चुरे नेपालको मात्र भन्ने प्रधानमन्त्रीका सल्लाहकारको दाबी गलत

Sanjog Shiwakoti / बिहीबार, जेठ २७, २०७८

स्राेत : प्राइम टाइम्स टिभिको यूट्यूबबाट लिइएको स्क्रिनसट

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले  पत्रकार ऋषि धमलाले सञ्चालन गर्ने प्राइम टाइम्स टिभिको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा २०७८ साल जेष्ठ २३ गते समसामायिक राजनीतिका बारेमा कुराकानी गरेका थिए । थापाले सो अन्तर्वार्तामा सरकारको आर्थिक वर्ष २०७८/७९ को बजेटले वैधानिकरुपमा ढुङ्गा, गिट्टी, बालुवाको उत्खनन गरेर निकासी गर्न प्रस्ताव गरे लगत्तै विवादास्पद बनेको चुरेको विषयमा टिप्पणी गरेका थिए । चुरे संरक्षणको बारेमा बोल्ने क्रममा उनले चुरे नेपालमा मात्र रहेको दाबी गरेका छन् ।

उनले भनेका थिए:

“चुरे संरक्षणसँग सम्बन्धित राष्ट्रपति चुरे कार्यक्रम छ, २० वर्षे लामो गुरूयोजना छ । त्यसका निम्ति डेढ अर्बभन्दा बढी बजेट व्यवस्था गरिएको छ । चुरे संरक्षण विकास समिति कार्यरत छ र चुरे चाहिँ तराईको लाइफलाइन हो, त्यसलाई संरक्षण गर्नुपर्छ भने, संसारमा चुरे छैन नेपालमा मात्रै छ र चुरे संरक्षणको कार्यक्रम नमुनाको रुपमा नेपालले मात्र सक्छ ।”

साउथ एसिया चेकले थापाको दाबी कति सत्य छ भनी जाँच गरेको छ ।

नेपाल सरकारले स्थापना गरेको राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिको वेबसाइटको मुख्यपृष्ठमा राखिएको परिचयमा “पश्चिममा पाकिस्तानको सिन्धु नदीदेखि पूर्वमा भारतको ब्रम्हपुत्र नदीसम्म फैलिएको चुरे श्रृंखला शिवालिकको नामबाट पनि चिनिन्छ” भनी उल्लेख गरिएको छ । यसलाई भौगर्भिक भाषामा शिवालिक (Siwalik) का साथसाथै सब-हिमालय (Sub-Himalaya) पनि भन्ने गरिन्छ । 

यसैगरी राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिलाई बुझाइएको मोतिलाल घिमिरेद्वारा लिखित अ‌‌ङ्ग्रेजी भाषाकाे ‘ल्याण्ड युज एण्ड ल्याण्ड कभर चेन्ज इन द चुरिया तराइ रिजन नेपाल’ नामक प्रतिवेदनमा पनि शिवालिक वा सब-हिमालयलाई नै स्थानीय भाषामा चुरे भनिएको उल्लेख छ । साथ-साथै यसले शिवालिक भारत, भुटान र पाकिस्तानसम्म फैलिएको तथ्य उजागर गर्दछ ।  हिमालयको उत्पत्ति हुँदा भएको भूक्षयका कारण हजारौं  वर्षमा जम्मा भएको गेग्रान नै चुरे भएको जलाधारविद मधुकर उपाध्या बताउँछन् । “यस मध्य हिमाली क्षेत्रमा जहाँ जहाँ हिमाल छन् त्यहाँ चुरे छ । गंगा नदी प्रणालीले बगाएर ल्याएका ढुङ्गा माटो मिलेर हामीकहाँ चुरे बनेको हो । तर याे हामीकहाँ मात्र छैन, पाकिस्तानदेखि भुटानसम्म फैलिएकाे छ,” उनले साउथ एसिया चेकलाई बताए ।

असेम्ब्लेज जर्नलमा प्रकाशित पर्थ आर. चाैहानको लेखबाट लिइएको स्क्रिनसट

बेलायतको शेफील्ड विश्वविद्यालयस्थित पुरातत्व विभागको असेम्ब्लेज जर्नलमा प्रकाशित लेखका अनुसार पनि शिवालिक पहाडहरु पाकिस्तान, भारत, नेपाल, र भुटानका राजनीतिक सीमाभित्र अवस्थित छन् ।

नेपाल सरकारको आधिकारिक वेबसाइट, प्रतिवेदन एवम् अन्तरराष्ट्रिय जर्नलका साथै विज्ञको भनाइका आधारमा चुरे अर्थात् शिवालिक वा सब-हिमालय नेपालका साथै पाकिस्तान, भारत र भुटानमा फैलिएको छ । त्यसैले प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको चुरे नेपालमा मात्रै छ भन्ने दाबी गलत ठहर्छ ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री