरीमा २०१५ मा प्रकाशित भएको थियाे ।

उक्त भिडियो र त्यसबाट लिइएको तस्बिरको वास्तविकता यस्तो रहेछ : एक अप्रत्यासित घटनाक्रममा बिल मुरले सन् १९४४ मा आफ्नी प्रेमिकालाई लेखेको प्रेमपत्र एक अपरिचित महिलाको हातमा पुगेछ । ती महिलाले त्यो पुरानो प्रेमपत्र बिल मुरसमक्ष पुर्‍याउने जमर्को गरिछन् । मुरकी छोरीको सहायताले उनी समक्ष त्यो पत्र पुग्यो । अन्तर्वार्ताका क्रममा उनी आफुले ७० वर्ष अघि लेखेको पत्र पढ्दा निकै भावुक भएका थिए ।

सोही अन्तर्वार्ताको आधारमा उक्त समाचार एबिसि न्युज,  डेलिमेलहफिङ्टन पोष्ट जस्ता चर्चित मिडियाहरुले पनि प्रकाशित गरेका छन् ।

मुर एबिसि न्युजले मार्च १०, २०१५ मा उक्त समाचार प्रकाशित गर्दा ९० वर्ष रहेका र उनी कोलोराडोको अरोरास्थित एक हेरचाह केन्द्रमा बसिरहेको एबिसि न्युजले जनाएको छ । हाल उनी जीवित छन् कि छैनन् भन्ने चाहिँ थाहा हुन सकेन । यसरी एक अमेरिकी भूपू सैनिक आफुले आफ्नी प्रेमिकालाई ७० वर्ष अघि लेखेको प्रेमपत्र पढ्दा भावुक भएको भिडियोको स्क्रिनसट लिई इटालीको कोभिड सम्बन्धी घटना भन्दै गरिएको दाबी गलत ठहर्छ ।

*यस अघि बिल मुर्रे भएकोमा सच्याइएको ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री